दाङ, २२ फागुन । केही समयअघि स्थापना भएको घोराही बनाऔं अभियानले कसैले ध्यान नदिएका गम्भीर विषयमा ध्यान केन्द्रित गर्न थालेको छ । हेर्दा सामान्य लाग्ने तर दीर्घकालीन असर पर्ने खालका विषयमा अभियानले सम्बन्धित निकायहरुलाई दवाव दिन थालेको छ ।
यही क्रममा अभियानले आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयका सेवाहरु घोराहीबाट पनि सञ्चालन गर्नुपर्ने माग अगाडि सारेको छ । उक्त मागलाई लिएर प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउन थालिएको अभियानका संयोजक सविन प्रियासनले तेस्रो आँखालाई बताए । संयोजक प्रियासनका अनुसार भोलि सोमवार बिहान १० बजे ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।
संयोजक प्रियासनले सम्पूर्ण अभियानका पदाधिकारी, सदस्य तथा सल्लाहकारहरूलाई भोलि पुस २३ गते सोमवार बिहान साढे ९ बजे मेवाड कफीहाउसमा उपस्थित हुन आग्रह गरेका छन् । अहिलेसम्म कसैले ध्यान नदिएको विषयमा अभियानले आवाज उठाएको सर्वसाधारणको बुझाई रहेको छ ।
