• ट्रेण्डिङ्ग :
महानगरको भ्रमण खर्च पौने छ करोड, पदाधिकारी सुविधामा ५० करोड भन्दा बढी विनियोजन 

महानगरको भ्रमण खर्च पौने छ करोड, पदाधिकारी सुविधामा ५० करोड भन्दा बढी विनियोजन 


  • 11.1K
    SHARES
    • माघ १४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 17.1K Views

    महानगरको भ्रमण खर्च पौने छ करोड, पदाधिकारी सुविधामा ५० करोड भन्दा बढी विनियोजन 


    काठमाडौं, १४ माघ । काठमाडाैं महानगरपालिकाले पाँच करोड ८० लाख रुपैयाँ भ्रमण खर्च बापत विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का लागि महानगरले यति धेरै रकम भ्रमण खर्च भनेर छुट्याएको हो। उक्त खर्चबाट स्वदेशदेखी विदेशसम्म भ्रमण गरिने महानगरले जनाएको छ ।

    images

    भ्रमणका लागि को, कहाँ जाने भन्ने पहिल्यै निक्यौल नहुने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले बताए । उनले भने, ‘कार्यालयको कामका लागि आवश्यक्ताअनुसार भ्रमण जाने हो,’ ‘पहिल्यै यहाँ जाने र यो जाने भन्ने हुदैन ।’ कार्यालयको कामको लागि स्वदेशदेखी विदेशसम्म जान सकिने उनको भनाइ छ ।

    महानगरको कामका सिलसिलामा विभिन्न सेमिनार, गोष्ठी, अन्तर पालिका भ्रमण, प्रदेश सरकार समन्वयको कामलगायतमा उक्त रकम खर्च हुने उनले तेस्रो आँखालाई बताए। भ्रमणमा स्वदेशदेखि विदेशसम्मको कार्यक्रम पर्न सक्ने आचार्यको भनाइ छ। जसमा आवश्यक्ताअनुसार जनप्रतिनिधिदेखी कर्मचारीसमेत जान मिल्ने व्यवस्था रहेको उनले बताए।

    त्यस्तै, महानगरले कर्मचारी तथा पदाधिकारी सुविधामा  ५० करोड भन्दा बढी रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०७८/०७९ का लागि कर्मचारी तथा पदाधिकारीहरुको विभिन्न भत्ता बापत ५० करोड २२ लाख ८८ हजार रुपौयाँ विनियोजन गरेको हो।

    पालिकाले महंगी भत्ता, कर्मचारी बैठक भत्ता, कर्मचारी प्रोत्साहन भत्ता, पदाधिकारी बैठक भत्ता, अन्य भत्ता, पदाधिकारी अन्य भत्ता तथा भ्रमण खर्च शिर्षकमा यती धेरै रकम छुट्याएको छ। एउटै विषयमा विभिन्न शिर्षक दिएर रकम सिध्याउन महानगरले चलाखीपूर्ण योजना बनाएको प्रष्ट देखिन्छ।

    चालु आर्थिक वर्षको बजेट किताबमा प्रस्तुत खर्च शिर्षक अन्र्तगत महानगरले महंगी भत्ता पाँच करोड विनियोजन गरेको छ। त्यस्तै कर्मचारी बैठक भत्ताका लागि ९० लाख रकम छुट्याइएको देखिन्छ। कर्मचारी प्रोत्साहन तथा पुरस्कारका नाममा २२ करोड ३५ लाख बजेट विनियोजन गरेको छ। अन्य भत्ता पाँच करोड ९४ लाख ४४ हजार छ भने पदाधिकारी बैठक भत्ता र पदाधिकारी अन्य सुविधा शिर्षकमा क्रमशः दुई करोड ३८ लाख २४ हजार र पाँच करोड छुट्याइएको छ।

    त्यस्तै पदाधिकारी अन्य भत्ता शिर्षकमा दुई करोड ८५ लाख २० हजार रुपौयाँ विनियोजन गरेको पाइएको छ। भ्रमण खर्चका नाममा पाँच करोड ८० लाख बजेट विनियोजन गरेको देखिन्छ।

    जनताको करबाट उठाएर स्थानीय तहका पदाधिकारी र कर्मचारीको भ्रमण र सुविधामै करोडौं रकम सिध्याउने महानगरलाई नागरिकले नजिकबाट नियालीरहेका छन्। जनप्रतिनिधि र कर्मचारीको भ्रमण एवं  भत्ता सुविधाका नाममा करोडौं खर्च गर्ने महानगरपालिकाको सुशासन भने शून्य छ। महानगरले वार्षिक खर्चसमेत सार्वजनिकीकरण गरेको देखिदैन। २०७४ भदौ महिनादेखी यताको महानगरको खर्च सार्वजनिक भएको देखिदैन। महानगरले आफ्नो वेब साइटमासमेत २०७४ देखी याताको खर्च विवरण अपडेट गरेको छैन।