• ट्रेण्डिङ्ग :
दमकमा अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै

दमकमा अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै


  • 2.7K
    SHARES
    • बैशाख २९, २०८१ शनिबार
    • २ बर्षs अघि
    • 4.1K Views

    दमकमा अव्यवस्थित तार र बिजुलीका पोल हटाईँदै
    दमक, २९ वैशाख/दमक नगरभित्रका अव्यवस्थित तार र बिजुलीको पोल  हटाउने काम सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले बिजुलीका पोलमा अव्यवस्थित रूपमा टाँगिएका इन्टरनेट, टेलिफोन र केवल टेलिभिजनको तार हटाउन थालेको प्राधिकरण दमक वितरण केन्द्रका प्रमुख परितोषकुमार चौधरीले बताउनुभयो ।
     
    उहाँका अनुसार प्राधिकरणले आफ्नो स्वामित्वका विद्युतीय पोलमा टाँगिएका केवल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थित गर्न यो काम थालेको हो । प्राधिकरणले चार सय भोल्ट लाइनको नाङ्गो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेन्टिमिटरको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच दुई दशमलव चार मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । 
     
    त्यसैगरी, चार सय भोल्टको ‘इन्सुलेटेड’ तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी पाँच दशमलव पाँच मिटर कायम गर्नुपर्ने प्राधिकरणले जनाएको छ । उहाँले तार हटाउने कार्यसँगै सडक मापदण्डअनुसार दुई सय ९० वटा पोल समेत हटाइने जानकारी दिनुभयो । अहिले ठूला पोल गाड्ने काम भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु सार्न लगाइएको उहाँले बताउनुभयो । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन र सहरी सुन्दरता कायम राख्ने यो काम थालिएको उहाँको भनाइ छ । 
     
    केवल, इनटरनेट, टिभीलगायत तारहरु नयाँ पोलमा सार्न नगरपालिकामार्फत व्यवसायीलाई अनुरोध गरिएको छ । उहाँले भन्नुभयो, “तोकिएको समयमा व्यवस्थापन गर्ने/नगराउने सेवा प्रदायकहरूको केबललगायत उपकरण नेपाल विद्युत् प्राधिकरण ऐन (४) बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुनसक्ने नोक्सानी सम्बन्धित सेवा प्रदायक स्वयं जिम्मेवारी हुनुपर्ने यसअघि पटकपटक सूचना जारी गरिएकाले अहिले सोही अनुसार काम भइरहेको छ ।”
     
    एघार केभी र ३३ केभी लाइनमा विद्युत्को तार र अन्य तारबीचको दूरी दुई मिटर, चार सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणको नियमावलीमा उल्लेख छ । प्राधिकरणले राउटर, रिपिटर, एक्ट्र्याक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एकातर्फ क्रम मिलाएर नहल्लिने, नझर्ने गरी क्लिप ब्यान्डको प्रयोग गरी राख्न निर्देशन दिएको छ ।
     
    दमक नगरपालिकाको पहलमा विद्युत् प्राधिकरणले बजारभित्रको विद्युत् आपूर्ति व्यवस्था गर्न सडकको दुवै किनारमा विद्युत् पोलसहितको तार जडान गर्ने काम भइरहेको दमक नगरप्रमुख रामकुमार थापाले बताउनुभयो । विद्युतीय पोल प्रयोग गरी जथाभावी झुन्ड्याइएका उपकरणले सहरलाई कुरुप बनाएको उहाँको भनाइ छ । “आगलागीलगायत विद्युतीय दुर्घटना बढ्दै गएको र विद्युतीय सेवा अवरोध हुने भएकाले अव्यस्थित तार र पोल हटाउन थालिएको हो”, उहाँले भन्नुभयो, “अहिले दमक नगरका चोकबजारका तारहरु हटाउने कार्य सुरु भएको छ, अब नगरभरि यो अभियान चलाइन्छ ।” दमकमा विभिन्न नाममा सञ्चालित ३२ वटा कम्पनीले तार जडानको काम गर्दै आएका छन् ।


    तेस्रो आँखा