• ट्रेण्डिङ्ग :
सरकार ढाल्न खाँणको सक्रियतापछि ओली-आरजुको बालकोट वार्ता

सरकार ढाल्न खाँणको सक्रियतापछि ओली-आरजुको बालकोट वार्ता


  • 3.0K
    SHARES
    • माघ १०, २०८० बुधबार
    • २ बर्षs अघि
    • 4.5K Views

    सरकार ढाल्न खाँणको सक्रियतापछि ओली-आरजुको बालकोट वार्ता

    काठमाण्डौं । नेपाली कांग्रेसको शक्तिसंघर्षका कारण पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको भविष्यबारे संशय उत्पन्न हुन थालेको छ । सुरुदेखि नै प्रचण्ड सरकारको खिलाफमा रहेको कांग्रेसको संस्थापनइतर समूहमा पार्टीसभापति शेरबहादुर देउवानिकट मानिने बालकृष्ण खाँण पनि मिसिएपछि त्यसले देउवालाई नै अफ्ठेरो पारेको छ । यस्तो अवस्थामा देउवाले प्रचण्डलाई समर्थन गरिरहने अवस्था नआउने एक कांग्रेस नेता बताउँछन् ।

    images

    खासगरी, भुटानी शरणार्थी प्रकरणमा केही समय जेल बसेर निस्किएपछि खाँण सरकार र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति सकारात्मक छैनन् । खाँणले सके सरकारै ढाल्ने र नसके पनि गृहमन्त्री फेर्ने लबिङ देउवासँग गरिरहेका छन् । तर, देउवाबाट ग्रिन सिग्नल नपाएपछि खाँण अहिले संस्थापनइतर समूहमा पुगेका छन् । जेलबाट छुटेपछि खाँणले आफूपक्षीय नेताहरूका साथै डा. शेखर कोइराला समूहका नेताहरूसँगको भेटलाई बाक्लो बनाएका छन् ।

    कोइराला तथा गगन थापालगायत नेताहरूले बारम्बार देउवाको कार्यशैलीमाथि प्रश्न उठाउँदै आएका छन् । यो सरकारसँग सुरुदेखि नै नकारात्मक रहेका उनीहरू पार्टीको संसदीय दलको नेता फेर्ने प्रयासमा पनि छन् । र, त्यो कुरा थापालगायतले खुला रूपमा बताउँदै आएका पनि छन् । यो समूहमा आफूपक्षीय र पार्टीमा ठूलै प्रभाव राख्ने खाँण पनि मिसिएपछि देउवा चेपुवामा परेका छन् ।

    कोइराला, चन्द्र भण्डारीलगायत नेताहरूबीच गौशालास्थित एक होटलमा भएको गोप्य बैठकमा खाँण पनि पुगेका थिए । उक्त बैठकमा कांग्रेस संसदीय दलको नेता फेर्ने, त्यो नसके सरकार ढाल्ने र त्यो पनि नसके गृहमन्त्री फेर्ने योजना बनाएको कांग्रेस स्रोत बताउँछ ।

    यो बैठकपछि देउवा सशंकित बनेको कांग्रेसका एक नेताले बताए । ‘सभापति पछिल्लो समयमा इतर समूहमा खाँण पनि मिलेपछि असुरक्षित महसुस गरिरहनुभएको छ । सोही कारण यो गठबन्धन भत्काउन मन नहुँदानहुँदै पनि विकल्पका बारेमा छलफल सुरु भएको हुन सक्छ,’ उनले भने ।

    त्यसो त कोशी प्रदेशमा पार्टी लाइनविपरीत कोइराला समूहले एमालेसँग सहकार्य गरी केदार कार्कीलाई मुख्यमन्त्री बनाएको थियो । यो राजनीतिक घटनाक्रमको धेरै समय नबित्दै कोइराला समूह एमालेसँग नजिकिन थालेपछि देउवा संशकित बन्नु अस्वाभाविक नरहेको कांग्रेस स्रोत बताउँछ ।

