टाेरोन्टाे । गत मार्च २०२३ मा क्यानडामा रहेको आफ्नो एउटा घर बेचेर एक व्यक्तिले विपन्न वर्गका छात्रहरुको शैक्षिक गुणस्तर अभिवृद्धिकालागि काठमाण्डौ विश्वविद्यालयमा रु. १ करोड राशीको छात्रवृत्ति कोष स्थापना गर्नुभयो । सो कोष स्थापना गर्ने व्यक्तित्व हुनुहुन्छ, समाजसेवी कृष्ण केसी । आफ्नो जीवनकालको चार दशकभन्दा बढी समय संयुक्त रास्ट्रसंघ र यसका विभिन्न संघसंगठनहरुमा रहि विशेषगरि एसिया प्यासिफिक र युरोपका द्वन्द्वात्मक क्षेत्रमा मानवीय तथा संकट व्यवस्थापन गर्न अहम भूमिका खेल्नुभएको केसीसँग युएनका विभिन्न पदमा रहेर काम गरेको लामो अनुभव छ । उहाँ नेपालमा तनहुँ जिल्लाका मुल निवासी हुनुहुन्छ र अहिले क्यानडामा रहँदै आउनुभएको छ ।

उहाँको योगदानको कदर गर्दै सुडान र कम्बोडिया सरकारले स्वर्ण पदकद्वारा सम्मान गरेको केसीलाई क्यानडा सरकारले पनि "प्ल्याटिनम जुबिले अवार्ड " र "रोयल कोरोनेसन अवार्ड" ले सम्मान गरेको छ । त्यसैगरि क्यानडाकै संघीय संसद सदस्यद्वारा यहाँको समुदाय र विश्व मानव समुदायमा गरेको योगदान बापत केसीलाई कदर पत्रद्वारा सम्मानित गरेको छ ।
आफ्नो सम्पूर्ण व्यक्तिगत एवं जागिरे जीवन र अन्य सामाजिक कार्यहरुका बारेमा उहाँले एउटा पुस्तक पनि प्रकाशन गर्नुभएको छ । उक्त पुस्तक विमोचनको क्रममा पनि उहाँलाई "द ग्लोवल हुम्यानिट्यारियन अवार्ड" ले सम्मान गरिएको छ। अन्तरास्ट्रिय समुदाय र संस्था एवं विभिन्न राष्ट्रले उहाँप्रति देखाएको सम्मान र कदर हामी सबै नेपाल र नेपालीकोलागि गौरवको विषय हो ।
आगामी दिनहरुमा नेपालको शैक्षिक क्षेत्रको विकासकालागि पहल गर्ने उहाँको लक्ष्य रहेको छ। हामी सम्पूर्ण नेपालीहरु, विशेष गरि प्रवासी नेपाली र विद्यार्थीवर्गका लागि समाजसेवी कृष्ण केसी एक प्रेरणा र मार्गदर्शनको श्रोत बन्न सक्नुहुन्छ । उहाँको बारेमा अझ धेरै जानकारी लिन चाहनेहरूले उहाँको योगदानको चर्चा भएको भिडियोहरू युट्युब च्यानलमा गएर हेर्न र बुझ्न सकिन्छ ।
बिजय अधिकारी
