• ट्रेण्डिङ्ग :
८० लाख तिरेर अवैध बाटोबाट अमेरिका गएका थिए दीपक, लुटेराले गोली चलाउँदा ज्यानै गयो

८० लाख तिरेर अवैध बाटोबाट अमेरिका गएका थिए दीपक, लुटेराले गोली चलाउँदा ज्यानै गयो


  • 3.5K
    SHARES
    • श्रावण १५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.4K Views

    ८० लाख तिरेर अवैध बाटोबाट अमेरिका गएका थिए दीपक, लुटेराले गोली चलाउँदा ज्यानै गयो

    रुकुमपश्चिम, १५ साउन । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो ।

    images

    मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको बताए । टेक्सासमै रहनुभएका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनले जनाए । आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको छ ।

    दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन र गाउँ नै शोकमा रहेको बताए । । दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ छन् । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया गएका छन् । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा छन् ।

    मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली भने ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्छन् । गाउँमा बाख्रापालन गर्दै आउनुभएका मृतक दीपकका ५६ वर्षीय बुवा लिलाराम ओली अहिले अचेत अवस्थामा छन् । घरमा सम्झाई बुझाई गर्ने अवस्था समेत छैन । सबैतिर सन्नाटा छाएको छ ।

    खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका थिए । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो (तल्लो बाटो) अमेरिका पुगेका हुन् । अमेरिकाको सपना पछ्याउँदै अवैध बाटो अमेरिका पुगेका दीपकको सपना भने विलीन भएको छ । सपनाको देशले दीपकको परिवारको सारा सपना टुटाइदिएको छ ।

    दीपकले २०७९ मङ्सिरमा घर छोडेर हिँडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । ‘‘बल्ल कमाउन थालेको थियो, लुटेराले हत्या गरिदिए,’ उनले भने ।

    परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विक्षिप्त बनेका दाइलाई छोरो पठाउँदा लगेको ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको उनको भनाई छ । परिवारका अनुसार अमेरिका जाँदा लागेको ८० लाख रुपियाँ ऋणमध्ये आधा मात्रै तिरिएको छ ।


    तेस्रो आँखा