गौरी पढाइ मा नीकै अब्बल, मेहनती र हेर्दा नीकै राम्री थिइन । उनी सधैँ स्कूलमा प्रथम हुन्थिन् । पढाइ सँगै उनी खेलकुदमा पनि निकै अगाडि थिइन् । हामीहरू हाफ छुट्टीमा विद्यालय को प्राङ्गण मा कबड्डी, भलिबल, छुनिचोर, खुट्टा नाघ्ने खेल्थ्यौँ । उनी क्लासको मनिटरका साथै टिचरहरुको प्रिय छात्रा पनि थिइन्।
गाउँमा माओवादीको बिगबिगी बढ्दो थियो । एकातिर माओवादीले आर्मी पुलिसको मान्छे भनेर दुःख दिन्थे भने अर्को तिर आर्मी पुलिसले माओवादी भनेर दुःख दिन्थे । त्यति बेला राजाका विरुद्ध बोल्न पाइँदैनथ्यो । आर्मी पुलिसले गलत गर्दा गलत गरेउ भन्न पाइँदैन थियो । आर्मी पुलिसले जो कोहीलाई समातेर मार्यो भने त्यो माओवादी थियो भनिदिन्थ्यो ।
एक दिनको कुरा हो , स्कूलमा परीक्षाको रिजल्ट निस्किने दिन थियो । श्रीमान गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति .. राष्ट्रिय गानपछि परीक्षाको रिजल्ट सुनेर हामीहरू आ–आफ्नो घर तिर लागेउ । गौरी पनि निकै खुसी हुँदै घर गइन् । उनको घर स्कूल पछाडीको सुकुम्बासी बस्ती मा थियो । सुकुम्बासी बस्ती पछाडी खेतको ठूलो फाँट अनि पारीपट्टी आर्मी बेस्क्याम्प ।
त्यही दिन गौरी खेतमा बाख्रा चराउन गइन् । केही आर्मी जवानहरुले गौरीलाई जिस्क्याए , गौरी केही नभनी चुपचाप सुनिरहिन र त्यहाँबाट घर आइन् ।
रातको समय बस्तीका सबै सुतिरहेका थिए , गौरीको घरको ढोका बजिरहेको थियो । गौरीका बुवाले सोधे ‘को हो ?’
बाहिरबाट आवाज आयो ‘आर्मी, यहाँ माओवादी लुकेको आशंका छ । ढोका खोल्नुहोस् ।’
गौरीका बुवाले ढोका खोले । ढोका खोल्ना साथ गौरीको आमा बाबुलाई कन्चटमा बन्दुक तेर्स्याएर हल्ला गरेउ भने माओवादी भनेर मारिदिन्छु भन्दै रक्सीमा उन्मत्त दुई आर्मी जवानले भने ।
त्यो रात गौरी दुई जना आर्मी जवानद्वारा बलात्कृत भइन् ।
गौरी रातभरि रोइ रहिन्, उनका आमा बाबु उनलाई सम्झाए , यो कुरा कसैलाई नभनेस भन्दै । तर गौरीको मनले त्यो मान्न सकेन । एकाबिहानै गौरी आर्मी बेसक्याम्प पुगिन् र आफूलाई आर्मीको जवानले बलात्कार गरेको भनिन । आर्मी का जर्नेलले सोधे, ‘कसले गर्यो बलात्कार ?’
गौरीले दुई जवानलाई इंकित गर्दै भनिन् ‘उनीहरूले’
जर्नेलले ती जवानहरुलाई हप्काए । र हातमा अलिकति पैसा थमाउँदै अबदेखि यस्तो गल्ती दोहोरिने छैन तिमी जाऊ भन्दै गौरीलाई घर पठाए । गौरी लाचार भएर घर फर्किन ।
राति फेरि घरको ढोकामा कसैले ढकढक्यायो । गौरीका बाबुले डराएको भावले सोधे ‘को हो यति राति ?’
बाहिरबाट आवाज आयो, ‘हामी आर्मी हौ, ढोका खोल्नुहोस् ।’
गौरीका बाबुले चुप चाप ढोका खोले , आर्मीका ती दुई जवानले गौरीको कन्सिरीमा बन्दुक राख्दै भने, ‘तैंले हाम्रो सिकायत गर्ने ? अबदेखि बाहिर हाम्रो बारेमा केही बोलिस भने तेरो टाउकोमा बन्दुक चलाउँछु ।’ गौरीले लाचार हुँदै टाउको हल्लाएर ‘भन्दिन’ भन्ने संकेत दिइन् ।
ती दुई युवक बाहिर ढोकामा उभिए, आर्मीका जर्नेल (गौरीलाई बिहान अबदेखि यस्तो हुनेछैन भनेर सम्झाएर पठाएका थिए ) भित्र पसे र गौरीलाई बलात्कार गरे । गौरी चिच्याई रहिन् तर उनको चित्कार सुनेर पनि कसैले नसुने जस्तो भयो । ‘अब आइन्दा कसैलाई यो बारेमा भने देखि माओवादी हौ भनेर पुरै परिवार नै मारिने छौ’ भन्दै उनीहरू बेस क्याम्प फर्किए।
रातभरि गौरी र गौरीका आमा बुवा रोहिरहे , बिहान भएपछि गौरीले हतार हतार आमाको अल्मारीबाट रातो सारी निकालिन र त्यसैमा पासो लगाएर आफ्नो देह त्याग गरिन् । गौरीका आमा बुवा गौरीको मृत्युलाई मुकदर्शक बनेर हेरिरहे ।
भोलिपल्ट चारैतिर यो खबर बतास जस्तै फैलिसकेको थियो । तर यसको विरुद्धमा बोल्ने हिम्मत भने कसैले गर्न सकेनन । बिस्तारै सबैले गौरीलाई बिर्सिंदै गए ।
राजतन्त्र को अन्त्यपछि देशमा सामन्ती शासनको अन्त्य भयो तर गौरी जस्ता चेलीहरु माथिको शोषणको अझै अन्त्य हुन सकेन । गौरी को कथा अझै अन्त्य भएको छैन । कथा सधैं दोहोरी रहेको छ कहिले निर्मला बनेर त कहिले सम्झना बनेर ।
सेलिना सापकोटा (सैलु)
