• ट्रेण्डिङ्ग :
किन बन्द भए तुलसीपुरका अधिकांश होमस्टे ?

किन बन्द भए तुलसीपुरका अधिकांश होमस्टे ?


  • 4.8K
    SHARES
    • श्रावण २१, २०८१ सोमबार
    • २ बर्षs अघि
    • 7.3K Views

    किन बन्द भए तुलसीपुरका अधिकांश होमस्टे ?

    तुलसीपुर, २१ साउन । तुलसीपुर उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्ने मूल गेटमा नगरभित्रका होमस्टेहरुको नाम, ठेगाना र सम्पर्क व्यक्तिका फोन नम्बरहरु स्पष्ट देखिने गरी लेखेर राखिएको छ ।

    images

    तर  यीमध्ये अधिकांश होमस्टे बन्द भएका छन । उपमहानगर कार्यालयको गेटमा राखिएको जानकारी अनुसार सम्पर्क व्यक्ति खोज्दै हालै एउटा टोली अवलोकन र अनुगमनमा निस्केको थियो ।

    टोलीमा मेयर टीकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी, पर्यटन शाखाप्रमुख झरेन्द्र खरेल र तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी लगायत संलग्न थिए ।

    पर्यटन शाखाका प्रमुख खरेलले केही सञ्चालकहरूलाई फोन सम्पर्क गरी आफूहरू अनुगमनमा आउन लागेको सूचना दिएका थिए ।

    अनुगमन टोली सबैभन्दा पहिला वडा नम्बर ८, बटोलपुरमा रहेको ‘थारू होमस्टे’ मा पुगेको थियो । 
    त्यहाँ होमस्टे रहेको कुनै संकेत थिएन । उपमहानर कार्यालयले उपलब्ध गराएको होमस्टे नम्बर पनि थिएन । थारू होमस्टेको कुनै पनि संकेत नदेखिएपछि अनुगमन टोली ‘बटोलपुर होमस्टे’ खोज्दै बटोलपुर गाउँको पुछारसम्म पुगेको थियो ।

    खोजी गर्दै जाँदा ‘बटोलपुर होमस्टे’ सञ्चालक समितिका कार्यवाहक अध्यक्ष ५२ वर्षीय महेन्द्र चौधरी भेटिए  ।

    उनले होमस्टेमा पाहुनाका नआएको सातमहिना पूरा भएको बताए । उनका अनुसार बटोलपुर होमस्टे अन्तर्गत पाँचवटा होमस्टेहरूको एउटा समूह थियो ।
    उनले भने, ‘अहिले यहाँका पाँचवटै होमस्टे बन्द छन, चलेका छैनन । पाहुना बस्ने कोठामा मुसाले डेरा गरेको छ ।’

    मेयर खड्का र प्रमुख प्रशासकीय अधिकृत डाँगीले पाहुना बस्ने कोठा हेर्ने चाहना राखे । महेन्द्रले स्थानीयवासी ५० वर्षीया देउकुमारी चौधरीले चलाएको होमस्टेमा पु¥याए । देउकुमारीको होमस्टे निकै राम्रो मानिन्थ्यो ।

    मेयरसहितको टोली देखेपछि देउकुमारी छक्क परिन । मेयरले आफू आउनुको उद्देश्य बताए ।

    ‘तपाईंहरूले हेर्न लायक केही पनि छैन,’ देउकुमारीले यथार्थ अवस्था जानकारी गराइन, ‘पाहुना नआएपछि ओढ्ने–ओछ्याउने सबै बाँधेर कुटुरो पारी कुनामा राखेका छौं ।’

    पाहुनाका राख्न सजाइएका कोठामा घरायसी सामग्री असरल्ल थिए । ती कोठामा परिवारकै सदस्यहरू सुत्ने गरेको उनले बताइन ।

