काठमाडाैं, ३ फागुन । असम निवासी पूर्णकुमार शर्मा धेरै विधामा कलम चलाउने विशिष्ट पहिचान भएका एक नाट्यकार हुन् । उनका कथा, कविता, निबन्धको चर्चा म कुनै दिन पक्कै गर्ने नै छु । उनको यो पाँचौं नाटक कृति पढेर सकेपछि केही नलेखि बस्न मेरो मनले मान्दै मानेन । एउटा लेखकले समाजलाई कसरी नियाल्दो रहेछ भन्ने कुरा उनले नाटकका माध्यमबाट साह्रै सुक्ष्म र मिहिन तरिकाले देखाएका छन् ।
साहित्यको विविध विधाहरुमध्ये नाटक पनि एक हो । नाटक अभिनय तथा दृश्य काव्य अन्तर्गत पर्छ । नाटकले मनोरञ्जन मात्र होइन समाज र देशभित्र ब्याप्त कैयौं कुरिती, अन्धविश्वास र विसंगतिलाई उजागर गर्दै मानिसहरुलाई सही मार्ग दर्शन गर्ने कार्यमा अहम् भूमिका निर्वाह गर्दै आएको छ । हाम्रो जातीय, सामाजिक, राष्ट्रिय र अन्तराष्ट्रिय समस्याहरुका समाधानको दिशामा नाटकले सदैव देश र समाजलाई सही दिशाबोध गराउने काम गर्दै आएको छ ।
उनको यो मुटुको खिया नामक कृतिभित्र सात वटा नाटक समावेश गरिएका छन् । शर्माले यि नाटकमा समसामयिक परिवेशको प्रतिनिधित्व गर्दै कुरीतिजन्य अन्ध परम्परालाई हटाएर, आधुनिक वैज्ञानिक मानसिकताले अघि बढ्न समाजलाई प्रेरित गरेका छन् ।
मुटुको खिया शिर्षकको नाटकमा मुख्य पात्र पुरोहितका श्रीमान श्रीमती छन् । पुरोहित श्रीमती (पु. बज्यै) अत्यन्त आधुनिक विचारधारा बोकेकी शिक्षित महिला हुन् । आफ्नो लोग्नेको अति सङ्किर्ण सोच र विचारको उनी पाइला पाइलामा खण्डन गर्छिन्, सुधार्न कोशिस गर्छिन् तर घरका मुख्य व्यक्ति पुरोहित वा ब्राह्मणको चोला पाएर त्यसलाई शोषण र अत्याचारको हतियार बनाउन जीवनभर उदत्त भएर लागिरहन्छन् । विचार राम्रो नभइकन जातले मात्र मान्छे ठूलो र असल बन्दैन भन्ने कुरा यो नाटकको मुख्य विषय हो । धर्मका नाममा युद्ध र आतङ्क मच्चाउने समाज भँडुवा राजनितिज्ञलाई सुमार्गको बाटो देखाउँछ यो नाटकले ।
बाबुको अहम् र दम्भका कारण घर छोडेर हिंडेको छोरो, एकजना विद्वान मुसलमान गुरुको सतसङ्गतले असल पुत्र बनेर आफ्नै समाजमा फर्किएर आउनु नाटकको सवल पक्ष हो । मुस्लिम गुरुले घरमा आएर धर्मभिरु पिताका मनमा जुगौँदेखि जमेर बसेको खिया शिक्षाको माध्यमबाट हटाउन सफल भएपछि नाटक समाप्त हुन्छ । यो नाटकले धर्म र जातको आधारमा समाज धमिल्याउने सुक्ष्म सोचाइ भएका मनुवालाई मुक्का प्रहार गरेको छ ।
अन्ततः यो नाटकको मुख्य उद्देश्य सभ्य समाजको निर्माण गर्नु हो । शिक्षा र स्वास्थ्यको महत्व कति छ भन्ने कुरा यो नाटकले प्रष्ट पारेको छ । साँच्चै भन्नुपर्दा हाम्रो देश नेपालको दूर–दराजका ग्रामीण क्षेत्रमा यो नाटक लगेर देखाउन सके समाजमा घट्ने जात, धर्म र संस्कृतिका नाममा जोडिएर आउने जघन्य अपराधका घटनामा अवश्य कमि ल्याउन सकिन्छ । यो मुटुको खिया नाटकलाई हाम्रो विद्यालयको पाठ्यक्रममा राख्न सके कति राम्रो हुन्थ्यो होला । यसका लागि शिक्षा मन्त्रालय अन्तर्गतका उच्च पदस्थ कर्मचारीको ध्यानाकर्षण गराउन सके अझै राम्रो हुने थियो ।
