तुलसीपुर २३ असोज । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित तरबारी, फलफुल तथा बजारमा चिस्यान केन्द्र (कोल्ड स्टोर) को बुधबार उद्घाटन गरिएको छ । युएसए आइडी र तयार नेपालको सहयोगमा ८ लाख लागतमा ५०० सय मेट्रिक टन क्षमता भएको मिनी चिस्यान केन्द्रको उद्घाटन गरिएको हो ।
तरकारी तथा फलफुल कृषि बजार व्यवस्थापनका अध्यक्ष माधव घिमिरेको अध्यक्षता तथा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यता एवं तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, उपमेयर स्यानी चौधरी, तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) को विशिष्ट आतिथ्यमा चिस्यान केन्द्रको उद्घाटन गरिएको थियो ।
चिस्यान केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले तरकारी बजारमा निर्माण गरिएको चिस्यान केन्द्रले बजार र उपभोक्ताहरुको मागलाई सन्तुलनमा राख्ने काम गर्ने बताउनु भयो । तरकारी र फलफुल बजार व्यवस्थापन गर्नु नै नगरको सौन्दर्यसँग जोडिएकाले चिस्यान केन्द्र बनेसँगै बजार व्यवस्थित गर्न उपमहानगरलाई अझ धेरै सफलता मिल्ने बताउनु भयो । उपमहानगरले विभिन्न किसिमका कामहरु अगाडी बढाइरहेको अवस्थामा तरकारी र फलफुल बजार व्यवस्थापन गर्नु भनेकै गाउँ सहरलाई जोड्ने माध्यम भएको बताउनुभयो । तरकारी र फलफुल बजारले सहरको पुँजी गाउँमा पुर्याउने काम गर्नुका साथै असमानतालाई सन्तुलनमा राख्ने महत्वपुर्ण काम गर्छ’ उहाँले भन्नुभयो ।
तरकारी बजारलाई यो क्षेत्रका उपभोक्ताहरुलाई केन्द्रित गरेर दैनिकरुपमा चाहिने तरकारी फलफुल किन्ने बजारको रुपमा विकास गर्नको लागि सबैले आआफ्नो तर्फबाट पहल गर्नुपर्ने बताउनुभयो । त्यसका साथै तुलसीपुर क्षेत्रबाट बाहिर जाने पुँजीलाई यही सदुपयोग गरेर रैथाले कृषि गर्ने किसानहरुलाई प्रोत्साहन गर्ने काम गर्न आवश्यक रहेको बताउनुभयो । किसानहरुको क्षमता बढेमा कोल्ड स्टोरलाई ठुलो क्षमतामा रुपान्तरण गर्न सकिने पनि उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर खड्काले सिजनमा बिक्रि हुन नसकेको किसान, व्यवसायीहरुका तरकारी, फलफुलहरुलाई संरक्षण गर्नको लागि कोल्ड स्टोर निर्माण गरेको बताउनुभयो । उहाँले निशुल्क रुपमा व्यवसायीले आफ्ना उत्पादनहरुलाई कोल्ड स्टोरमा सुरक्षित सक्ने बताउनुभयो । कोल्ड स्टोर निर्माण भएसँगै किसानहरुले उत्पादन गरेको तरकारी सकिएपछि महँगोमा बाहिरबाट तरकारी ल्याएर खानु नपर्ने उहाँको भनाई थियो ।
मेयर खड्काले तुलसीपुरलगायत कपुरकोट, पश्चिम दाङका किसानहरुले उत्पादन गरेको तरकारीलाई मध्यनजर गर्दै तुलसीपुरका ठुलो क्षमता भएको कोल्ड स्टोर बनाउन अभियानमा लागेको बताउनु भयो । जसका लागि १ करोडको बजेट व्यवस्थापन गरिएको उहाँको भनाई छ । साथै उहाँले अहिले निर्माण भएको मिनी कोल्ड स्टोरलाई व्यवसायीहरुले व्यापार प्रर्वद्र्धन गर्नको लागि भरपुर सदुपयोग गर्न आग्रह गर्नुभयो । त्यसका साथै स्थानीयले उत्पादन गर्ने गरेको विषदिरहित तरकारी खरिद विक्रि गरिदिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा उपमेयर स्यानी चौधरीले कसैलाई मर्का नपर्ने गरी कोल्ड स्टोर प्रयोग गर्न आग्रह गर्नुभयो । ‘बाहिर देशबाट आउने केमिल प्रयोग भएको विषादीयुक्त तरकारीलाई विस्थावित गर्न सबै आआफ्नो क्षेत्रबाट लाग्नु पर्छ, यहाँ उत्पादन भएको अर्गानिक खाने कुरामा जोड दिनु पर्छ, केमिकल प्रयोग गरेको खाना बेच्नु हुँदैन, स्थानीयले उत्पादन गरेको खानाले शरिर स्वास्थ राख्न मद्दत गर्छ’ उहाँले भन्नुभयो ।
त्यस्तै तुलसीपुर ६ का वडाध्यक्ष दुजमान भण्डारीले अबका दिनमा किसानले उत्पादन गरेको र चाँडै विग्रने खालको तरकारीहरु चिस्यान केन्द्रमा राख्न सहज भएको बताउनु भयो । चिस्यान केन्द्र सञ्चालनमा आएसँगै व्यवसायीहरुले नियमित रुपमा उत्पादन हुने खालका र तत्काल विग्रने तरकारी तथा फलफुल फाल्न नपर्ने बताउनु भयो । अहिले सञ्चालनमा रहेको तरकारी तथा फलफुल बजारको दिगोपन बनाउनका लागि सबैले सोच्नु पर्ने बताउनु भयो ।
साथै उहाँले तरकारी बजारलाई दिगोपन सडकपेटीमा बसेर तरकारी बेच्ने किसानहरुलाई भाडा तिर्न नपर्ने गरि यहाँ आएर व्यापार गर्न सक्ने वातावरण मिलाउन सकेमा बजारको गौरव बढ्ने बताउनुभयो । साथै उहाँले दसैँ लगत्तै बिहानको समयमा डोको, छिटुवामा तरकारी बेच्ने किसानहरुलाई यहाँ आएर व्यापार गर्ने वातावरण मिलाउन पहल गर्ने बताउनु भयो । नारायण प्रसाद भूसालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण झुपलाल खड्काले गर्नु भएको थियो ।
