• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष धर्मराज ओली)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष धर्मराज ओली)


  • 6.0K
    SHARES
    • आश्विन १६, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 9.2K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का वडाध्यक्ष धर्मराज ओली)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष धर्मराज ओलीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष ओलीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हामी अहिले जनताहरुलाई चुनावको समयमा बाचा गरेअनुसारको कामहरु गर्दै आएका छौं । सबै बाचाअनुसारको काम सम्पन्न हुन सकेको छैन्, तर कामहरुलाई निरन्तरता दिइरहेका छौं  । हामीले शिक्षातर्फ टिकरी प्राविमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री, स्कुल ड्रेस नि:शुल्क गरेका छौं । यो चुनावमा जनताहरु समक्ष बोलेको कुरा हो । पूर्वाधारतर्फ बाटोको कुरालाई अगाडि सारेका थियौं । हामी आएसँगै अधिकाँश बाटोहरुमा कालोपत्रेको काम भई रहेको छ । वडाको विकास बजेटबाटै चारवटा बाटो कालोपत्रे गर्नकोलागि टेण्डर गर्दैछौं । स्वास्थ्यतर्फ हामी आएसँगै तीनवटा गाउँघर क्लिनिक सञ्चालन गरेका छौं । मेट्रो अस्पतालको स्तर उन्नित गर्ने काम भएको छ । खोप केन्द्रहरु सञ्चालन गरेका छौं । त्यसकारण स्वास्थ्यतर्फ हाम्रो वडामा राम्रो परिणाम आएको छ । हामी आउँदा वडा कार्यालय छाडा रुपमा थियो । हामी आएपछि वडा कार्यालय परिसरमा पर्खाल लगाउने काम अगाडि बढाएका छौं । पूर्वाधार तर्फ पुलहरु, कल्भटहरु बनाएका छौं । बाँध निर्माणको कामलाई अगाडि बढाएका छौं । कृषितर्फ किसानहरुलाई बेमौसमी खेतिकोलागि तालिमको व्यवस्था गरेका छौं । कृषकहरुकैलागि भनेर ससाना कुलाहरु एकडेढ लाखको बजेटमा निर्माण गरेका छौं । लक्षित कार्यक्रमतर्फ जेष्ठ नागरिक, महिला, दलित महिलाहरुकोलागि क्षमता अभिवृद्धि तालिक सञ्चालन गरेका छौं । त्यसैगरी ढकिया बनाउने बेसिक र एडभान्स तालिम सम्पन्न गरेका छौं । अहिलेसम्म जनताहरुलाई बाचा गरेका कामहरुलाई ध्यानमा राख्दै काम गर्दै आएका छौं ।  

    २-वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइँदैन भन्ने गुनासोहरु सुनिन्छ । तपाईको वडामा यस्तो छ कि छैन ?

    हाम्रो वडामा यस्तो खालको समस्या छैन् । वडा सदस्यहरुलाई वडाबाट हुने कार्यक्रमको जिम्मा दिने गरेका छौं । वडाबाट हुने कुनै पनि कामहरु गर्दा सामुहिक रुपमा बैठक बसेर कार्यान्वयनको चरणलाई अगाडि बढाउने काम गरेका छौं । त्यसका साथै म जिल्ला बाहिर जानु परेको खण्डमा मैले पालो अनुसार सबै वडा सदस्यहरुलाई कार्यवहाकको जिम्मेवारी दिने गरेको छु । त्यसकारण हाम्रो वडामा सदस्यहरुबाट कुनै गुनासो छैन् । सबै कामहरुमा सदस्यहरुलाई जिम्मेवारी दिन्छु । हरेक काममा उहाँहरुलाई नै अगाडी सारेर काम गर्दै आएको छु  । हामीले आफ्नो जिम्मेवारीको काम आफ्नै ढंगले गरेकाले पनि गुनासोहरु छैन् ।

    ३-वडाको समग्र समृद्धिकालागि तपाईका भावि योजनाहरु के छन् ?

    हाम्रो वडामा खेल मैदाको अभाव छ । खेल मैदान बनाउनकालागि भने जस्तो जग्गा प्राप्त गर्न नसकेकाले हामीले त्यो कामलाई अगाडि बढाउन सकेका छैनौं । तर हामीले आगामी वर्षमा वडामा खेल मैदान बनाउने सोच बनाएका छौं । त्यसैगरी वडामा सिंचाई तर्फका दुईवटा कुलाहरुका बाध बनायौं भने सबै कुलोमा बाध पक्की हुन्छ, त्यसैले यो कामलाई अगाडि बढाउने योजना छ । त्यसका साथै आगामी वर्षहरुमा जनता लक्षित कार्यक्रमलाई बढी प्राथमिकता दिने हामीले योजना बनाएका छौं ।  

    ४- जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीको जनगुनासो कत्तिको सुन्नुहुन्छ ?

    हामीले जनताहरुको जनगुनासोहरु सुन्दै आएका छौं । वडामा आएर उहाँहरुले गुनासो गर्नुहुन्छ, हामीले सुन्दै आएका छौं र उहाँको गुनासोहरुलाई सकेसम्म कार्यान्वयन पनि गर्दै आएका छौं । नसक्ने गुनासोहरुलाई हामीले यो पटक सकेनौं, अर्को वर्ष गरोला भनेर विश्वास दिलाउछौं । खासगरी हामीले जनताहरुको गुनासो सुन्नकैलागि आएका हौं । हामी समक्ष जनताहरुका गुनासो भन्दा पनि बाटो बनाउने तर्फ अपेक्षा धेरै छ । ससाना टुक्रे योजनाहरुको माग धेरै आउँछ । अझ बढी बाढी विपद्को बेला कुलानाला बिग्रेमा भत्केमा बनाइदिनुस् भन्ने जस्ता टुक्रे योजनाहरुको माग धेरै आउँछ । हामीले पनि जनताहरुको गुनासो र माग व्यवस्थापन गर्दै आएका छौं । 

    ५-सन २०३० सम्ममा दिगो विकासका लक्ष्य प्राप्त गरिसक्नुपर्ने समय सिमा छ, त्यसको निम्ति तपाईहरुको तयारी के कस्तो छ नी ?

    हामीले दिगो विकासका लक्ष्यहरु हासिल गर्नकालागि योजना प्लानिंगको कुरालाई अगाडि बढाएका छौं । हामीले साना योजना भन्दा पनि वडामा देखिने खालका, यहाँको समाज जनताहरुलाई भोलीका दिनमा प्रभाव पार्ने खालका विशेष महत्वकाँक्षी योजनाहरुलाई अघि सार्ने काम गरेका छौं । अहिले पनि हामी कहाँ आएको बजेटलाई टुक्रे नबनाएर देखिने खालका योजना गरौं भनेर टेण्डर प्रक्रिया अगाडी बढाउँदै छौं । अर्को तर्फ दिगो विकसको लक्ष्य प्राप्त गर्ने गरि स्वास्थ्य, शिक्षालगायत सबै क्षेत्रको काम अगाडी बढाएका छौं । शिक्षातर्फ हाम्रो वडाका अति विपन्न परिवारका पाँचजना बालिकाहरुलाई मेट्रो कलेजमा पढाउने व्यवस्था मिलाएका छौं ।


    तेस्रो आँखा