वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले शान्तिनगरगाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गोमान बहादुर वलीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष वलीसँग तेस्रो आँखाकी सह-सम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
मैले चुनावको समयमा जनताहरुलाई पुरा गर्न नसक्ने बाँचाहरु गरेको थिएन । तर जति बाचा गरेको थिए, त्यही अनुसार अहिले निस्पक्ष रुपमा काम गर्दै आएको छु । कसैलाई पनि भेदभाव नगरेर सामाजिक काम गर्छु भनेको थिए, त्यो काम भई रहेको छ, मैले यो मेरो मान्छे, त्यो फलानोको मान्छे भनेर कहिले पक्षपात गरेको छैन् । विकासका कामहरु गर्दा पनि जनताहरुको सल्लाहा अनुसार काम गरिरहेको छु, कति काम सम्पन्न भईसकेका छन्, कति काम गरिरहेका छौं । तर बजेटको अभावका कारण पनि भनेको समयमा सबै काम पुरा हुन नसकेको अवस्था छ । हामी निर्वाचित भएर आएसँगै बस्ती खोलाका केही भागका शाखा कुलो निर्माण गरेका छौं, भने सिंचाईबाट बजेट मागेर मेन कुलो बनाउने काम भईरहेको छ । त्यसैगरी बहुला खोला र पाट्टेटाकुरा खोलामा तटबन्ध बनाउने काम जारी राखेका छौं । कटान क्षेत्रहरुमा तटबन्ध गरिरहेका छौं । विकासको काम सकिने भन्ने कुरा हुँदैन, एक ठाउँमा बनायो फेरी अर्को ठाउँमा बनाउने भईहाल्छ । तर हामी निरन्तर लागि रहेका छौं ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?
मैले वडाबाट हुने हरेक गतिविधिहरुमा वडा सदस्यहरुलाई सहभागी गराउने गरेको छु । प्रत्येक काम गर्दा प्रत्येक पटक वडासदस्यहरुसँग छलफल गरेर, उहाँहरुबाट निर्णय गराएर, सदस्यहरुलाई नै पहिलो प्राथमिकता दिएर उहाँहरुलाई नै परिचालन गरेर काम गर्दै आएको छु । वडासदस्यहरुको सरसल्लाहाबाट काम गर्ने भएकाले यस्तो खालको गुनासो छैन जस्तो लाग्छ । मैले हरेक काम गर्दा आफु भन्दा धेरै वडासदस्यहरुलाई अग्रसर गराउने गरेको छु ।
३-वडाको समग्र समृद्धिकालागि तपाईका भावि योजनाहरु के छन् ?
भावि योजनाहरुमा बस्ती खोला, हात्तिखालमा ड्याम निर्माण गर्ने मेरो सोच छ । त्यसकोलागि मैले बृहत सिंचाई योजनामा पनि धाउने काम गरिराछु, अहिलेसम्म बजेट पर्न सकेको छैन् । तर बजेट माग गर्दै आएको छु । त्यहाँ ड्याम बन्यो भने कृषकहरुलाई प्रसस्त रुपमा पानी दिन पाएहुन्थ्यो भन्ने मेरो सोचाई छ । त्यसैगरी गिधनिया, खड्कपुरमा खानेपानीको समस्या थियो । अहिले खानेपानी मार्फत ओभरहेड ट्याँकी बनाएर गिधनीयाँमा पानी वितरण भईसकेको छ भने खड्कपुरमा खानेपानी नभएको गाउँ थियो, त्यहाँ ओभरहेड ट्याँकी बनाएर दशै अगाडी नै त्यहाँका जनताहरुलाई पानी खुवाउने लक्ष्यका साथ काम गरिरहेका छौं ।
४-तपाईको वडामा बाटोको समस्या पनि छ, सडक सुधारलगायत शिक्षा स्वास्थ्यको क्षेत्रमा के कस्ता काम भएका छन् ?
हाम्रो वडामा बाटोको समस्या छ । त्यसैले हामीले जनताहरुको मागअनुसार सबै बाटोमा ग्राभेल गरेका छौं । केहि बाटोमा लोलर लगाएर रोलिँग गरेको अवस्था पनि छ । कुनै बाटाहरु बजेटहरु अभावका कारण पुर्णता दिन सकेका छैनौ । हामीले गब्दहवादेखि शान्तिपुरको दुईवटा बाटोहरुमा रोलिँग लगाएका छौं । रानीवनदेखि भलानेटी जानेबाटोको काम पनि आधा भएको छ, केही काम भई रहेका छन् । जुम्लेकुला खैरेनी बाटोमा सडक पीच गर्ने कामलाई यो वर्ष पनि निरन्तरता दिने छौ । चौपारीदेखि पोटली सडकको केही भाग पीच गरेका छौं, केही भाग ग्राभेल गरेका छौैं, संगै नाला बनाउने काम भई रहेको छ । चिराघाटदेखि खड्कपुरको बाटोको केही भाग पीच गरेर केही भागबाटोमा ग्राभेलको काम गरेका छौ । यद्यपी बजेट अभावका कारण सबै कामहर समयमै सम्पन्न गर्न सकेका छौनौ, तर पनि बजेटले भ्याएसम्मको काम गरिरहेका छौं ।
शिक्षा तर्फ हामीले शान्तिपुर बुद्ध उच्च माविमा निम्न स्तरका कापी, कलम पनि जुटाउन नसक्ने स्थिती भएका, अभिभावकहरु वेपत्ता भएका, विद्यार्थीहरुलाई पहिचान गरेर उक्त विद्यालयसंग सहकार्य गरेर झोला, स्कुल पोशाक, कापी किताब वितरण गर्दै आएका छौं । त्यसैगरी खड्कपुर र गिधनियालाई मध्यनजर गरेर गिधनियाँमा शिशु कक्षा सञ्चालन गर्नको लागि भवन बनाएका छौं । पालिकासँग छलफल गरेर शिशु कक्षा सञ्चालन गर्ने तयारीमा छौं । त्यसैगरी स्वास्थ्य तर्फ पनि राम्रो नै गरेका छौं । वडामा रहेको स्वास्थ्य चौकीमा केही औषधि अभाव भएको खण्डमा वडाबाट बजेट छुट्याएर औषधिहरु परिपुर्ति गर्ने काम गरिरहेका छौं ।
५-जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले जनताहरुको जनगुनासो कत्तिको सुन्नु हुन्छ ?
हामी समक्ष जनताहरुको ठुला गुनोसा त आएका छैनन् । जनताहरुले हामीलाई किन कर तिराएका होलान कस्ता कुराहरु आउँछन् हामीले उहाँहरुलाई सम्झाउने काम गर्छौ । जनताबाट आएको रकम जनताहरुको बस्तीहरुमा लगानी गरेर विकासको काम गरिरहेका छौं भनेर बुझाउनु पर्छ । र जनताहरुबाट आउँने हरेक गुनासोहरु सुन्ने र सम्बोधन गर्ने काम गरिरहेका छौं ।
