• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल)


  • 6.1K
    SHARES
    • आश्विन २२, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 9.4K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का वडाध्यक्ष घनश्याम ढकाल)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ का वडाध्यक्ष घनश्याम ढकालसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष ढकालसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हिजो हामीले चुनावमा जाँदै गर्दा हाम्रो वडामा खानेपानी, विद्यालय र बाटोको समस्या प्रमुख थियो । हामी आएसंगै सल्लीवन विद्यालय र मावि दोघरेको विद्यालयमा अत्याधुनिक भवन बनाउन सफल भएका छौं भने विद्यालयमा विषयगत शिक्षकहरुको दरबन्दी मिलान गर्न सफल भएका छौं । वडाको अधिकांश बाटोमा कालोपत्रे गर्ने, नाला बनाउने काम गर्छौ भनेका थियौं, अहिले पक्की नाला बनाउने काम सम्पन्न भएको छ भने सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ । प्रदेश सरकार र संघिय सरकारसँग समानिकरण कार्यक्रम अन्तरगत लुम्बिनी प्रदेशका निर्वतमान मूख्यमन्त्री डिल्ली बहादुर चौधरी मार्फत आएको बजेटबाट हाम्रो वडामा धेरै योजनाहरु अगाडि बढेका छन् ।

    त्यसैगरी कृषि र भेटेनरी महाशाखा हाम्रो आफ्नै वडामा र आफ्नै भवनमा स्थापना गर्न सफल भएका छौं । खानेपानीको क्षेत्रमा सहलगानीसँग सम्झौता गरेर फिल्टर ट्याँकी बनाउने काम ८० प्रतिशत सम्पन्न भएको छ । उपभोक्ताहरुलाई शुद्ध पानी खुवाउने काम अगाडि बढाएका छौं । सँगसंगै हाम्रै वडामा नवदुर्गा ग्रिनपार्क निर्माण भएको छ । आयस्रोत बढाउनकालागि र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नकोलागि गुम्बा निर्माणको काम पनि अगाडि बढाएका छौं । बौद्धमार्गीहरुको लामा बस्ने भवन पनि निर्माण भईरहेको अवस्था छ । त्यसैगरी वडामा रहेका विभिन्न  मठमन्दीरको पूर्वाधार, मठमन्दिर भएको क्षेत्रमा तारबार गर्ने, संरक्षण गर्ने कामहरु पनि भएका छन् । त्यस्तै कृषक प्रोडेशन कार्यक्रम पनि हामीले अगाडि बढाएका छौं । सँगसंगै जेष्ठ नागरिक, अपाँगताहरुलाई सम्मान गर्ने कार्यक्रम अगाडी बढाएका छौं । दलित लक्षित क्षमता विकास कार्यक्रम अगाडि बढाएका छौं भने बालबालिकाहरुको क्षमता विकासकालागि स्टेशनरी सामग्री वितरणदेखि लिएर खेलाडीहरुलाई पोटेशन गर्नकोलागि खेलकुद प्रतियोगितासम्मको बजेट बिनियोजन गरेर हाम्रो वडाका हरेक गतिविधिहरु अगाडि बढाई रहेको अवस्था छ । तर मैले चुनावको समयमा गरेको एउटा बाचा पुरा गर्न सकेको छैन् । आफुले चुनाव जितेमा संघीय र प्रदेश सरकारबाट च्यानल मिल्यो भने एलानी जग्गालाई लालपुर्जा उपलब्ध गराउन सक्छौं भनेका थियौं । तर अहिले सरकार फेरबदल भईरहने, स्थिर सरकार नभएको र पालिका तथा वडा सरकार फरक नेतृत्वमा भएका कारणले र वडालाई लालपुर्जा वितरण गर्ने अधिकार नभएकाले त्यो काम हामीले गर्न सकेका छैनौं । तर पहल गरिरहेका छौं । 

    २- पहिलो कार्यकाल सिकाई मै वित्यो भनिन्छ, तपाईको यो दोस्रो कार्यकाल हो । तर पनि जनअपेक्षा अनुसार काम भएन भन्ने गुनासो सुनिन्छ नी ?

