रोल्पा, ११ कात्तिक । परम्परागत रुपमा गोरुको प्रयोगबाट खेतबारी जोत्ने परम्परा पछिल्लो समय हट्दै गएको छ । आधुनिक प्रविधिको प्रयोगमा वृद्वि हुँदा ग्रामिण पहाडी भूभागका किसानहरुले समेत यसको प्रयोग गरी खेतबारी जोत्न थालेका हुन् ।
केहिवर्ष अघिसम्म गाउँघरका प्रायः सबै किसानका घरघरमा हल गोरु हुने गर्दथे । हरेक परिवारले हल गोरु पाल्ने र खेतीको समयमा गोरुले खेतबारी जोतेर अन्नबाली लगाउने गर्दथे । तर केहि पछिल्लो समय गाउँघरमा गोरु पाल्ने परम्परा क्रमशः कम हुँदै गएको छ। किसानहरुले गोरु पाल्न छाडेर गोरुको काम आधुनिक प्रविधिबाट गर्दै आएका छन् । बारीमा मकै, गहुँ, जौ, फापरलगायतका बाली लगाउन साथै खेतमा धान रोप्नका लागि खेत जोत्ने काम अहिले गोरुको सट्टामा हाते ट्याक्टर (मिनिटिलर) को प्रयोगबाट गर्दै आएका छन् ।
सुनिलस्मृति गाउँपालिका–७ तेवाङका साहिराम पुन केहि वर्षयता आफूले ट्याक्टरकै प्रयोगबाट खेतबारी जोत्दै आएको बताउनुभयो। “केहि समय अघिसम्म सबैले बारी जोत्नको लागि गोरुको प्रयोग गर्दथे तर पछिल्लो समय क्रमशः गोरु पाल्ने परम्परा हट्दै गएको छ”, उहाँले भन्नुभयो “अहिले गाउँमा प्रायः घरको घरमा गोरु छैन् बिस्तारै मानिसहरु गोरु पाल्न छोड्दै छन् ।” आधुनिक प्रविधिले गर्दा खेती गर्दा लाग्ने खर्चमा पनि कमि आएको पुनको भनाई छ ।
ट्याक्टरको प्रयोगले खेत तथा बारी जोत्दा छिटो र छरिटो हुने गरेको पुन बताउनुहुन्छ। “वर्षभरी गोरु पाल्यो, वर्ष भरी खुवायो, खेतीको समयमा मात्र हो गोरुको काम, गोरुको प्रयोगबाट बारी जोत्न पनि अत्यन्तै समय लाग्ने, बारीका कुनाकाप्चासम्म गोरुले जोत्न नसक्ने, पछि फेरी खेताला लगाएर कोदालोले खन्नुपर्ने, मिलाउनुपर्ने, डल्ला फुटाउनुपर्ने” उहाँले भन्नुभयो, “अहिले मिनीटिलरले जोत्दा निकै छिटो काम हुन्छ, कुनाकाप्चा सबै ठाउँमा भ्याउँछ, कोदालोको त कामै हुन्न, डल्ला फुटाउनुपर्ने झन्झट पनि हरायो, खर्चको हिसाबले पनि निकै सस्तो हुन्छ।”
अर्का किसान दिपक विष्टले देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवाहरु विदेशिएकाले गाउँ खाली जस्तै भएको र काम गर्ने युवा नै नभएपछि गोरु पाल्ने चलन पनि हराउँदै गएको बताउनुभयो । “घरमा काम गर्ने मान्छेनै छैनन्, गोरुलाई चराउने, घाँस पानी गर्ने कोही नभएपछि बिस्तारै गाउँका मान्छेले गोरु पाल्न छाड्नै गएका छन्” उहाँले भन्नुभयो, “मिनीटिलरले काम गर्दा निकै छिटो हुन्छ, समयको धेरै बचत हुन्छ, खर्च पनि कम हुन्छ, गोरुको प्रयोगबाट जोत्दा खर्च डबल हुन्छ।”
गोरुले जोतेको जमिनमा र मिनीटिलरले जोतेको जमिनमा उत्पादनमा भने केहि फरक हुने गरेको किसानहरुको अनुभव छ । प्रविधिले गर्दा जोत्ने काममा छिटो, छरितो र सहज भए पनि अन्नबाली उत्पादनमा भने फरक हुने गरेको किसानहरु बताउँछन् । गोरुले खेतबारी जोत्दा समय लागे पनि उत्पादन राम्रो हुने गरेको र मिनीटिलरले छिटो भए पनि उत्पादनमा केहि कमी आएको किसानहरु बताउछन् ।
अहिले किसानलाई मकै, धानबाली भित्र्याउने र बारी जोत्ने चटारो छ । बारी जोत्नका लागि गाउँका किसानहरुले मिनीटिलरको प्रयोग पनि गर्ने गरेका छन्, कसै–कसैका बारीमा हल गोरुले जोतेको देख्न सकिन्छ । प्रविधिको प्रयोगमा वृद्धि भैरहेको छ । यदि यस्तै रहने हो भने गाउँघरमा पनि क्रमशः गोरु पालेर हलोले खेतबारी जोत्ने परम्पराको अन्त्य नहोला भन्न सकिदैन् । युवाशक्ति गाउँमा नहुँदा गोरु पालन र गोरुले खेतबारी जोत्ने प्रचलन हराए जस्तै भएको स्थानीय बताउँछन् ।
भरत विश्वकर्मा
