लुक्ला, १६ वैशाख । सोलुखुम्बु जिल्लामा केही दिनयता प्रतिकूल मौसमका कारण उडान अवरुद्ध भएपछि पर्यटक सास्तीमा परेका छन् । तेन्जिङ हिलारी विमानस्थलबाट काठमाडौंका लागि उडान पर्खिरहेका यात्रुहरू विमानस्थलमा भिजिबिलिटी कम भएकाले विमान नदेखिएपछि अलपत्र परेका छन् । बाक्लो धुवाँले दृश्यता प्रभावित भएको छ ।
प्रतिकूल मौसमका कारण विदेशी पर्यटकको घुइँचो लागेको पर्यटक गाइडले बताएका छन् । पर्यटकहरू दुई दिनदेखि विमानको पर्खाइमा रहे पनि कुनै फाइदा नभएको गाइड आङ्दानु शेर्पाले जानकारी दिए ।
हवाई सेवा अवरुद्ध हुँदा विदेशी पर्यटक लुक्लामा अलपत्र परेको प्याराडाइज लजका सञ्चालक दावाफुटी शेर्पाले बताए ।
एकै दिन ५४ उडान भर्ने विमानस्थलमा शुक्रबार कुनै उडान नभएको विमानस्थल प्रमुख उमेश पन्थीले बताए । शनिबार केही उडान मात्रै सञ्चालन भएका छन् ।
तर, हेलिकप्टरले नियमित उडान गरिरहेका छन् ।
तेन्जिङ हिलारी विमानस्थलमा उडान सञ्चालन गर्न पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ।
यहाँ हेलिकप्टरसहित ३ सयभन्दा बढी उडान हुने गरेको विमानस्थलले जनाएको छ । यो सगरमाथा क्षेत्रमा जाने पर्यटकले सबैभन्दा बढी प्रयोग गर्ने विमानस्थल हो।