    उनका अनुसार उपमहानगर कार्यालयले उपलब्ध गराएका सिरकडसना केही पोको पारेर कुनामा थन्काइएका छन् त केही परिवारकै सदस्यहरूले प्रयोग गरेका छन ।

    आफूले होम होमस्टे खोलेको भए पनि बास बस्ने गरी कहिल्यै पाहुना नआएको उनले बताइन । सुरुको एक–डेढ वर्षसम्म दिउँसो चियाखाजा खाने पाहुना फाटफुट आए पनि बिस्तारै त्यो पनि ठप्प भयो ।

    ‘कोही पनि पाहुना नआएपछि कतिदिन घर कोठा त्यतिकै खाली छोड्ने,’ उनले भनिन, ‘हामी खेत किसानी गर्ने मान्छेलाई अन्नपात र सरसामान राख्न कोठा चाहिन्छ ।’

    पाहुना आउने आशामा कोठा सफा गरेर खाली छोड्ने गरे पनि मुसाले घर बनाउन थालेपछि ओढ्नेओछ्याउने पोको पारेर थन्क्याउनु परेको उनले बताइन ।

    उनले भनिन, ‘होमस्टे चाहियो, बस्न आउनुप¥यो भनेर कतैबाट पनि फोन आउँदैन । होमस्टे त नामको मात्रै भएको छ । अब त कसैले फोन नगरे हुन्थ्यो ।’

    उनका अनुसार बटोलपुर थारू होमस्टेमा कुल पाँच युनिट छन । एक पटकमा दसजनासम्म पाहुना बास बस्न मिल्ने सुविधा भए पनि हालसम्म रात बिताउने गरी पाहुना आएका छैनन ।

    उपमहानगरले यहाँका हरेक होमस्टकोलागि ओड्ने–ओछ्याउने दिएको थियो ।

    अनुगमन टोली बटोलपुरबाट वडा नम्बर ७, पर्सेनीको ‘कुमाल गाउँ होमस्टे’ पुग्यो । यहाँको अवस्था पनि बटोलपुरको भन्दा फरक थिएन । होमस्टे रहेको कुनै संकेत थिएन ।

    होमस्टे सञ्चालकहरूमा कुनै उत्साह थिएन । होमस्टे खोलेका ५२ वर्षीय तिखे कुमाल निराश थिए । उनले भने, ‘पाहुना नआएपछि कोठा खाली राख्न सकिँदैन । फाइदा हुँदैन भने होमस्टे भनेर मात्र भएन ।’

    उनका अनुसार सुरुको करिब दुईवर्ष कुमाल गाउँका होमस्टेमा पाहुनाको राम्रै चहलपहल थियो, तर बिस्तरै हरायो ।

    उनले होमस्टे चलाउनुका केही व्यवाहारिक कठिनाइ अनुभव गरेको पनि बताए ।

    ‘आफू बस्ने घरमै पाहुना राख्नु अलिक अप्ठेरो रहेछ,’ तिखेले भने, ‘श्रीमती र जवान छोरी भएका घरमा कोही पाहुना मनपरी छाडा बोल्ने र कसैले (रक्सी) खाएर नराम्रो व्यवहार देखाउने भएपछि अप्ठ्यारो हुँदो रहेछ ।’

    कुमाल गाउँबाट मेयरसहितको अनुगमन टोली त्यही वडाको शान्ति उद्यान पुगेको थियो । यहाँ सञ्चालित ‘राप्ती शान्ति सामुदायिक होमस्टे’ बन्द भएको छ ।

    होमस्टे समितिका अध्यक्ष लगायत केही पदाधिकारीहरूलाई फोन गरेर अनुगमनमा आउन लागेको खबर गरेपनि उनीहरूले बेवास्ता गरेका थिए । त्यहाँ अनुगमन टोलीले होमस्टे सञ्चालक समितिका कसैलाई पनि भेटेन ।
    ‘राप्ती शान्ति सामुदायिक होमस्टे’ सञ्चालक समितिका उपाध्यक्ष ढुण्डिराज पराजुलीले आफ्नो ठाउँका सबै होमस्टे बन्द भइसकेको बताए ।

