वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले दंगीशरण गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रोशनजंग शाहसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष शाहसँग तेस्रो आँखाकी सह-सम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामी निर्वाचित भएर आएसंगै जनताहरुकालागि काम गर्नु हाम्रो कर्तव्य हो । र हामीले वडाबाट हुने जनताको कामलाई निरन्तरता दिईरहेका छौं । मैले चुनावको समयमा जेष्ठ नागरिकलाई टोलटोल गएर भत्ता वितरण गर्छु भनेका थिएँ । अहिले टोल टोलबाट भत्ता वितरण गर्न नसकेपनि वडाको दुई स्थानबाट भत्ता वितरणको काम गर्दै आएका छौं । त्यसैगरी मैले खानेपानीकोलागि पनि बाचा गरेको थिएँ । अहिले राजपुर, पर्सडुवा, थपगाउँमा खानेपानीको काम सकिएर पनि जनताहरुले सहज रुपमा पानी खाईरहनु भएको छ । बागरमा पानी ट्याँकी नबने पनि त्यहाँका जनताहरुलाई पानीको व्यवस्था गरेका छौं । त्यसका साथै विस्तारै भौतिक निमार्णको काम पनि हुँदैछन् । हिजो म चुनावमा होमिदै गर्दा जुन किसिमले काम गर्नुपर्छ भन्ने सोचेको थिएँ, तर आर्थिक अभावले गर्दा उल्लेखनिय रुपमा काम हुन सकेको छैन् । त्यसका बाबजुद वडाको तल्लो भेगमा स्वास्थ्य क्लिनिक स्थापना गर्छौं भनेका थियौँ, अहिले त्यहाँ भौतिक निर्माणको काम सकिएको छ । एकजना कर्मचारीको व्यवस्थापन गर्न बाँकी छ । कर्मचारीको व्यवस्थापन भएमा क्लिनिक सञ्चालन हुन्छ । अझै पनि हामीले गर्नुपर्ने थुप्रै कामहरु छन् । मुख्य काम भनेको वडाका बाटाहरु बनाउनु पर्ने छ । ति बाटाहरु पुर्ण रुपले बनाउन सकिएको छैन् । तर हामी हाम्रो कार्यकालमा लगभग बाँकी कामहरु पुरा गर्छौँ भनेर लागेका छौं । त्यस्तै वडामा मैले हेल्प डेस्क राख्छु भनेको थिएँ । मैले त्यसलाई पुर्णता दिन सकेको छैन् । सिमित बजेटमा असिमित काम गर्नुपर्ने भएकाले सोचेअनुसार काम गर्न सकिएको छैन् । हाम्रो वडालाई खप्टामुक्त बनाउछौं भनेका थियौँ । त्यो काम पूर्ण रुपले गर्न नसके पनि यो वर्षदेखि सुरु गरेका छौं ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?
मेरो वडामा त्यस्तो खालको गुनासोहरु छैन जस्तो लाग्छ । किनभने कहिले काहीँ मलाई अन्त जाने काम परेको खण्डमा समेत कार्यवहाकको जिम्मेवारी दिँदा वडासदस्यहरुले बस्नै मान्नु हुँदैन । यसबाट पनि मैले वडाको हरेक काम गर्दा वडासदस्यहरुलाई सहभागी गराए या गराएको छैन् भन्ने कुरा थाहा हुन्छ । वडाबाट हुने हरेक कामहरुमा मैले वडा सदस्यहरुलाई नै बढी जिम्मेवारी दिने गरेको छु । वडाको काम वडासदस्यहरुले नै अहिलेसम्म गर्दै आउनु भएको छ । कुनै पनि काम गर्दा उपभोक्ता समिति गठन गर्नेदेखि अनुगमन गर्ने, बजेटको फाडफाड गर्ने, सूचना दिने सबै कामहरु वडासदस्यहरुले गर्दै आउनु भएको छ । मलाई मेरा वडासदस्य साथीहरुले धेरै नै सहयोग गर्दै आउनु भएको छ । त्यसैले पनि मेरा वडामा त्यस्तो खालको समस्या छैन् ।
३-वडाको समग्र समृद्धिकालागि तपाईका भावि योजनाहरु के छन् ?
