• ट्रेण्डिङ्ग :
साउदीमा नेपाली रोजगारदाता : अकामा नबन्दा तनावमा

साउदीमा नेपाली रोजगारदाता : अकामा नबन्दा तनावमा


  • 2.0K
    SHARES
    • श्रावण २५, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 3.0K Views

    साउदीमा नेपाली रोजगारदाता : अकामा नबन्दा तनावमा

     घनुषाका महम्मद कलाम अन्सारी १८ महिनाअघि रोजगारीका लागि साउदी अरब पुगे । अन्सारी एड्भान्स ह्युमन रिसोर्स प्रालिमार्फत आकर्षक तलबको प्रलोभनमा परी त्यहाँ पुगेका थिए ।

    images

    नेपालबाट साउदी पुगेको चार महिनासम्म कम्पनीले अकामा बनाइदिएन । चार महिना काम गरेको तलब पनि नदिएपछि उनी तनावमा थिए । ऋण काढेर दलाललाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनले कम्पनीले श्रम शोषण मात्र गर्ने अकामा पनि नबनाइदिने भएपछि कम्पनी छाडे । अकामा र तलब नदिएपछि उनी भागेर कुनै एक रोजगारदाताकामा काम गर्न थाले । तर, साउदीमा भागेर अर्को रोजगारदाताकामा बिनाआवासीय अनुमत्रपत्र (भिसा) काम गर्न पाइँदैन । कुनै कारणबस साउदी प्रहरीले पक्राउ गरी जेल हाल्छ भन्ने कुरा बुझेपछि उनी अब नेपाल कसरी जानु भन्ने चिन्तामा थिए ।

    नेपाल जानका लागि नेपाली दूतावास रियादका कर्मचारी महम्मद उमामाको सम्पर्कमा पुगेपछि उमामाले विशालकुमार श्रेष्ठलाई सम्पर्क गराइदिए र सोहीबमोजिम एक्जिट (बहिर्गमन) भिसाका लागि आवश्यक कागजात लिएर त्यहाँको बुरैदास्थित लेवर कोर्टमा गए । लेवर कोर्टमा सबै कागजात बुझाएर उनी एक्जिट भिसाको पर्खाइमा बसे । बल्लतल्ल एक्जिट भिसा लाग्यो र उनी २ अगस्ट तारिखका दिन नेपाल फर्किए ।

    यस्तै, चितवनका दिनेश सुनुवार पनि कम्पनीले अकमा नवीकरण नगरिदिएपछि साउदीमै अलपत्र परे । उनी १२ वर्षदेखि बोन क्याकेमा कम्पनीमा काम गर्दै आएका थिए ।

    पछिल्लो ३ वर्षदेखि उनलाई कम्पनीले अकामा नवीकरण नगरी काम लगाएर श्रम शोषण गरेको थियो । उनलाई केही महिनादेखि मासिक तलब सुविधा पनि नदिएपछि गत महिना ११ जुलाईमा श्रेष्ठको सम्पर्कमा पुगे ।

    त्यसपछि उनलाई श्रेष्ठ र अली उर्सिन मियाँको सहकार्यमा बहिर्गमन भिसाका लागि आवश्यक पर्ने कागजात अनैजा लेवर कोर्टमा पुगेर पेस गरियो । उनले पनि एक्जिट भिसा प्राप्त गरी १ अगष्टमा नेपाल फर्किएको गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति अलकासिम साउदी अरबका सचिव सिद्धिलाल श्रेष्ठले जानकारी दिए ।

    उनीहरू त प्रतिनिधि पात्र मात्र हुन् । रोजगारदाता कम्पनीहरूले अकामा नबनाइदिने र करारबमोजिम तलब सुविधा नदिने प्रवृत्ति बढ्दै गएको छ । जसले गर्दा विदेशमा श्रम गर्न पुगेका नेपाली दाजुभाइलाई बाहिर हिँडडुल गर्न समस्या हुने गरेको छ । यस्ता घटनालाई कम गर्न नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली दाजुभाइलाई कम्पनीले आफूले पाउने सुविधाबाट वञ्चित गरेमा तुरुन्त श्रमिक अदालतमा उजुरी गरी कानुनी बाटो समाती आफ्नो अधिकार लिन अनुरोध गरेको छ ।

    पछिल्लो समय साउदी पुगेर हजारौं नेपाली कामदारले नेपालमा गरिएको सम्झौतानुसारको तलब नपाउने र पाए पनि समयमा नपाउँदा कम्पनी छाडेर गैरकानुनी तरिकाले काम गर्नेक्रम बढेको छ । यसरी गैरकानुनी तरिकाले काम गर्दा त्यहाँको प्रहरीले पक्राउ गर्ने र केही समय जेल बसेर मात्र नेपाल फर्किन पाउनेछन् । यो समाचार राजधानी दैनिकमा छ ।


    तेस्रो आँखा