‘कति निश्चल र उदार हजुर । न्यायिक आँखा, मिठो मुस्कान, शक्तिशाली हेराईँ। मेरो दिलमा एकछत्र राज छ हजुरको। यो दिल हजुरको साम्राज्य जस्तै थियो। सबै चक्नाचुर भए। म जानेर हजुरको प्रेममा परेकी होइन्। हजुरको प्रेम सागरबाट किनारा पाउन सकेकी पनि छैन। मैले हजुरबाट उपहार स्वरुप पाएको दुःखको जीवनलाई हाँसिखुसी बिताउन सक्छु।’
अपरिचित नम्बरबाट आएको म्यासेजले मलाई सोच्न बाध्य गरायोे। म्यासेज हेरेर केही समय टोलाएर बसेँ पनि । आफैलाई प्रश्न गरेँ मलाई यस्तो म्यासेज पठाउने को होला ? केही अतित तिर पुगेँ ।
भ्यालेन्टाइन डे को प्रेमिल साता चलिरहेको बेला आएको यो म्यासेजले फेरि त्यहीँ पुरानो दिनहरु सम्झन बाध्य बनायो।
उनी बाहेक यस्तो म्यासेज अरु कसैले लेख्ने हिम्मत गर्न सक्दैन। पुराना पे्रमिल साताहरु सम्झनामा आउँदा पनि उनी बाहेक अरु कसैको म्यासेज मेरोमा छैन।
अहिले यो लेख पढिरहेकी छौ भने मैले दिने म्यासेज पनि यहीँबाट लेखेको छु। प्रिय भनेर सम्बोधन गर्ने मेरो अधिकार खोसिसकेकी छौ। तिमी अहिले कुन स्थिति छौ कहाँ छौ मलाई कुनै जानकारी छैन ।
अब त जानकारी हुन पनि किन पर्यो ? म तिमीलाई यादसम्म पनि नगरौ भन्छु । तर, तिमीसँग जोडिएका हरेक वस्तुले तिम्रो याद दिलाइ रहन्छन् ।
तिमीले आफ्नो खुसिको लागि मेरो कोमल मुटुलाई रेटेर गएको पनि वर्षौ वितिसक्यो। तर, थाहा छ अहिले जस्तै लाग्छ। सम्झनामा आएको बखत मुटुबाट रगत बग्न रोकिएको छैन झै लाग्छ। आफैले आफैलाई सम्हाल्नसमेत गाह्रो हुन्छ।
अन्तिम पटकको भेटमा तिमीले भनेका शब्दहरु मिठो संगीतको धुन झै कानमा गुन्जिरहन्छन्। ‘के चाहान्छौ तिमी म सँग मेरो उज्ज्वल भविष्य भएको हेर्न की अझै अस्तव्यस्त बनाउने। म तिमीसँगै अलमलीरहुँ । घरमा राम्रो खानदानको केटा माग्न आए बुवा आमाले पनि ठिकै छ भन्नु भयो म के गर्न सक्छु मैले पनि हुन्छ भन्दिए...’