    यही परिस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका लागि देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा ८ माघमा बालकोट पुगेकी थिइन् । ओली र आरजुको यो भेटमा प्रचण्ड नेतृत्वको सरकारको विकल्पका बारेमा कुरा भएको स्रोत बताउँछ ।

    एमाले स्रोतका अनुसार राष्ट्रियसभा चुनावपछि केही राजनीतिक दृश्य फेरिन सक्छ । ती नेताका अनुसार एमाले कांग्रेसको संस्थापनइतर समूहसँग मिल्न खोजेको भए पूरै कांग्रेस एमालेसँग मिलेर जान तयार रहेको सन्देश आरजुले दिएकी थिइन् । ‘भेटघाट भएको हो, कुरा के भयो डिटेलमा थाहा भएन । तर, पछिल्लो समय एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच भेटघाट छलफल भइरहेको छ । राष्ट्रियसभाको निर्वाचनपछि राजनीतिमा उलटफेर हुन सक्छ । यो गठबन्धन धेरै नटिक्न सक्छ,’ ती नेताले भने ।

    ओली भने एमालेसँगको गठबन्धन तोडेर प्रचण्डले कांग्रेससँग गठबन्धन बनाएपछि नै सरकार ढाल्न प्रयत्नरत छन् । त्यसका लागि उनले गठबन्धन भत्काउनेसम्मको चेतावनी ४ माघमा दिए । ‘मिसन २०८४ कुर्न नसक्ने अवस्था आउँदै छ । बर्बादी नरोकिए गठबन्धन भत्काएर भए पनि सरकार चलाउनुपर्छ । देश अहिले अलि अप्ठ्यारो स्थितिमा छ,' ओलीले ४ माघमा भनेका थिए, 'सबै क्षेत्रबाट हामीले देशलाई यस अप्ठ्यारो स्थितिबाट जोगाउनुपर्नेछ । उस्तै पर्‍यो भने हामीले यो गठबन्धन भत्काएर भए पनि सरकार चलाउँछौँ ।’

    कांग्रेसमा संस्थापनइतर समूहमा खाँणसमेत मिसिए देउवाले ओलीसँग हात मिलाउने अवस्था बन्ने कांग्रेसका एक नेता बताउँछन् । त्यस्तो अवस्थामा प्रचण्डको सरकार ढल्ने अवस्था आउँछ । त्यसैको चाँजो मिलाउनका लागि आरजु बालकोट पुगेको ती नेताको भनाइ छ ।

    तेस्रोपटक प्रधानमन्त्री भएका पुष्पकमल दाहाल 'प्रचण्ड' ले सरकारको कमान सम्हालेको एक वर्ष पूरा भइसकेको छ । यसअघि दुईपटक प्रधानमन्त्री भएका प्रचण्डले दुवैपटक ९/९ महिना सरकारको नेतृत्व गरेका थियो । त्यसरी हेर्दा यो प्रचण्डको अहिलेसम्मको लामो कार्यकाल हो ।

    पाँचै वर्ष गठबन्धन टिकाउने बताएका प्रचण्ड नेतृत्वको सरकारको भविष्यका बारेमा भने प्रश्न उठाइन थालेको छ । खासगरी, महत्त्वपूर्ण सत्ता सहयात्री नेपाली कांग्रेसको शक्ति संघर्षले प्रचण्डलाई पनि समय-समयमा अप्ठ्यारो पार्दै आइरहेको छ । कोशी प्रदेशको घटनापछि कोइराला, देउवा र प्रचण्डले गठबन्धनप्रति आफूहरू इमान्दार रहेको लिखित सहमति गरेको सार्वजनिक भएको थियो । त्यसले पनि गठबन्धनभित्रको अविश्वास कुन हदसम्मको छ भन्ने देखाउँछ ।


    तेस्रो आँखा