• ट्रेण्डिङ्ग :
ऋणीले पैसा फिर्ता नगरेपछि ‘सहकारी पुराण’ गरिँदै, ऋण नतिर्नु पाप हो भन्ने सन्देश दिइने

ऋणीले पैसा फिर्ता नगरेपछि ‘सहकारी पुराण’ गरिँदै, ऋण नतिर्नु पाप हो भन्ने सन्देश दिइने


  • 5.0K
    SHARES
    • माघ २६, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 7.6K Views

    ऋणीले पैसा फिर्ता नगरेपछि ‘सहकारी पुराण’ गरिँदै, ऋण नतिर्नु पाप हो भन्ने सन्देश दिइने

    बागलुङ । ऋणीहरूले समयमा साँवा तथा ब्याज भुक्तानी गर्न आनाकानी गरेपछि बागलुङको एक सहकारीले धार्मिक बाटो रोज्ने भएको छ । सीवाईसी बचत तथा ऋण सहकारी संस्थाले ऋणीहरूको सचेतनाका लागि ‘सहकारी पुराण’को योजना सार्वजनिक गरेको हो । 

    images

    “पुराणमा कसैको ऋण खानु, नतिर्नु पाप हो भनेर उल्लेख भएको चर्चा हुन्छ, त्यसैले अब हामीले सहकारी पुराणमार्फत सहकारी शिक्षा प्रदान गर्ने योजना बनाएका छौँ,” सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माले भने, “नाम चलेका पण्डित बोलाएर भव्य सहकारी पुराण गर्ने योजना छ ।”

    सहकारीले पत्रकार सम्मेलन गरेर विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

    सहकारी पुराण कुनै धार्मिक कार्यक्रमभन्दा पनि सहकारी शिक्षाको कार्यक्रम हुने शर्माले दाबी गरे ।

    “पुराणमा सहभागिताका लागि ऋण नतिर्नेलाई बोलाइने छ, अन्य सेयर सदस्यलाई पनि सहभागी गराइने छ, सहकारी पुराणले ऋण नतिर्नेलाई ज्ञान दिने छ,” शर्मा भन्छन्, “नियमावलीमा तोकिएका प्रक्रियामा जानुपूर्व हामीले सचेतनामार्फत नै ऋण भुक्तानीको बाटो खोजेका हौँ ।”

    सहकारी संस्थाबाट लिएको ऋण तिर्नु पर्दैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको भन्दै शर्माले कुनै एक सेयर सदस्यले लिएको ऋण अरू सयौँ सेयर सदस्यको बचत भएकाले नतिरेर सुख नपाइने बताए । सहकारीले ऋण असुलीको नयाँ विधिसँगै बचतको नयाँ कार्यक्रम पनि सार्वजनिक गरेको छ । 

    सेयर सदस्यमा बचत गर्ने बानी विकास गर्नका लागि यस वर्ष संकल्प क्रमिक बचत कार्यक्रम सञ्चालन गरिने अध्यक्ष शर्माले बताए । न्यूनतम १० लाख रुपैयाँ पुग्ने गरी पाँचदेखि २० वर्षसम्मको संकल्प बचत गर्न चाहनेलाई यो योजनामा सहभागी गराइने उनले बताए । न्यून आय भएका सेयर सदस्यले मासिक बचत गर्ने संकल्प गराएर यो बचत सुरु गर्दा उनीहरू धनी बन्ने बाटो खुल्ने शर्माले दाबी गरे ।


    तेस्रो आँखा