त्यसैगरी “नौगेडी चोर” पनि सामाजिक नाटक नै हो । यो नाटकको लक्ष्य व्यक्तिको चरित्र सुधार गर्नु हो । यसमा छोरी चेलीले अघि बढ्न खोज्दा पुरातन सोचले नित्य बाटो छेक्ने गरेको अवस्था देखाउँछ । समाजमा छोरालाई देवत्व करण गरेर घर परिवारले बोक्ने हुँदा एक दिन त्यो पुल्पुलिएको छोरो आफ्नै आमाको नौगेडी चोरेर भाग्न सफल हुन्छ । छोरी र छोरा बिचमा आमाले गर्ने विभेद... लैङ्गिक असमानता हाम्रो देशमा मात्र होला भन्ने भ्रम यो नाटकले चिर्दछ ।
उता असम प्रान्तमा पनि उस्तै अवस्था रहेछ भन्ने कुरा यो नाटकको माध्यमबाट थाहा हुन्छ । समाजमा भएका यस्ता किसिमका अन्याय र अत्याचारको विषयलाई जस्ताको तस्तै कलमका माध्यमबाट एउटा नाटक कृति तयार पार्ने यस्ता महान् नाट्यकारलाई धन्यवाद भन्नु सिवाय मसँग अरु के नै छ र ?
असममा आजभन्दा बाईस वर्ष पहिले लेखिएको एयटा नाटक छ तीन पोयाको डोरी । यहाँ भएजस्तो धार्मिक उथलपुथल सर्दै सर्दै आज नेपालसम्म आइपुगेको छ । यो नाटकमा एउटा सुन्दर मिलनपुर नाम गरेको गाउँ हुन्छ । त्यो गाउँमा सबै धर्मावलम्बी मानिस बसोबास गरेका हुन्छन् । त्यो गाउँको बिचमा एउटा सरकारी जग्गा हुन्छ, त्यो जग्गाले झगडा निम्त्याउँछ ।
त्यो सार्वजनिक जग्गामा हिन्दूले शिव मन्दिर बनाउन खोज्दा उत्पन्न भएको झगडाले विकराल रुप लिन्छ । झगडा बड्दै गएर काटमारको अवस्था श्रृजना हुन्छ । खराब व्यक्तिलाई आज नभए भोलि आफू खराब भएको महसुस हुन सक्छ तर यस्तो तथाकथित धार्मिक व्यक्ति जो आफू धार्मिक भएको मान्यता बोकेर हिंड्छ उसलाई विषाद हुन सक्दैन त्यसैले त्यो मर्ने र मार्ने सम्म पुग्न सक्छ ।
आ–आफ्नो धर्म अनुसारको मठ मन्दिर बनाउन पाउनुपर्छ भन्ने धार्मिक झगडाको अन्त्य समाजका गन्यमान्य मान्छेले मिलाइदिन्छन् । सबैलाई चाहिने अस्पताल र पुस्तकालय बनाउने कुरामा सहमति जुटेर नाटकको अन्त्य हुन्छ । धर्मका नाममा मान्छे कतिसम्म अन्धो बन्छ भन्ने कुरा नाटकमा देखाइएको छ ।
देश र जनताका शोषण कर्ता भद्र आचरण देखाएर घुसपेसको कालाबजारी गर्ने सरकारी कर्मचारीको मारमा कसरी सोझा साझा नागरिक पर्छन् भनेर स्पष्ट देखाइएको नाटक “भिखारी भोजन” हो । प्रकृति त्रिगुणात्मक छ तीन गुणयुक्त – सत्व, रज र तम । तीन किसिमका गुण भएका मानिसहरू आफ्नो समाज, घर र प्रारम्भिक ज्ञानका कारण प्रष्ट रुपमा चिनिन्छ । खराब मान्छेले सज्जनलाई मृत्युको मुखसम्म पुर्याउँछ भन्ने कुरा दर्शाउँछ यो नाटकले ।
यो भिखारी भोजनमा दुःखी मास्टरलाई अत्याचार गर्ने सरकारी कर्मचारी देख्ता कहिल्यै रिस नउठ्ने मान्छे समेत क्रुद्ध हुन्छ । ऊ पिडित छ जिविकोपार्जन गर्नै नसक्ने अवस्थामा पनि ऊ सङ्घर्ष गरिरहन्छ । भिखारीहरुले नराम्रो बचन लगाउँछन् तर बिचरा मास्टर सबै मनुष्यको बराबर चेतना कहाँ हुन्छ र भन्दै सहन्छन् । आफ्नो स्वार्थ परिपूर्ति गर्न कसैको पनि शोषण नगर्ने व्यक्ति नै मित्र हो भन्ने देखाइएको नाटक रहस्यमय छ ।
