काठमाडौं । सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार (आज) बिहान ५ः४५ बजे काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।
तीन दिनयता काठमाडौंको तापक्रम लगातार घटे पनि यस वर्ष अब यो भन्दा धेरै तल जाने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् ।
“बादल नलागेर मौसम क्लियर भएकाले तीन दिनदेखि तापक्रम घटेको हो तर अब यो वर्षकै सबैभन्दा कम चिसो हुने अवस्था छैन,” अर्यालले भने ।
यो वर्ष न्यूनतम तापक्रम २.१ सम्म झरेको थियो । माघ १४ गते काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।
