काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाले प्रकाशित गरेको ‘अग्र अनुहार ः कथा अग्रजको, गाथा महासंघको’ पुस्तक विवादित बनेको छ । उक्त पुस्तकको विमोचन कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले इतिहास लत्याइएको भन्दै विमोचनका लागि तयार पारेको पुस्तकसमेत खोसेको छ ।
पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा महासंघको संस्थापक सत्यनारायणबहादुर श्रेष्ठ हुनुपर्नेमा त्यसलाई लत्याइएको भन्दै फोनिज अध्यक्ष गजुरधन राई, महासचिव मिलन लिम्बुसहितका आदिवासी जनजाति पत्रकारहरुले विरोध जनाएका हुन् । विरोधका कारण उक्त पुस्तक सौहार्दपूर्ण वातावरणमा लोकार्पण हुन सकेन ।

फोनिजका महासचिव मिलन लिम्बुले गलत इतिहास लेखिएकाले विमोचन गर्न लागिएको पत्रकार महासंघको उक्त पुस्तक कार्यक्रमस्थलबाट खोसिएको बताए । उनले पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको बताउँदै यदि उनलाई वर्तमान नेतृत्वले नस्वीकार्ने हो भने देशभर आन्दोलनको चेतावनीसमेत दिए ।

इतिहास लत्याउँदै पुस्तक निकालिएको भन्दै फोनिज महासचिव लिम्बुले इतिहास सच्याउँदै जानुपर्नेमा जोड दिए । सत्यनारायणबहादुर श्रेष्ठको विषय पत्रकार महासंघले टुंगो लगाउनुपर्ने बताउँदै आफूहरु कुनै व्यक्ति वा समूहको आधारमा विरोधमा नउत्रिएको स्पष्ट पारे । कुनै जाति, आस्था र लिंगका आधारमा इतिहास नामेट पार्न खोजिए यो पुस्तक जलाउने चेतावीसमेत उनले दिए ।

‘अग्र अनुहार’ पुस्तकलाई लिएर फोनिजसहित अन्य पत्रकारहरू पनि असन्तुष्ट रहेको खबर पाएपछि प्रमुख अतिथिका रुपमा बोलाइएका सभामुख देवराज घिमिरे, अतिथिका रुपमा बोलाइएकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालगायतका अतिथिहरु विमोचन कार्यक्रममै गएका थिएनन् ।

महासंघले निकालेको पुस्तकमा कृष्णप्रसाद भट्टराईदेखि हालसम्मका अध्यक्षको इतिवृत्तान्त समावेश गरेको छ । तर, संस्थापक अध्यक्ष भनिएका सत्यन्द्रबहादुर श्रेष्ठबारे केही उल्लेख नगरिएको फोनिजको दावी छ ।
