वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष अब्दुल खालिक सिद्दिकीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष सिद्दिकीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
मैले चनताहरुलाई चुनावको समयमा गरेको बाचा भन्दा पनि धेरै काम गरिसकेको छु । मैले चुनावको समयमा मुख्य गरि वडाबासीहरुलाई १० वटा काम आफ्नो कार्यकालमा सम्पन्न गर्छु भनेको थिएँ । तर मैले त्यो १० वटा काम एक वर्षमा सम्पन्न गर्न सफल भएँ । अहिले थप पाँचवटा काम सक्ने तयारीमा छु । मेरो वडामा खानेपानीको एकदमै समस्या थियो, हामी निर्वाचित भएर आएसँगै पानीको समस्या समाधान भएको छ । वडामा रहेका विद्यालयमा कक्षा बृद्धि गर्नुका साथै वडाले आफ्नै एम्बुलेन्स सञ्चालन गरेको छ । बाटो कालोपत्रे गर्नेलगायतका कामहरु सम्पन्न भईसकेका छन भने वडाबासीको आवश्यकता तथा समस्यालाई हेरेर उहाँहरुको मागअनुसार अन्य कामहरु गर्दै आएका छौं ।
२- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
मेरो वडामा यस्तो खालको गुनासोहरु छैन । तपाईहरु आफै पनि मेरो वडामा आएर यस विषयमा वडासदस्यहरुसँग बुझ्न सक्नुहुन्छ । मैले हरेक काम गर्दा आफुसँगै सबै वडा सदस्यहरुलाई डोऱ्याएर हिडेको छु । मैले सदस्यहरुलाई अगाडी सारेर काम गर्दैगर्दा मेरो वडाबासीहरुले पनि वडा सदस्यको महत्व अहिले आएर बुझ्नु भएको छ । हामी हाम्रो कार्यकालको मध्यममा पुग्न लागेका छौं । यो अवधिसम्म मैले टोलको अवस्था हेरेर त्यहीअनुसार बजेट वडा सदस्यहरुलाई बाँडफाँड गरेर त्यो टोलको विकास गर्ने जिम्मा सदस्यहरुलाई दिएको छु । मैले आफुले आफ्नो टोल भन्दा वडा सदस्यहरु रहेको टोलको विकास गर्न तर्फ अग्रसर छु । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माणमा वडा सदस्यहरुको कुरालाई मध्येनगर गरेर बजेट दिँदै आएको अवस्था छ ।
३- वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?
वडाको समग्र समृद्धिकालागि वडाको नाका क्षेत्रमा बाटो पिच गर्ने योजना छ । हुन त यो वडा सरकार भन्दा माथि राष्ट्रियस्तरको योजना हो । तर राष्ट्रियस्तरबाट यसको काम हुन सकेको छैन । यो कुरा त सबै जनताहरुले सहशुस गर्न सक्नुहुन्छ । किनभने अहिले नाका क्षेत्रहरुमा बाटो पिच नहुँदा नेपालगञ्जबाट चन्द्रौटा आउनकोलागि १६० किलो मिटर भन्दा बढी दुरी पार गर्नुपर्ने हुन्छ । तर त्यही नेपालगञ्जबाट हाम्रो कोइलाबासको सिमाना भएर आउँने हो भने जम्मा ८३ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । सबै सिमा नाकामा बाटो पिच भयो भने त्यो ठाउँको पनि विकास हुन्छ । सबैलाई यात्रा गर्न सहज र छिटो हुन्छ, यहाँको व्यवसाय पनि फस्टाउँदै जान्छ । त्यस कारण मैले मेरो वडाको नाका क्षेत्रको बाटो पीच गर्न सके भने म आफैले आफैलाई सफल वडाध्यक्ष भएको ठान्ने छु ।
४- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?
