वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले शान्तिनगरगाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष शेरबहादुर भण्डारीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष भण्डारीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामी निर्वाचित भएर आएसंगै जनताहरुसँग गरेका बाचाअनुसार नै काम गरिरहेका छौं । मैले चुनावको समयमा आफ्नै वडामा खेल मैदान बनाउँछु भनेको थिएँ, अहिले गिधनियाँमा खेल मैदान व्यवस्थित गर्ने काम भईरहेको छ । अर्को कुरा चिलहरिया, गिधनियाँ र पहाडीपुर खानेपानीको आयोजनामा ओभरहेड ट्याँकी मात्रै बनेर अन्य काम अलपत्र अवस्थामा थियो । म आइसकेपछि प्रदेश सरकारसँग पहल गरी द्रुत गतिमा काम अगाडि बढेको छ । दशैं आसपासमा काम सम्पन्न गर्ने योजना छ । यो योजना सम्पन्न भएमा वडा नं। ६ का सबै टोलमा खानेपानी पुग्छ । यो पनि मैले चुनावको समयमा जनताहरुसँग गरेका बाचाभित्रै पर्छ । त्यसैगरी मैले वडामा सुत्केरी महिलाहरुका लागि पोषण भत्ता कार्यक्रम लागू गर्छु भनेको थिएँ । अहिले वडाबाट एकजना सुत्केरी बराबर तीन हजार रुपैंया पोषण भत्ता दिंदै आएका छौं । त्यसका साथै वडामा दुइवटासम्म जलासय निर्माण गर्ने योजना छ । बजेटको समस्याले गर्दा त्यो काम अगाडि बढ्न सकेको छैन । तर बजेट व्यवस्थापनकोलागि कुरा भईरहेको छ । अन्य स-साना विकास निर्माणका कामहरु निरन्तर भईरहेका छन् ।
२-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?
मैले अहिलेसम्म सबै वडासदस्यहरुलाई मिलाएर लगेको छु । त्यसकारण पनि यस्तो खालको गुनासो वडासदस्यहरुबाट छैन जस्तो लाग्छ । वडाबाट हुने हरेक गतिविधि गर्दा वडासदस्यहरुलाई सहभागि गराउनुपर्छ भन्ने कुरामा म गम्भीर छु । म पनि जनताबाट चुनिएर आएको हुँ र वडासदस्यहरु पनि जनताबाटै चुनिएर आउनु भएको हो । जनताहरुको सेवा गर्छु भनेर जनताबाट निर्वाचित भएर आईसकेपछि हाम्रो उद्देश्य पनि एउटै छ । विकास निर्माणसंगै जनताहरुको सेवा गर्ने हाम्रो मूख्य उद्देश्य हो । हाम्रो पालिकामा भएका वडा मध्ये मेरो बुझाइमा अध्यक्ष र वडासदस्यहरुमा राम्रो सहकार्य भएको मेरो वडा नै छ जस्तो लाग्छ ।
३-तपाईको वडामा केहीबाटोहरु आधा पीच भएर आधा बाटो ग्राभेल मात्रै छ, समग्र वडाको बाटो सुधारकालागि दिर्घकालिन योजना के छ ?
गर्न त वडाको विकासकोलागि सबै कामहरु गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर सबै कुरा आर्थिक मै आएर रोकिन्छ । थोरै बजेट हुन्छ, तर त्यो बजेट वडाका सबैगाउँलाई चाहिएको हुन्छ । कसैलाई कल्भट चाहिएको हुन्छ, कसैले नालाकोलागि बजेट माग्नुहुन्छ, उहाँहरुले मागेको योजनाहरु वडासमितिले सिफारिस गरेर गाउँपालिकामा पठाउने हो । तर थोरै बजेटमा जनताहरु चाहनाअनुसार एक ठाउँमा काम गर्दा अर्को ठाउँको बाटो विग्रिने अवस्था छ । यो हाम्रो मात्रै समस्या नभएर देशभरीकै समस्या हो । त्यहि पनि हामीले बाटो बनाउनकोलागि बैसा तिल्वारी सडक कालोपत्रेको काम यो वर्ष सम्पन्न गर्ने तयारीमा छौं । पहाडीपुर गिधनियाँ सडक बनाउनकालागि प्रदेश मन्त्रालयमा बजेट माग गरेका छौं । प्रदेश सरकारबाट बजेट आएमा काम सुरु गर्ने योजना छ । सुनडबरीदेखि काशीपुर जोड्ने बाटो पीच गर्नकालागि पनि बजेट माग गरेका छौं । वडाको बाटो गुणस्तरिय बनाउनकोलागि वडाको बजेटले नपुग्ने भएकाले पनि समस्या भएको हो । तर हामीले वडाका बाटोहरुलाई दिर्घकालिन रुपमा राम्रो बनाउनकोलागि पहल गरिरहेकाले बजेट पर्छकी भन्नेमा आशाबादी छौं । गत वर्ष बैसा तिल्वारी सडक करिब डेढ किलोमिटर कालोपत्रे भयो । अहिले २ करोड ७०,८० लाखको काम हुँदैछ । यो वर्ष उक्त बाटो कालोपत्रे हुन्छ । अहिले पहाडीपुर वडाकार्यालय गिधनीयाँ जोड्ने बाटो लंगेहवा, सुनडबरी हुँदै काशीपुर जोड्ने बाटो सम्भवत हाम्रै कार्यकालमा पीच गर्नुपर्छ भनेर लागि रहेका छौं ।
४- तपाईहरु निर्वाचित भएर आएसंगै शिक्षा, स्वास्थ्य तर्फ के कस्ता कामहरु गर्नु भएको छ ?
स्वास्थ्य तर्फको काम वडा कार्यालयले नै गर्नु पर्छ भन्ने हुँदैन । यो गाउँपालिका मार्फत हुन्छन् । तर गाउँपालिकाको एम्बुलेन्स जिर्ण अवस्थामा थियो हामी आएपछि त्यसलाई मर्मत गरि सञ्चालन गरेका छौ । शिक्षाको हकमा अहिले सरकारी विद्यालय प्रति अभिभावक, विद्यार्थीहरुको चासो कम छ । अलि विपन्न वर्गका केटाकेटीहरु मात्रै सरकारी विद्यालयमा पढ्ने गर्नुहुन्छ । त्यसका निमित्त हाम्रो वडामा रहेका विद्यालयका शिक्षकहरुलाई आफ्नो दायित्व सम्झेर राम्रो काम गर्नुहोस् भनेर सम्झाउने, प्रोत्साहान गर्ने काम गरिरहेका छौं । अर्को कुरा विद्यार्थीहरुलाई पनि वडाबाट पोसाक वितरण गर्ने काम भईरहेको छ ।
५-जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले जनताहरुको जनगुनासो कत्तिको सुन्नु हुन्छ ?
जनताहरुको गुनासोहरु सुन्ने हाम्रो कर्तव्य नै हो । हामी जनताहरुले आशा गर्ने ठाउँमा भएकाले स्वभाविक रुपमा हामीबाट उहाँहरुले आशा गर्नुहुन्छ । हामीले उहाँहरुले भनेअनुसारको काम गर्न नसकेपछि उहाँहरुले गुनासो गर्नु स्वभाविक हो । सकभर जनताहरुको गुनासोहरु सम्बोधन गर्नुपर्छ, उहाँहरुको गुनासो हल गर्ने माध्यम के हो, ति कुराहरलाई पत्ता लगाएर जनताहरुको गुनासो सम्बोधन गर्ने काम गर्दै आएका छौं ।