    उनले होमस्टे सञ्चालनमा केही व्यावहारिक कठिनाइ रहेको पनि बताए ।

    ‘पाहुना रमाइलो गर्न आउने हुन् । मादक पदार्थ सेवन गर्न र नाचगान गर्न चाहन्छन । होहल्ला पनि गर्न खोज्छन । होमस्टे भनेपछि घरमै राख्नुप¥यो, तर घरपरिवारमा नकारात्मक प्रभाव पर्ने देखियो,’ उनले भने, ‘होमस्टेको अवधारणा राम्रो भए पनि केही गतिविधि घरपरिवार र सामुदायलाई पाच्य नभएपछि सेवा बन्द गर्नुपर्ने अवस्था आयो ।’

    वडा नम्बर ४ को पहाडी क्षेत्रमा रहेको ‘मूलकोट चमेरे गुफा सामुदायिक होमस्टे’ पनि बन्द भएको छ ।

    सुरुमा पाहुनाको चहलपहल भए पनि हाल त्यहाँका होमस्टे बन्द छन । बाटो राम्रो नहुनु र असुरक्षा जस्ता कारणले पाहुनाको रुचि नदेखिएको स्थानीयवासीको भनाइ छ ।

    यहाँका होमस्टेलाई उपमहाननगरले अनुदान उपलब्ध गराएको थियो । ‘छाया नेपाल’ नामको संस्थाले होमस्टे चलाएका पाँच परिवारलाई एकएक थान फ्रिज (रेफ्रिजरेटर) पनि दिएको थियो । लुम्बिनी प्रदेश सरकारले पनि आर्थिक सहयोग गरेको थियो । 

    आर्थिक वर्ष २०७७÷७८ मा संघीय सरकारको अनुदानमा ‘मूलकोट चमेरे गुफा सामुदायिक होमस्टे भवन’ निर्माण गरिएको छ, तर प्रयोगमा छैन । त्यसमा विगत तीन वर्षदेखि ताला लागेको छ ।

    भवन निर्माणको काम २०७७ फागुनमा पूरा भए पनि हालसम्म सञ्चालनमा आउन नसकेको स्थानीयवासी द्रोणबहादुर पुनले बताए । होमस्टे सञ्चालनका लागि सरकारका कुनै पनि निकायले खास चासो नदिएको उनको गुनासो छ ।

    अनुगमन टोली मूलकोटबाट वडा नम्बर ३ धामास्थित ‘भैरव नरसिंह सामुदायिक होमस्टे’ पुगेको थियो । त्यहाँका सञ्चालकहरू भने केही उत्साहित देखिन्थे ।

    धामा दाङको तुलसीपुर र सल्यानको कपुरकोट गाउँपालिकाको सीमाना जोडिएको क्षेत्र हो ।

    सञ्चालक समितिका अध्यक्ष ५० वर्षीय लालबहादुर पुनका अनुसार त्यहाँ पाहुनाहरू आउजाउ गरिरहन्छन । पाहुनाको चाहनाअनुसार परिकार खुवाउने र स्थानीय कला संस्कृति देखाउने गरिएको छ ।

    मगर समुदायको बसोबास रहेको धामामा प्रदेश सरकारको अनुदानमा रोधीघर बनेको छ, तर बजेट अभावले पूरा हुन सकेको छैन ।

    यहाँ पाहुनाले शाकाहार, मांसाहार सहित टिमुरको अचार, सिस्नो, ढिँडो लगायत स्थानीय परिकार खान पाउँछन ।

    पाहुना आउने गरेका भए पनि समुदायले अपेक्षा गरेअनुरूप होमस्टे चल्न र फाइदा हुन नसकेको लालबहादुरको भनाइ छ ।

