• ट्रेण्डिङ्ग :
भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन

भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन


  • 4.5K
    SHARES
    • जेठ ९, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 6.9K Views

    भूकम्पबाट जोखिमयुक्त बनेका संरचना भत्काउन निर्देशन
    गोरखा, ९ जेठ/ गोरखाको सहिद लखन गाउँपालिकाले २०७२ सालमा  भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ । 
     
    पालिकाभित्र भूकम्पलगायत अन्य सबै प्रकारका विपद्का कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको पाइएपछि गाउँपालिकाले त्यस्ता सबै जोखिमयुक्त संरचना भत्काउन निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो । 
     
    “नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरधनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो, उहाँले भन्नुभयो, ‘‘त्यसले क्षतिको थप जोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सबैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ ।”
     
    विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माण गर्न सरकारले रु तीन लाख अनुदान उपलब्ध गराएको थियो । तर पालिकाभित्र अनुदान लिएका कतिपय लाभग्राही अझैपनि जोखिमयुक्त संरचनामा  बस्दै आएका छन् ।
     
    गाउँकार्यपालिकाको गत वैशाख २६ गते बसेको बैठकले पालिकाभित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो । निर्णय अनुसार मङ्गलबार पालिकाले सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको छ । 
     
    “जोखिमयुक्त संरचना जतिबेला पनि खस्न सक्ने, झर्न सक्ने जोखिम बढी हुन्छ”, अध्यक्ष थापामगरले भन्नुभयो, ‘‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुनसक्ने भएकाले समयमा नै सतर्कता अपनाउन पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो ।”


    तेस्रो आँखा