तिम्रा शब्दबाणहरुले कति घोचेहोलान् । तिमीले मेरो अवस्थाको बारेमा जानकारी दिएर मलाई लगाएको गुन तिर्न आफ्नो जीवन यापन गर्ने शैली परिवर्तन गरिरहेको छु। जाँदाजाँदै माया त म तिमीलाई नै भन्ने तिम्रो शब्दलाई चुडिएको मुटुले ग्रहण गर्न सकेको छैन। मेरो भविष्य पनि हेर्नु पर्छ भन्दै मसँगको भविष्य अन्धकार देख्ने तिम्रो अहिले कस्तो छ ? भविष्य उज्वल होस् शुभकामना बाहेक केही दिन सक्दैन। अष्ट्रेलियाको पिआर भएको केटासँग विहे गर्न खोज्दै थियौं । तिमीलाई पनि उतै लैजाने भन्ने योजना थियो। सायद मैले कल्पना गरौं तिमी अष्ट्रेलिया तिरै छौं होला। ‘प्लिज मलाई बुझ्ने कोसिस गर न’ भन्दै थियौं, मैले कोशिस गरिरहेकै छु। तिमीलाई बुझ्ने।
मैले पढेको भ्यालेन्टाइनहरुको प्रेम कथा, मुना मदनको प्रेम कथा भन्दा फरक खालको प्रेमकथा तिमीले बुझाएर गयौ। मर्दा पनि सँगै मर्ने र जिउँदा पनि सँगै जिउने भन्ने तिम्रो कोकिल कण्ठ आवाज कतिचाँडै फेरिएको थियो। छेपारोले रंग फेर्न नपाउँदै तिमीले बोली फेरेकी थियौं। त्यो बेलामा पनि मैले तिमीलाई शुभकामना दिएकै थिएँ। म सँग शुभकामना बाहेक दिनसक्ने त्यो बेला पनि केही थिएन्।
तिमीले बाटो मोडेको दिनदेखि मैले तिम्रो चाहाना बुझ्ने कोषिस गरेको थिएँ। तिम्रो चाहाना अनुरुप सामाजिक सञ्जालदेखि टेलिफोन नम्बरसम्म सबै ब्लक लिष्टमा राखेकी तिमीले नयाँ नम्बरबाट म्यासेज गछौ भन्ने आशंका पनि कसरी गर्न सक्थे र ?
तर, मैले अहिलेसम्म लुकाएको एउटा इमेल आज यसै म्यासजेसँगै सार्वजनिक गर्ने जमर्को गरेको छु। सबै तिर ब्लक भइसकेपछि तिम्रो इमेल प्राप्त भएको थियो। अहिलेसम्म तिमीले इमेल लेख्नुको तात्पर्य बुझेको छैन्। मैले लेखेको पढ्ने फुर्सदमा पो तिमी छौ कि छैनौं ? मेरो हैसियत भन्दा धेरै माथि पुगेकी हौली । जे होस् तिमीले पठाएको इमेल मैले यहाँ प्रस्तुत गर्न सान्दर्भिक लागेको छ।
प्रिय मान्छे समिर
मेरा कुराले तिम्रो धेरै चित्त दुःख्यो होला मेरो मनसाय तिमीलाई दुःखी बनाउनु थिएन। जिन्दगीको यो लामो यात्रामा मैले विश्वास गरेको मान्छेहरुमा एउटा तपाई पनि हुनुहुन्छ मैले कमैलाई विश्वास गर्छु र विश्वास दिलाउछु पनि मैले तपाई सँग मजाक गर्दागर्दै तपाईंलाई नै गुमाउँछु भन्ने सोचेकी पनि थिइन तपाई त साच्चिकै मलाई छोडेर जानु पो भयो कस्तो डरलाग्दो मजाक गरेँ मैले तपाईंको मन चोर्न गरेको मजाक म आफैलाई मजाक बनाएर गयो तर मैले अझै पनि मजाक नै सम्झेकी छु। तपाई यसलाई जसरी परिभाषित गर्नु हुन्छ गर्नुस तर एउटा कुरा के चाहि स्पस्ट भयो भने तपाई मेरो खुसिको लागि आफ्ना रहरहरु त्याग्न सक्नुहुदोरहेछ कति महान बिचार तपाईको तपाई मेरो पहिलो प्रेम किन बन्नु भएन होला आजको दिनमा पनि कसैले यतिसम्म माया गर्न सक्छ मेरो खुसिको लागि मलाई नै त्याग गर्न तयार हुनुभयो। तपाई साच्चिकै ठूलो मनको हुनु हुन्छ तपाई जत्तिकै मरो जीवनमा न हिजो कोही थिए न पछि हुनेछन मैले तपाई बाहेक अरु कुनै अपसन नै दिखिन एउटा असल प्रेमिमा हुने गुण तपाईमा छ।....
उही तपाईंकी माया...
समिर ओली
