सूर्य घर्तीमगर
मलेसिया, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)सम्वद्ध विदेशस्थित संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बैठक फेब्रुअरी ९, १० र ११ तारिखमा मलेसियामा हुने तय भएको छ । प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको व्यवस्थापन रहनेगरी उक्त बैठकमा मञ्चका अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको भौतिक उपस्थिति हुनेछ ।
बैठकको प्रमुख अतिथिमा नेकपा एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराई आउने भएका छन् । बैठकमा विश्वभरिका प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीको ४२ देशका प्रतिनिधिहरु उपस्थिति हुने प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी गराए । कुमालका अनुसार अन्तर्राष्ट्रिय कमिटीको बैठक साथसाथै अन्य कार्यक्रमलाई पनि समावेश गरिने हुँदा ३ दिने कार्यक्रमको व्यवस्थापन गरिएको छ ।
अध्यक्ष कुमालका अनुसार फेब्रुअरी ९ र १० मा अन्तर्राष्ट्रिय कमिटीको बैठक लगायतका कार्यक्रम हुने र फेब्रुअरी ११ मा प्रवासी नेपाली मञ्चको प्रशिक्षण एवं जनवादी कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुनेछ । उक्त प्रशिक्षण कार्यक्रममा मलेसियाबाट संगठित सदस्यता लिएका ५०० भन्दा बढी कार्यकर्ताले प्रशिक्षण लिने अध्यक्ष कुमालले जानकारी गराए ।
जनवरी २८ तारिख आइतबार बसेको पूर्व तयारी विशेष बैठकले प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका सचिव कृष्ण खड्काको संयोजकत्व र राज्य कमिटीको अध्यक्ष र सचिव संयोजक सदस्य रहनेगरी कार्यक्रम व्यवस्थापन समिति गठन गरेको छ । कार्यक्रम प्रचार प्रसारमा सविन लोप्चनलाई जिम्मेवारी दिएको पनि अध्यक्ष कुमालले जानकारी गराए ।
त्यस्तै प्रवासी नेपाली मञ्च मलेसियाले दुःख पाएका, पीडित भएका, जेलमा रहेका मजदूरहरुलाई वार्षिक १०० वटा टिकट उपलब्ध गराउँदै आएको र घोषणा गरेदेखि अहिलेसम्म ३० भन्दा बढी टिकट दूतावासको रोहवरमा उपलब्ध गराइसकेको अध्यक्ष कुमालले बताए । फेब्रुअरी ९, १० र ११ मा हुने भेलाको अवसर पारी प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले मजदूर केन्द्रित अक्षयकोषको घोषणा गर्ने तयारी पनि रहेको मञ्च मलेसियाका सचिव कृष्ण खड्काले जानकारी गराए ।
