काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय गाडीमा आगामी आर्थिक वर्षदेखि कर बढाउने संकेत गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री महतले करमा व्यवसायीले पाएको सहुलियत नागरिकमा ट्रान्सफर हुनुपर्ने बताए। करका विषयमा नबोल्न व्यवसायीलाई मन्त्री महतले आग्रह समेत गरे।
‘सरकारले जनतालाई पनि सहुलियत प्रदान गरेको हो व्यवसायीलाई मात्रै सहुलियत दिन खोजेको हैन,’ सभालाई सम्बोधन गर्दै महतले भने, ‘व्यवसायी साथीहरूले त्यही खालको करमा सहुलियत पाए अनुसार ग्राहकलाई गाडी नदिने परिस्थिति सृजना भएको देखिन्छ। इभीको कर बढाउने कुरामा व्यवसायीहरू नबोल्न आग्रह गर्छु।’
महतले अटोमोबाइल्स क्षेत्र विस्तार हुँदै गएको बताए। एसेम्बल कारखाना खुल्दै गएको र पार्ट्सलगायत अन्य सामाग्री बन्न सुरु भएको पनि उनले बताए।
मन्त्री महतले अहिले राजस्वमा धेरै घाटा रहेको पनि बताए। इभीले पेट्रोलियम पदार्थको आयातलाई पनि घटाउँदै लगेको पनि मन्त्री महतले बताए। इभीको कस्ट घट्दै गएकाले सहुलियत जनतालाई ट्रान्सफर हुनुपर्नेमा मन्त्रीले जोड दिए। सहुलियत जनतामा ट्रान्सफर भएको छ भन्ने प्रश्न समेत महतले व्यवसायीलाई गरे।
विद्युतीय गाडीमा चार्जिङको पूर्वाधार विस्तारमा सरकारले जोड दिने उनले बताए। नाडा आफैंले पूर्वाधारमा लगानी किन गर्न नसकेको भन्ने प्रश्न पनि मन्त्री महतले गरे।
एसेम्बल उद्योगले भ्यालु एड गर्ने काम कम भएको उनले बताए। सामान ल्याएर जोड्नका लागि मात्र एसेम्बल उद्योग आवश्यक नभएको मन्त्री महतको भनाइ छ। आफू असहज परिस्थितिमा मन्त्री भएको बताउँदै उनले निजी क्षेत्रको साथ चाहेको बताए।