हिजोआज पृथ्वीमा वायु प्रदूषण पूर्वानुमानभन्दा बढी नै भएको छ । यसको मुख्य कारण–मानवीय हस्ताक्षेप नै हो । मान्छे अत्यन्त स्वार्थी र पैसामुखि भएको कारण आज प्रकृतिको विनाश भएको हो । वातावरणलाई मुख्य विषय बनाएर लेखिएको साहित्यले अहिले सबैको ध्यानाकर्षण गराएको छ । पर्यावरण चेतना हाम्रो साहित्यमा पहिले पनि नभएको त होइन ।
यसरी आजका दिनमा नेपाली साहित्यजगत्मा पर्यावरण साहित्य भित्र्याउने स्रष्टा समालोचक डा. गोविन्दराज भट्टराईको नाम अग्रपङ्क्तिमा आउने गर्छ । वहाँको “उत्तर आधुनिक विमर्श” पुस्तक नै त्यसको ज्वलन्त उदाहरण हो । “मिर्मिरेमा दश पाइला” किताब पनि पर्यावरणको दृष्टिले महत्वपूर्ण मानिन्छ । पर्यावरणीय महत्वलाई केन्द्रमा राखेर साहित्य लेखनमा अगाडि बढेका साहित्यकारहरु अविनाश श्रेष्ठ, मुक्ति उपाध्याय, विजय हितान, छत्रमान सुब्बा, ज्ञानबहादुर क्षेत्री, प्रतीक ढकाल, जस्ता दिग्गज व्यक्तित्व अग्रपङ्तिमा उभिएर कलम चलाइरहनु भएको छ ।
युवा स्रष्टा अनिता पन्थीले पनि एउटा पर्यावरण सम्बन्धि उपन्यास लेखेर नेपाली साहित्यलाई उपहार दिएकी छन् । वैज्ञानिक आविष्कारको अपप्रयोग गरेकै कारण आज हाम्रो समाज अशान्तिमय भएको छ । यसरी पृथ्वी क्षतबिक्षत र कुरुप बन्दै गइरहेको दर्दनाक कथामा लेखिएको नाटक नै नीर अधिर धरित्री हो ।
एकजना दूध व्यापारी सबैलाई आफ्नो दूध किन्नलाई आग्रह गर्छन् तर कसैले किन्दैनन् । पानी खान नपाएर ब्याकुल भएको मान्छेले भन्छ – पानीको तिर्खा के यो दूधले मेट्न सक्छ र ? एक बोतल शुद्ध पानी किनेर खानलाई म पर्खेर बस्दैछु ....पानी कतै शुद्ध छैन, खोला नाला सबै प्रदूषित छन् । हाम्रो बस्तीमा पानी खान नपाएर मान्छे मर्दैछन् यस्तो सुनेर दूधवाला भन्छ यो कस्तो समय आयो ? के यसैगरी अब सबै मान्छे सकिन्छन् त ? प्रकृतिको विनाशसँगै पृथ्वीमा रहेका सम्पूर्ण जिवको अन्त्य...
भोलिको संसार हेरेर नाटक लेख्ने पूर्णकुमार शर्मालाई म कसरी बिर्सन सक्छु र ? उनको यो पर्यावरणीय नाटक संसारलाई लेसन दिने खालको छ । धेरैजसो ग्रामीण परिवेशलाई आत्मसात् गर्दै दरिद्र र दलित श्रेणीको मान्छे र धनी अनि उच्च वर्गको मान्छेबिचको द्वन्द्व र मतभेद देखाएर अन्तमा त्यसको समस्या समाधान समेतका नाटकहरू सबै राम्रा छन् । उनका नाटकमा विशेषगरी ठेट नेपाली शब्दहरुको मौलिक प्रयोग गरिएको भेटिन्छ ।
जस्तै – हिजोआज – हिजाज अघाउञ्जेल भन्ने ठाउँमा गलगिद्ध, राँड, फाङ्सन, जगटो, तेरो पोइ, घुम, डोको, नाम्लो, ढिकी, ढुङ्ग्री ठेकी, मदानी आदि जस्ता शब्दहरु आजका दिनमा कहाँ सुन्न पाइन्छ र ?
©शशी भट्टराई श्रेष्ठ
शशी भट्टराई श्रेष्ठ
