काठमाडौं,२१ पुस/ उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग चिनियाँ कम्युनिष्ट पार्टीको युनान प्रान्तको पार्टी स्थायी कमिटीका उपसचिव शि युगाङले भेटवार्ता गरेका छन् । शनिबार हरितगृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपसचिव युगाङसहित चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति यादवसँग भेटवार्ता गरेका हुन् । भेटमा उपराष्ट्रपति यादव र उपसचिव युगाङबिच दुई मुलुकबिचको द्विपक्षीय सम्बन्ध, भ्रमण, सहयोग, व्यापार तथा पर्यटन लगायतका विविध आयामका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले नेपाल र चीनबिच सदियौँदेखि रही आएको सौहार्दपूर्ण एवम् अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरूमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र अरू उच्च बनेकोमा खुसी व्यक्त गरे । उपराष्ट्रपति यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत वर्षको सेप्टेम्बरमा सम्पन्न चीन भ्रमणले हाम्रो सम्बन्धलाई थप उचाइमा पुर्याउने तथा सहकार्यका क्षेत्रमा थप विस्तार हुनेमा आफू विश्वस्त रहेको बताए ।
उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रहँदै झण्डै सात दशकयता नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद समेत व्यक्त गरे ।
‘‘नेपाल सन् २०२६ सम्म अल्पविकसित देश (एलडीसी) को श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र हाल हामीले कोभिड पश्चात् आर्थिक पुनर्स्थापनामा जोड दिएको सन्दर्भमा चीनले नेपालको आर्थिक विकास र उन्नतिका लागि थप सहयोग विस्तार गर्नेछ भन्नेमा म विश्वस्त छु’’ उनले भने, ‘‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको छ । यसलाई बढोत्तरी गर्न थुप्रै सम्भावनाहरू छन् भन्ने लाग्दछ ।’’
यसैगरी, उपसचिव युगाङले सन् २०२४ मा चिनियाँ उच्च प्रतिनिधिमण्डलले नेपालबाटै आफ्नो भ्रमण सुरु गरेको जनाउनुहुँदै नेपाललाई विशेष महत्त्व दिएरै यो सम्भव भएको बताए ।