    उनी भन्छन, ‘सधैं होइन, फाटफुट रूपमा पाहुना आउनुहुन्छ । पाहुना आइरहने हुँदा मात्र राम्रो तयारी र व्यवस्थापन गर्न सकिन्छ । अहिले त कामचलाउ मात्र भएको छ ।’

    धामापछि अनुगमन टोली बिजौरी क्षेत्र हुँदै अर्को पहाडी क्षेत्र छिल्लीकोटमा रहेको होमस्टे अवलोकनका लागि पुग्यो ।

    वडा नम्बर १० छिल्लीकोटको ‘मल्ला गिरी होमस्टे’ मा व्यवसाय सन्तोषजनक देखियो । तुलसीपुरका अन्य ६ ठाउँमा सञ्चालित होमस्टेको तुलनामा छिल्लीकोट पाहुनाको रोजाइमा परेको देखियो ।

    छिल्लीकोट भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्यले भरपूर छ । पहाडी सुन्दरता र दाङ उपत्यकाका फाँट अवलोकन गर्न पाइन्छ ।

    पाहुनाले ढिंडो र सिस्नोका परिकार, लोकल कुखुराको मासु, अन्य स्थानीय परिकार र फलफूल खान पाउँछन ।

    स्थानीयवासी रमेशघर्ती भन्छन, ‘पाहुनाले फरक स्वादका परिकार खान पाउँछन । सुन्दर र शान्त ठाउँमा रमाउन पाउँछन । छिल्लीकोटको वातावरण नै सबैलाई मोहनी लगाउने खालको छ ।’

    छिल्लीकोटका बाहेक अन्य ठाउँका होमस्टे सञ्चालकहरूमा कुनै उत्साह थिएन । उनीहरू धेरैको गुनासो साझा थियो– सरकारले आवश्यक आर्थिक सहयोग गरेन, प्रचारप्रसारमा ध्यान दिएन, तालिमको व्यवस्था छैन ।

    उपमहानगरका पर्यटन शाखाप्रमुख खरेल राज्यले नीतिगत सहयोग गर्ने र सञ्चालनको जिम्मेवारी सञ्चालककै हुने बताउँछन ।

    तुलसीपुर उपमहानगरपालिकाले २०७६ पुसमा ‘होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि’ पारित गरेको थियो । सोही कार्र्यावधि अनुसार ६ ठाउँका होमस्टेकालागि अनुदान सहयोग गरेको थियो ।

    उपमहानगरका सञ्चालक समितिको काम, कर्तव्य र अधिकारको व्यवस्था छ । नियमित अनुगमन गर्ने, स्थानीय भ्रमण प्याकेज बनाउने, स्थानीय भ्रमण म्याप बनाउने लगायतको जिम्मेवारी तोकिएको छ ।

    नेपाली कांग्रेसका स्थानीय एक नेताले तुलसीपुर उमहानगरले लहडका भरमा होमस्टे खोल्न उक्साएको आरोप लगाए ।

    उनले भने, ‘पहिलेका मेयरले एमाले निकटका मान्छेलाई होमस्टे खोल्न लगाए । राजनीतिक फाइदा सोचेर हचुवाका भरमा गरेको काम सफल भएन ।’

    तुलसीपुरमा पूर्ववर्ती मेयर र हालका मेयर दुबै नेकपा एमालेबाट विजयी भएका थिए ।

    पर्यटन शाखाका प्रमुख खरेलका अनुसार होमस्टेको अनुगमनपछि उनले प्रतिवेदन तयार पारेका छन । प्रतिवेदन अब हुने कार्यपालिका बैठकमा पेस हुनेछ ।

    होमस्टे प्रभावकारी रूपमा सञ्चालन हुन नसक्नुका कारणबारे सञ्चालकका धारणा समेटेर आफूले प्रतिवेदन तयार पारेको उनले बताए ।

    स्रोत:सेतोपाटी

     


    नारायण खड्का
    लेखकबाट थप