जनप्रतिनिधिहरु जनताहरुको जनगुनासो सुन्नको लागि नै आउनुपर्छ । जनप्रतिनिधिहरु जनताहरुको जनगुनासो सुन्नकोलागि आफ्नो कान उघारो बनाउनु पर्छ भने मन शान्त गर्नुपर्ने हुन्छ । जनताहरु पनि पक्ष, विपक्षमा हुनुहुन्छ । हामीले जे काम गरेपनि पक्षमा भएकोले वाहा(वाहा गर्छन भने विपक्षले जति नै हामीले राम्रो काम गरेपनि उहाँहरुले प्रसंशा गर्नुहुँदैन । तर हामी जनप्रतिनिधिहरु जनताहरुको नोकर हो, जनताहरुको हरेक गुनासोहरुको जवाफ दिने क्षमता राख्नु पर्छ । जनताहरुले भनेको काम गर्न सकेन भने माफी माग्न सक्नुपर्छ । मैले जनताहरुको जनगुनासोहरु धेरै सुन्ने र उहाँहरुको गुनासोहरु सुनेर काम गर्दै आएको छु । काम गर्दै गर्दा पनि जनताहरुबाट विभिन्न किसिमका प्रश्न अथवा रोकावटहरु आईरहन्छन । केही समय अगाडी नै मैले वडाको बाटो कालोपत्रेको काम गर्दै थिएँ । विपक्षबाट आएर बाटो चौडा गराउनु पर्छ, राजश्वको ढुकुटी नास गर्न पाइदैन भन्ने कुरा आयो । मैले बाटो पीच भएमा एम्बुलेन्स सञ्चालन गर्न सहज हुन्छ, अहिले यहीबाटो पीच गर्न आवश्यक छ भनेर सम्झाएँ । यस्तो खालको प्रश्नको जवाफ समेत दिनु पर्ने हुन्छ र मैले दिँदै आएको छु ।
५- पहिले कोइलाबास बजार जुन अवस्थामा थियो, त्यो लयमा फर्काउनकोलागि वडाकार्यालयले केही पहल गरेको छ कि छैन् ?
कोइलाबास बजार सुक्नुमा हाम्रा पुर्खाहरुको गल्ती देख्छु मैले । पहिले कोइलाबास बजार निश्चित समयमा मात्रै खोलिन्थ्यो । यहाँबाट सामान खरिद गर्नकोलागि रोल्पा, रुकुम, सल्यान लगायत टाढा टाढाबाट ग्राहकहरु आउँनुहुन्थ्यो । त्यो बेला सवारी साधनहरु थिएनन । हिडेर कोइलाबास नुन, तेल बेच्न आउँनुपर्दथ्यो । अहिले नुन, तेल लगायतका सामान आफ्नै ठाउँमा पाउन थालेपछि ग्राहक यहाँ आउँने कुरा हुँदैन । पहिले कोइलाबास आउनकोलागि सहज बाटो नभएकै कारण कोइलाबास बजार पनि सुक्दै गयो । त्यस कारण पहिलेका हाम्रा पुर्खाहरु र यस क्षेत्रका नेताहरुले कोइलाबास आउनकोलागि बाटो बनाई दिएको भए, यहाँका पसलहरु फुट्करबाट होलसेलको रुपमा परिणत गरिदिएको भएँ कोइलाबास बजार अहिलेको अवस्थामा परिणत हुने थिएन । कुनै ठाउँको विकास भएन भने त्यहाँको व्यवसाय पनि सुक्दै जान्छ ।
कोइलाबासले इतिहास त बोक्यो अब पुरानै लयमा फर्काउन सकिदैन । त्यसकारण अब कोइलाबासलाई पर्यटनको रुपमा विकास गर्न सकिन्छ । किनभने भारतका १० देखि १५ करोड मान्छे यहाँबाट प्रभावित हुन्छन् । कोइलाबास प्राकृतिक रुपमा पनि सुन्दर भएकाले पर्यटकहरुलाई यहाँसम्म ल्याउने र यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नतर्फ हामी सबै लाग्नु पर्छ । यदि कोइलाबासलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकियो भने यहाँको आयस्रोत बढ्न सक्छ । एक बोतल पानी किने वाफत पनि हामीले सरकारलाई कर तिर्नु पर्छ । एउटा पर्यटक हामी कहाँ आएर एक बोतल पानी किने पनि हाम्रै देशमा आउँछ । त्यस कारण पनि मैले वडाबाट पर्यटन पर्वद्धनको क्षेत्रमा र भौतिक पुर्वाधारको क्षेत्रमा धेरै लगानी गरेको छु ।
