सुर्खेत, फागुन ६ ।
एक महिनाअघि प्रदेश कार्यालय खारेजीको निर्णय गरेको कर्णाली प्रदेश सरकार त्यसबाट पछाडि हटेको छ । माघ १० गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आठ वटा प्रदेश कार्यालय खारेजी गरेको थियो । आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले संगठन तथा व्यवस्था सर्वेक्षण (ओएण्डएम सर्भे) नहुँदासम्म माघमा भएको निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
‘ओएण्डएम सर्भे नहुँदासम्मका लागि माघ १० गतेको निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले भने, ‘ओएण्डएम सर्भेको प्रतिवेदनका आधारमा पछि निर्णय गछौं ।’
प्रदेश सरकारले पूर्वाधार विकास निर्देशनालय, खानेपानी, सिंचाई तथा उर्जा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्र, पशुपंक्षी विकास निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, शिक्षा विकास निर्देशनालय र मानव संशाधन विकास केन्द्र खारेज गर्ने निर्णय गरेको थियो ।
आर्थिक वर्षको मध्यतिर प्रदेश कार्यालयहरु खारेज गरिएको भन्दै सत्ता साझेदार नेपाली कांग्रेसले चर्को विरोध गरेको थियो । कांग्रेसले सरकारबाट बाहिरिने धम्की दिएपछि मुख्यमन्त्री राजकुमार शर्मा आइतबार काठमाडौंबाट फर्केर मन्त्रिपरिषद् बैठक राखेका थिए । बैठकले आफैले गरेको पूर्व निर्णय खारेज गरेसँगै चालू आर्थिक वर्ष पूर्ववत कार्यालयबाट कामकाज हुनेछ ।
प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि माध्यामिक शिक्षा परीक्षा (एसइई) को पूर्व तयारी प्रभावित हुनुका साथै शिक्षक सेवा आयोगले सिफारिस गरेका ८७ जना शिक्षकहरुको पदस्थापन र बैकल्पिक सुचिमा रहेका शिक्षकहरुको नियुक्ति प्रक्रिया एक महिनादेखि रोकिएको थियो ।
प्रदेश सरकारले स्थापना गरेका तीन नयाँ कार्यालय पनि खारेजीमा परेका छन् । सरकारका प्रवक्ता जिसीका अनुसार आन्तरिक मामिला व्यवस्थापन कार्यालय, शहरी विकास तथा भवन कार्यालय र सव–डिभिजन वन कार्यालय खारेजीमा परेका छन् भने नाम परिवर्तन गरिएका दुई वटा कार्यालय पनि पूर्ववत नाममै काम हुनेछन् । प्रदेश सरकारले प्रदेश आर्युवेद औषधालयको नाम परिवर्तन गरेर प्रदेश आर्युवेद अस्पताल तथा अनुसन्धान केन्द्र राखेको थियो भने भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयको नाम परिवर्तन गरेर डिभिजन जलाधार व्यवस्थापन कार्यालय राखेको थियो ।