    मानविय आवश्यकताहरु असिमित हुन्छन् । तर सिमित आवश्यकताहरु मात्रै परिपुर्ती गर्न सकिन्छ । त्यसमा पनि सम्भव भएका निश्चित आवश्यकताहरु मात्रैं परिपुर्ती गर्न सकिन्छ । तर असम्भव भएका मागहरुलाई हामीले पुरा गर्न सक्ने स्थिती हुँदैन् । हामीसँग जुन स्रोत साधन छ, त्यही भित्र रहेर गर्ने कामहरुमा हामी कहिकतै चुकेका छैनौं । हामीसँग भएको साधन स्रोतलाई अत्यन्त पारदर्शी तरिकाले परिचालन गरेर वडाको समग्र बृद्धि विकासकोलागि काम गरेको अवस्था छ ।    

    ३- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?

    जनाबाट निर्वाचित भएर आईसकेपछि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यहरुको काम कर्तव्य र अधिकार स्पष्ट संविधानमा व्यवस्था गरिएको छ । हामी वडाध्यक्ष भएर मेयरकै अधिकार माथि दावी गर्ने हो भने त्यो संविधान भन्दा बाहिर जान्छ । वडाध्यक्षको कामलाई वडासदस्यहरु आफै गर्न खोजेमा त्यो पनि संविधान विपरित हुन्छ । हामीले वडाबाट हुने हरेक क्रियाकलापमा वडासदस्यहरुलाई बन्चित गर्ने कुरा पनि हुँदैन् । वडासदस्यहरुको काम, कर्तव्य र अधिकार छ, त्यो क्षेत्रभित्र रहेर उहाँहरुले आफ्नो गतिविधि गर्नु पर्छ भन्ने हाम्रो स्पष्ट धारणा हो । तर मेरो वडामा त फरक पार्टीबाट नेतृत्वमा आएका छौं । म नेपाली काँग्रेसबाट आएको हुँ । वडासदस्यहरु चारैजना फरक पार्टीबाट आउनु भएको छ । पार्टीगत रुपमा मतभेद त हुन्छ नै । तर हामी जनप्रतिनिधि हुँदै गर्दा के बुझेनौ भने स्थानीय सरकारमा सत्तापक्ष र प्रतिपक्ष हुँदैन । जुनसुकै पार्टीबाट जितेपनि स्थानीय सरकार भनेको एउटै हो भन्ने किसिमको बुझाई हामीमा नभएकाले समस्या ल्याएको हो । तर संघ र प्रदेशमा स्पष्ट रुपमा सत्ता पक्ष र प्रतिपक्षको बेन्चको व्यवस्था छ । त्यहाँ त्यो कुरा लागू हुनु स्वभाविक हो, तर स्थानीय सरकारमा बहुमत र अल्पमतको व्यवहार गर्न खोजिनु दुर्भाग्य पूर्ण हो ।
     
    ४-  वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?

    हामीले गर्ने काममा जनताहरुलाई शिरमा राखेर रोजगारी, शिक्षा, खानेपानीको कुरा, पर्यटन विकासका कुरा, हामीले गर्ने तिनै हुन् । अझ गौरवको कुरा के छ भने वडा नं। ९ मा नगरपालिका कै गौरवको आयोजना अटोभिलेज स्थापना गर्न सफल भएका छौं । त्यति मात्रै होइन की अझै हामीले संघीय सरकार, प्रदेश सरकारसँग समन्वय गरेर पातुखोलामा आरसीसीवाल बहुवर्षीय योजनामा पार्न सफल भएर टिकरीदेखि लिएर श्रीकुलासम्मको क्रमागत योजनामा आरसिसि रिटिलिंग वालको काम भईरहेको छ । करिब ९ नं। वडाको भागमा रहेको काम सकिएको छ । सँगसंगै वडा नं। ५ र ९ बीचमा रहेको पातुखोलालाई गहिरो गराउन नदिनकोलागि चेक ड्याम्पको सिंचाई कार्यालयमा पहल गरेर पाँच ठाउँमा चेक ड्याम्प राख्न टेण्डर गरिसकिएको छ ।

    ५- जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासोहरु कत्तिको सुन्नुहुन्छ ?

    जनगुनासो भन्ने कुरा सहि एजेण्डा, सहि विषयवस्तु उठाएपछि त्यो सुन्नकैलागि हामी जनप्रतिनिधि भएर आएका हौं । तर रानीतिक आस्थाकै भरमा उठाउने जुन एजेण्डाहरु छन्, त्यो राजनीतिक भ्रमकै आधारमा सकारात्मक कुरालाई नकारात्मक प्रचार जुन गरिन्छ, त्यो एकदमै दुखद कुरा हो ।


    तेस्रो आँखा