• ट्रेण्डिङ्ग :
‘कर्णालीको विकासका लागि सबै जुट्नुपर्छ’

‘कर्णालीको विकासका लागि सबै जुट्नुपर्छ’


  • 2.7K
    SHARES
    • चैत्र २९, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 4.1K Views

    ‘कर्णालीको विकासका लागि सबै जुट्नुपर्छ’

    कर्णाली, २९ चैत : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको विकास र समृद्धिका लागि सबै जुट्नुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको तेस्रो अधिवेशनको सातौँ बैठकमा उहाँले प्रभावकारी संयोजनद्वारा मात्र जनताका आशा पुरा गर्न सकिने उल्लेख गर्नुभयो । 

    images

    मुख्यमन्त्री कँडेलले भन्नुभयो, “हिजो प्रश्न सोध्ने ठाउँबाट आज जवाफ दिने ठाउँमा आएको छु । जनअपेक्षा अनुसार विधेयक ल्याउनुपर्ने र केही निरुपण गर्नुपर्ने अवस्था छ । विगतको तरिकाललाई सकेसम्म बदल्ने र रकमान्तर नगर्ने गरी बजेट ल्याउने कुरामा हामी सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नैै पर्दछ ।” 

    यस पटकको नीति तथा कार्यक्रम र बजेट जनसरोकारसँग सम्बन्धित हुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । व्यक्ति अनुकूलभन्दा संस्थागत विकासमा सहयोग पुग्ने बजेट ल्याउने कुरामा मद्दत गर्न आग्रह गर्दै उहाँले सन्तुलित विकासको अवधारणा अनुसार आवश्यकताका आधारमा बजेट वितरण र योजना छान्ने काममा सबै प्रदेशसभा सदस्यको सकरात्मक भूमिकाको खाँचो औँल्याउनुभयो । बजेट तर्जुमा योजना निर्माण र वितरण गर्ने प्रक्रियालाई व्यवस्थित बनाएर लैजाने उहाँले बताउनुभयो । 

    “अब अलमल नगरी छिटोछरितो विकास योजना निर्माण गर्नुपर्दछ । कर्णालीमा विकासको सही संस्कृति स्थापित गर्दै लैजाने जिम्मेवारी काँधमा आएको छ । यसका लागि सबै सरोकारवालाको सहयोग समर्थन आवश्यक छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो । 

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीइ दलका प्रमुख सचेतक हिक्मत विष्टले सरकारका सकरात्मक कार्यमा सहयोग गर्ने र गलत प्रवृतिकाविरुद्ध सरकारको खबरदारी गरिरहने उल्लेख गर्दै मुख्यमन्त्री कँडेललाई कार्यकाल सफलताको शुभकामना दिनुभयो । 

    कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक रनसिंह परियार, नेकपा (एकीकृत समाजवादी) का प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री कँडेलाई बधाईसहित शुभकामना व्यक्त गर्नुभयो ।


    तेस्रो आँखा