काठमाडौं, १२ फागुन। प्रतिनिधि सभा बैठक आज बस्दैछ। बैठकमा एमसीसी सम्झाैतामाथि छलफल सुरू हुँदैछ। आइतबार बसेकाे संसद बैठकमा एमसीसी सम्झाैतामाथि टेबल भइसकेकाे छ ।
एमालेकाे अराेधकाबीच संसदमा एमसीसीमाथि टेबल भएपनि छलफल भने हुन सकेन बरू आज बस्ने गरी बैठक स्थगित भयाे। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसरी भएपनि एमसीसी संसदबाट पास गराउने पक्षमा छन्। उनले सबै दलहरूसँग सहयाेगकाे लागि पहल समेत गरिरहेका छन्। दलहरूकाे समर्थन भने अझै जुट्न सकेकाे छैन ।
एमसीसी पास गर्न सामान्य बहुमत चाहिने भएपनि दलहरूकाे आ-आफ्नै अडानका कारण एमसीसीका विषयमा कति समर्थन जुट्छ एकिन गर्ने अवस्था छैन् ।
कांग्रेस र लाेसपाकाे निर्देशन
एमसीसीकाे नेपाली कांग्रेसले आज बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन्। उनकाअनुसार आजको संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।
प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका ६३ जना सांसद छन्। तीमध्ये दुईजना निलम्बित छन्। सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसीको पक्षमा मतदान गर्ने बताएकाे छ। लोसपाले आजको संसद बैठकमा आफ्ना सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। प्रतिनिधिसभामा लोसपाका १३ जना सांसद छन्।
नेकपा एमालेकाे आफ्नै अडान
नेकपा एमालेले आफ्नै अडानमा छ। आफूमाथि अन्याय भएकाे भन्दै बताउँदै आएकाे एमालले आफ्नाे माग पूरा नभएसम्म एमसीसीका विषयमा विपक्षमा उभिने जनाएकाे छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीले कारवाही गरेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेसम्म एमसीसीको प्रक्रियामै भाग नलिने बताएको छ।
एमालेका महासचिव शंकर पोखरेलले संसदको अवरोध कायमै राख्ने बताउँदै आफ्नो माग पूरा नभएसम्म संसदीय प्रक्रियामै भाग नलिने बताएका छन्।
माओवादी र एकीकृत समाजवादी विपक्षमा
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन्। माओवादी केन्द्रको स्थायी समिति बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ।
यस्तै, एकीकृत समाजवादी पार्टीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। समाजवादीको सचिवालय बैठकले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।
जसपाले भोलि निर्णय गर्ने
जनता समाजवादी पार्टीले एमसीसीबारे औपचारिक धारणा भाेलि राख्ने बताएकाे छ। पार्टीभित्र अध्यक्ष उपेन्द्र यादवले प्रचण्डलाई साथ दिएका छन् भने बाबुराम भट्टराई एमसीसी पास हुनुपर्ने पक्षमा छन्। तर पार्टीगत धारणा भने हालसम्म सार्वजनिक भएकाे छैन। पार्टीभित्रबाटै दुई मत आएपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा बनाउन कार्याकारिणी समितिको बैठक डाकिएको बताइएकाे छ।
पूनम डिसी
