• ट्रेण्डिङ्ग :
नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित


  • 4.2K
    SHARES
    • आषाढ ३०, २०८१ आइतबार
    • २ बर्षs अघि
    • 6.5K Views

    नेपालगञ्ज उपमहानगरपालिकाको आगामी आवको बजेट पारित

    बाँके, ३० असार । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको छ । 

    images

    नगरसभाको १५औँ अधिवेशनको दोस्रो बैठकले यही असार १० गते पहिलो बैठकमा प्रस्तुत वार्षिक राजस्व र व्ययको अनुमान (बजेट) सर्वसम्मत  पारित गरेको हो । सभाध्यक्ष एवं नगर प्रमुख प्रशान्त विष्टले बजेट स्वीकृतिका लागि सभामा पेस गर्नुभएको थियो । 

    उपमहानगरपालिकाले आगामी वर्षका लागि रु एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको बजेट ल्याएको छ । आन्तरिक आयतर्फ रु २० करोड ११ लाख सङ्कलन गर्ने लक्ष्य उपमहानगरपालिकाको छ ।

    त्यसैगरी, दोस्रो बैठकले आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१ र आन्तरिक आय व्यवस्थापन तथा नियमन विधेयक २०८१ पनि पारित गरेको छ । नगर कार्यपालिकाको कार्यालय र अन्तर्गतका वडा कार्यालयबाट पेस भएबमोजिमको आर्थिक वर्ष २०८१/८२ को बजेट, योजना तथा कार्यक्रम पनि स्वीकृत भएका छन् ।

    यस्तै, नगर प्रमुख विष्टले स्वीकृतिका लागि सभामा पेस गर्नुभएको उपमहानगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ खारेज तथा सङ्घीय ऐन कार्यान्वयन पनि पारित भएको छ । नगर अधिवेशनको दोस्रो बैठकबाट बालबालिकासम्बन्धी ऐन २०७७ को संशोधन पनि स्वीकृत भएको प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले बताउनुभयो ।

    उपमहानगरपालिका र अन्तर्गतका वडा कार्यालयमा करार सेवामा कार्यरत कर्मचारी तथा दैनिक ज्यालादारी कर्मचारीको म्याद थपसम्बन्धी ‘एजेन्डा’ पनि सभाले स्वीकृत गरी पारित गरेको छ । यस्तै, पूर्वाधार विकास समितिका संयोजक वसन्तकुमार कनोजियाले तयार पार्नुभएको प्रतिवेदन पनि सभाले स्वीकृत गर्दै पारित गरेको छ । 

    कनोजियाले संस्थागत सुधारका लागि आफ्ना सुझाव समेटेर प्रतिवेदन वाचन गर्नुभएको थियो । उहाँले दण्ड तथा पुरस्कारको नीति अबलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । कनोजियाले कर्मचारीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको आवश्यकता पनि औँल्याउनुभएको छ । 


    तेस्रो आँखा