• ट्रेण्डिङ्ग :
कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित

कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित


  • 6.2K
    SHARES
    • पौष २५, २०८० बुधबार
    • २ बर्षs अघि
    • 9.5K Views

    कर घटाउने एजेन्डा नराखेपछि पोखराको कार्यपालिका बैठक स्थगित

    पोखरा । पोखराका व्यवसायी अशोक पालिखेले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमा पोखरा महानगरले लिने मालपोत करको दरबारे आलोचना गरेर एउटा पोस्ट लेखे । उनको पोस्टमा महानगरबाट मालपोत तथा भूमिका अत्यधिक बढेको गुनासो थियो । 

    images

    उनी लेख्छन्, ‘महानगरपालिकाको सम्पत्ति, मालपोत र भूमिका सर्वसाधारणले तिरी नसक्ने अवस्थामा पुगेको छ । मेयरसाव अलिअलि बढेको भन्नुहुन्छ तर पोहोर भन्दा दोब्बर कर बढेको छ ।’ उनले आफूले तिरेको दुई वर्षको करको रसिद समेत पोस्ट गरेका छन् ।

    उनले पोखरा ४ गैरापाटनमा रहेको १ हजार १ सय ५७ बर्गमिटर जग्गाको मालपोत कर अघिल्लो वर्ष ९ हजार ५ सय ७२ रुपैयाँ तिरेका थिए । अहिले सोही जग्गाको मालपोत कर बढेर १८ हजार ६ सय ५० पुग्यो । अर्थात् दोब्बर । पालिखेले थप उदाहरण पनि दिएर कर बढेको फेहरिस्त प्रमाणित गरेका छन् । उनले जननिर्वाचित प्रतिनिधिहरूले कर बढेकोबारे कुनै प्रतिक्रिया नदेखाएका आरोप पनि सोही पोस्टमा लगाए । ‘नेपाली कांग्रेस र नेकपा एमालेका कार्यपालिका सदस्यहरू के हेरी राखेका छन्? यसरी कर दोब्बर लिँदा पनि नबोल्ने सदस्यहरू को नियत के हो ?,’ उनले प्रश्न गरे, ‘ अनि जनता को हित गर्ने भनेर कुर्लिराख्ने राजनीतिक पार्टीहरू के हेरेर बसेका छन् ? की पार्टी लाई महानगरबाट अनुदान लिएर बसेका छन् ?’

    उनी सहित नागरिकहरूले दलको ध्यानाकर्षण गराएपछि कांग्रेसले आफ्ना वडाध्यक्षहरूलाई कर घटाउने दबाब सिर्जना गर्न आदेश दियो । कार्यपालिकामा कांग्रेसका वडाध्यक्षहरूको बहुमत छ । २२ जना वडाध्यक्ष रहेको कांग्रेसले मंगलबार बस्ने भनेको कार्यपालिका बैठकमा कर घटाउने एजेन्डा राख्न सुझायो । तर महानगरले उक्त एजेन्डा बैठकमा राखेन । एजेन्डा नै समावेश नभएपछि कांग्रेसका वडाध्यक्षहरूले बैठकमा सहभागी नहुने जानकारी मेयर धनराज आचार्यलाई गराए र महानगरबाट निस्किए । बैठक सुरु नहुँदै स्थगित भयो । 

    ‘हामीलाई जनताको ठुलो प्रेसर छ । कर बढेको कुरा साँचो हो । घटाउनका लागि धेरै पटक महानगरको ध्यानाकर्षण पनि गरायौँ,’ कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले भने, ‘मंगलबारको बैठकको एजेन्डा बनाउने सहमति भएको थियो । तर एजेन्डामा परेन ।’ उनले कर घटाउने एजेन्डा नआएसम्म बैठक नबस्ने बताए । ‘कर अत्यधिक बढेको छ । यो घट्नुपर्छ,’ उनले अघि भने ।

    २९ गते महानगरको हिउँदे सभा बोलाइएको छ । त्यसअघि सभामा प्रस्तुत हुने कार्यसूची पास गर्न कार्यपालिका बैठक डाकिएको हो । मंगलबार सहमति नभएपछि २८ गते बैठक बस्नेगरी स्थगित गरिएको महानगरका प्रवक्ता मोती तिमिल्सीनाले बताए । बैठक स्थगित गरेर कांग्रेसका वडाध्यक्षहरु कास्कीकोट पुगेका थिए ।


    तेस्रो आँखा