• ट्रेण्डिङ्ग :
कविता : यहाँ एउटा गाउँ थियो

कविता : यहाँ एउटा गाउँ थियो


  • 13.9K
    SHARES
    • फाल्गुण १४, २०७८ शनिबार
    • ४ बर्षs अघि
    • 21.4K Views

    कविता : यहाँ एउटा गाउँ थियो

    बलौटाको बगरमा

    images

    धेरैबेर हिँडेपछि

    पसिनाले निथ्रुक्क शरीर

    लुगाहरू छालासँग एकात्म भएका

    मानौं वर्षाका जलराशीले

    नवयौवनालाई नुहाइदिँदोछ 

     

    लामो समयपछि आज आफू जन्मेको ठाउँको

    आफू हुर्केको गाउँको

    अम्मलडम्मल खैरे पात खेल्दै रमाएको स्मृति पोल्टाभरि बोकेर

    त्यही पुरानो सुवास खोज्दै 

    भुडुलीको बासुगाउँतर्फ जाँदै छु

     

    अम्मलडम्मल खेल्ने कोही छैनन्

    छैन छुर खेल्ने चहुर

    खैरा पातहरू कुल्चदै

    कुल्चदै अनि कुल्चदै

     

    म बाँचेकै छु

    स–कुशल बाचिरहेकै छु

    मेरो गाउँको दुःखद स्मृतिहरूको

    आक्रमणको विरुद्ध प्रत्माक्रमण गर्ने आँट नभए पनि।।।

     

    बासुगाउँले आज जलसमाधि लिई सकेको छ

    भुडुलीको भू–कटाउले समाधिस्थ गरिसक्यो

    हाम्रो अति प्यारो

    प्राणप्यारो गाउँलाई

     

    अहिले बासुगाउँका वरिपरि बज्दैन शङ्ख 

    नामघर(१) मा बज्दैन दमाहा

    बिहू(२), ऐःनितम् (३), बागरुम्बा (४) या देउसी,

    नाउखेल (५), पालनाम (६) सबै नै विस्मृतिको गर्भमा

    नामघर–नाटघरादि चिरनिद्रामा मग्न छ्न्

    बिहे–बटुलाको बुढापाकाको बसेउनी

    भेलाघर (७) बनाइने लामो समयको प्रस्तुति

    आज केवल अतीत

    फगत अतीत

     

    हो, बासुगाउँ आज विस्मृतिको गर्भमा।।।

    भुडुलीको वक्षस्थलमा 

    एउटा दुखान्त इतिहास बोकेरै डुब्यो मेरो गाउँ।

     

    सूर्यास्त नहुँन्जेल एकोहोरो हेरिरहेँ

    हेरिनैरहेँ

    मेरो अतीतको चञ्चल गाउँतर्फ

    छैन, केही छैन

    छैनन्, कोही छैनन्

    केवल नदी

    दूर क्षीतिजसम्म लमतन्न छ नदी

    अतीत इतिहासका आँसु बगाउँदै

     

    भाओना (८) सभामा प्राणोदीप्त हुने

    मेरा ती गाउँलेहरू

    रतेलीमा रमाउने मेरा प्यारा दिदीहरू

    लिङ्गै पिङमा मच्चिने तरुणीहरू

    कोही त छैनन्

     

    सबै यत्रतत्र छरिए

    कोही भूमिहीन, कति बेघर

    कति गृहहारा

    अनि, आधासरो सर्वहारा।।।

     

    धेरै समयपछि एउटा लामो सुस्केरा फेर्छु

    आफ्नै सुस्केराले आफूसँगै कानेखुसी गर्छ

     

    “साइँला ! यहाँ एउटा गाउँ थियो।।।।”।

     

    पादटीकाः 

    (१) नामघरः असमेली जनसमूदायको एउटा सार्वजनिक स्थान। यहाँ भजन–कीर्तन, सभा–विचारादि बस्ने गर्दछ।

    (२) बिहुः असमेली जमातले मनाउने लोकोत्सव। हाम्रो तिहारपर्व सरहको।

    (३) ऐःनितम् : असमको एउटा प्रमुख जनजाति मिसिङहरूको जातीय चाड।

    (४) बागरुम्बाः बडो जनसमूदायको एउटा प्रमुख लोकोत्सव। 

    (५) नाउखेलः असमेली मुसलमानहरूको लोकोत्सव। 

    (६) पालनामः वङ्गाली समूदायको धार्मीक संकीर्तण।

    (७) भेलाघरः माघे सघ्रातीको समयमा असमेली प्रायजसो जाति(जनसमूदायले खेतको नलुवा, काँस(खर, बाँस आदि द्वारा खुला मैदानमा निर्माण गर्ने अस्थायी गृह जँहा सार्वजनीक रूपमा भोजन गरिन्छ र सघ्रातीका दिन झिसमिसै भेलाघरलाई दहन गरिन्छ।

    (८) भाओनाः महाभारत(रामायण आदिका कथा(उपकथालाई छोटो रूप दिएर असमीया अथवा व्रजावली भाषामा लेखिएका नाटकहरू असमेली नामघरादिमा मञ्चायन हुन्छन। सम्पूर्ण धार्मीक र आध्यात्मिक परिवेशमा परिवेशित हुने इनै नाट(नाटिकालाई असमीयामा भाओना भनिन्छ। हाम्रो समाजमा प्रदर्शीत हुने पौराणिक नाटक सरह हो।


    अञ्जन बाँस्काेटा
    लेखकबाट थप