• ट्रेण्डिङ्ग :
एमसीसी प्रकरण : अझै अनिर्णित छ जसपा

एमसीसी प्रकरण : अझै अनिर्णित छ जसपा


  • 8.9K
    SHARES
    • माघ १८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 13.6K Views

    एमसीसी प्रकरण : अझै अनिर्णित छ जसपा

    काठामडौं, १८ माघ । जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराईले एमसीसीकोबारेमा ट्विटमार्फत राखेको धारणामाथि निकै चर्चा चल्यो। ‘एमसीसी पास हुनुपर्छ’ भन्दै जसपाका संघीय परिषद अध्यक्ष भट्टराईले गरेको ट्विटले जसपा एमसीसी पक्षधर दलका रुपमा खुलेको सञ्चार भयो। तर जसपाले भने भट्टराईको धारणालाई ‘पार्टीगत’ धारणा नभएको जनाएको छ ।

    images

    जसपाका अध्यक्ष उपेन्द्र यादवले तेस्रो आँखासँग कुराकानी गर्दै जसपाले एमसीसीकोबारेमा कुनै निष्कर्ष निकालि नसकेको बताए। ‘जसपाले एमसीसीकोबारेमा के गर्ने भन्ने विषयमा कुनै धारणा बनाइसकेको छैन,’ यादवले भने ‘हामीले अहिले नै एमसीसीकोबारेमा यो गर्छौँ वा त्यो गर्छौँ भन्ने अवस्था बनिसकेको छैन।’ पार्टीको साझा धारणा तय गर्नका लागि छलफल भैरहेको भन्दै यादवले थपे ‘हामी यो विषयमा छलफलमै छौँ, चाँडै साझा धारणा बनाउँछौँ ।’

    भट्टराईको ट्विटका विषयमा भने उनले सत्यता नभएको दाबी गरे। उनका ट्विटमा विश्वास कतिसम्म गर्ने भन्दै उनले प्रश्न गरे ‘उहाँ (भट्टराई जी) का ट्विटहरु तपाईले हेर्दै आउनु भएको छ नि, कतिसम्म विश्वास गर्ने भन्ने कुरा हो।’ यसैगरी जसपाले एमसीसीकोबारेमा गठबन्धन टुट्ने अवस्थामा नपुगेकोसमेत दाबी गरे। गठबन्धनबाटै एमसीसीको विषयमा अध्ययन गर्न कार्यदल बनेको भन्दै यादवले भने ‘एमसीसीको विषयमा गठबन्धनमा विवाद छैन, साझा सहमति कायम गर्नकै लागि गठबन्धनले कार्यदल बनाएको छ।’  

    नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलले एमसीसी अध्ययन गर्ने र त्यस अध्ययनका आधारमा गठबन्धनले आधिकारीक धारणा तय गर्ने यादवको भनाइ छ। ‘गठबन्धनले बनाएको कार्यदलले एमसीसीलाई के गर्ने भनेर अध्ययन गर्नेछ,’ उनले भने ‘कार्यदलले ल्याउने प्रतिवेदनका आधारमा एमसीसीलाई के गर्ने भन्ने विषयमा गठन्धनमा फेरी छलफल हुनेछ।’ खनालको संयोजकत्वमा रहेको उक्त कार्यदलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसबाट सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्।