तुलसीपुर, २ कात्तिक । दाङमा सर्प महोत्सव हुने भएको छ । हामी संरक्षणको लागि काम गर्छौं संस्थाले मानव र सर्पबीचको द्वन्द न्यूनीकरण, सर्पको बारेमा जनचेतना साथै सर्प संरक्षण गर्ने उद्देश्यले कात्तिक ८, ९ र १० गते महोत्सव सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
दाङमै पहिलो पटक हुन लागेको महोत्सवका संयोजक प्रभात भण्डारीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा महोत्सव आयोजना हुने बताउनु भयो । महोत्सवमा विभिन्न प्रजातिका सर्पहरुको प्रदर्शन गर्ने, विषालु र अविषालु सर्पलाई चिनाउने र सर्पको टोकेमा उपचार कसरी गर्ने भनी जानकारी दिइने भण्डारीले बताउनु भयो ।
तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा दाङमा पाइने विभिन्न प्रकारका विषालु र अविषालु सर्प प्रदर्शनी र तिनकाबारे जानकारी साथै उपचार विधि पनि सिकाइने संस्थाका अध्यक्ष सन्दीप वलीले बताउनुभयो । उक्त महोत्सवमा नेपालका सर्प विज्ञहरुको पनि सहभागिता रहने छ । मानिसले सर्प देख्ने वित्तिकै मार्ने भएकाले सर्प लोप हुने अवस्थामा रहेको बताउँदै सर्प लोप हुँदा पर्यावरणमा समेत असर पुग्ने वलीले बताउनुभयो ।
त्यस्तै उहाँले सर्पले डसेमा के गर्ने, कस्तो उपचार गर्ने, उपचारका लागि कहाँ लैजानेलगायतका विषयमा विज्ञ डाक्टरहरुद्वारा प्रशिक्षण दिइने बताउनु भयो ।
महोत्सवको सहआयोजकमा तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, हब्स नेपाल र वन कार्यालय रहेका छन् । महोत्सवमा आयोजकले तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण र शान्तिनगर गाउँपालिकाका करिब २० हजार बढी मानिसलाई सर्पबारे सचेतना प्रदान गर्ने लक्ष्य राखेको छ । महोत्सवमा सर्पसँगै अन्य वन्यजन्तुबारे पनि जानकारी दिइनेछ । दाङमा करिब १५ प्रजातिका सर्पमध्ये ७ प्रजातिका सर्पहरु विषालु भेटिएका छन् ।
संस्थाका उपाध्यक्ष वसन्त सुवेदीले स्वागत मन्तव्य राख्दै मानिसलाई सर्पले टोकेपछि त्यसको उपचारबारे जनचेतना नभएका कारण झारफुकतिर लाग्ने भएकाले बिरामीको ज्यान जाने गरेको बताउनु भयो । उहाँले महोत्सव सञ्चालन र सर्प संरक्षणबारे प्रष्ट पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाकी सचिव गरिमा डाँगीले गर्नुभएको थियो ।
उक्त महोत्सवमा दाङका विभिन्न विद्यालयबाट कक्षा ८,९ र १० का विद्यार्थीहरुलाई सहभागी गराइने आयोजकले जनाएको छ । साथै महोत्सवमा सहभागी भइ सर्पबारे जानकारी लिन सबैमा आग्रह गरिएको छ ।