भावि योजना भन्दा पनि मैले पहिले जुन योजना कोरेर ल्याएको थिएँ, त्यही योजना अम्मल गर्दैछु । यो भन्दा फरक भावि योजनाहरु छैन् । हामीले खानपानीको ट्याँकी बनाउन सकेका छैनौं । स्कुलको अधिकार वडामा नभएकाले अभिभावकहरुलाई छोराछोरी पढाउन समस्या छ । महिला दिदी बहिनीहरुलाई तालिक दिएर आम्दानीमा जोड्ने कुराहरु छ । गएको दुईवर्षमा ४० जना दिदी बहिनीहरुलाई ब्युटिसियनको तालिम दिएका छौं । करिब ४० जनाले कटाई, सिलाई सिक्नु भएको छ । यो वर्ष उहाँहरुलाई थप एडभान्स तालिम दिएर व्यवसायमा संलग्न गराउने योजना छ । वडाको सहयोगमा अपाँगता भएका केही व्यक्तिहरुले आफै रोजीरोटी गरिरहनु भएको छ । अहिलेसम्म म यही काममा लागीरहेको छु । यो सँगै भावि योजनामा वडाका प्रत्येक नागरिकहरुले आम्दानी गर्नु पर्छ, आफै समृद्ध हुनु पर्छ भन्ने मेरो र मेरो टीमको लक्ष्य छ । त्यही अनुरुप हामी अगाडी बढेकाछौं । भौतिक पूर्वाधार सँगसंगै मानविय विकासलाई पनि अघि बढाउनु पर्छ भन्ने उदेश्यका साथ कार्यक्रम बनाउँदै जाने हाम्रो भावि योजना छ ।
४- जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीको जनगुनासो कत्तिको सुन्नुहुन्छ ?
मैले जनताहरुको जनगुनासो सुन्ने र उहाँहरुको गुनासो सम्बोधन हुने खालको कामहरु पनि गर्दै आएको छु । वडामा हुने सार्वजनिक सुनुवाइमा जनगुनासो सुन्ने कुरा त छँदै छ, त्यस बाहेक म सबैसँग सहज रुपमा घुलमिल हुने मान्छे भएकाले पनि जनताहरुले मलाई भेटेर नै यसो भएन, त्यसो भएन भनेर गुनासो गर्ने र सुझाव दिने काम गर्नुहुन्छ । मेरो माग पनि यही छ । जनताहरुले जनप्रतिनिधिहरुलाई घचघच्याई रहनुपर्छ । कतिपय कामहरु यस्ले सुनेन, टेरेन भन्ने हुँदैन । हामीले धेरै ठाउँको धेरै काम गर्नुपर्ने भएकाले उहाँहरुले हामीलाई समय-समयमा घचघच्याई रहनुपर्छ । जनताहरुको कामकोलागि हामी आएको हौं । उहाँहरुको गुनासो हामीले सुन्ने र जनताहरुले हामीलाई गुनासो गर्न पाउनुपर्ने अधिकार पनि हो । हामी कतै विमुख हुन लाग्यौं भने तपाईहरुले भन्नु पर्छ भनेर मैले जनताहरुलाई बारम्बार भन्दै आएको छु । त्यसकारण मैले गुनासोहरु सुन्दै आएको हुन्छु । कतिपय गुनासोहरु सम्बोधन गर्न सकिन्छ, कतिपय गुनासो हामीले सम्बोधन गर्न नसक्ने भएकाले पालिका, प्रदेश सरकार र संघिय सरकारबाट पहल गर्ने कुरामा लागी रहेका हुन्छौं ।
५- सन २०३० सम्मा दिगो विकासका लक्ष्य प्राप्त गरिसक्नुपर्ने समय सिमा छ, त्यसको निम्ति तपाईहरुको तयारी के कस्तो छ नी ?
दिगो विकासको लक्ष्य प्राप्त गर्नकोलागि सबै भन्दा पहिला मानव विकास नै चाहिन्छ जस्तो मलाई लाग्छ । हामीले जति भौतिक विकासहरु अगाडि सारेका हुन्छौं, त्यहीअनुसार मानव विकासलाई पनि अघि बढाउँदा राम्रो हुन्छ । हामीले पनि दिगो विकासको लक्ष्यहरू पुरा गर्न लागेका छौं, कोशिस गरिरहेका छौं । तर हरेक कुरा आर्थिकमा जोडिने भएकाले आर्थिक अभावले गर्दा केही समस्या पार्छकी भन्ने छ । तर दंगीशरण गाउँपालिका लगायत पालिकासँग जोडिनु भएका विभिन्न संघसंस्थाहरुले कार्यक्रम बनाएर त्यही किसिमको नीति निर्माणमा सघाई राख्नु भएको छ । हामी आफै पनि लागी परेका छौं, र जनताहरुलाई पनि साथै लगेका छौं, जनताहरुको साथ भयो भने दिगो विकासका लक्ष्य प्राप्त गर्न सक्छौं भन्ने लागेको छ । सम्भवः हामीले निर्धारित समयमा दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न सक्छौं ।
