काठमाडौं १४ कात्तिक । गृहमन्त्री रमेश लेखकले उपल्लो मुस्ताङको कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालयको उद्घाटन गर्नुभएको छ ।
बुधबार उहाँले चीनसँग सीमाना जोडिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका १, नेचुङमा पर्ने कोरला नाकाको दशगजा नजिक स्थापित अध्यागमन कार्यालय र सशस्त्र प्रहरी बलको (बिओपी) भवनको उद्घाटन गर्नुभएको हो ।
अध्यागमन कार्यालयको उद्घाटन भएसँगै कोरलामा अध्यागमन कार्यालय सञ्चालमा आएको छ । कार्यालय उद्घाटन गर्नुहुँदै गृहमन्त्री लेखकले चीनसँग सीमाना जोडिएको कोरला नाकामा सरकारले पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको बताउनुभयो ।
अध्यागमन कार्यालय संचालनमा आएसँगै सरकारले नाकालाई पूर्ण रुपमा संचालनमा ल्याउनका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अगाडी बढाइएको उहाँको भनाई थियो । सरकारले कालिगण्डकी कोरिडोर सडकलाई पूर्णता दिन र कोरला नाकामा पूर्वाधार निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।
कोरलामा अध्यागमन र सुरक्षा पोष्ट रहने भवनमा केन्द्रीय विद्युतीकरण गरिएको छ भने नेपाल टेलिकमको उच्च गतिको दइन्टरनेटसहित मोबाइल फोन सञ्चालनमा ल्याइएको छ । नाकामा चिनियाँ भन्सारको आमने–सामने निर्मित प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट भवन निर्माण गरिएको छ ।
समुद्र सतहदेखि चार हजार ६५० मिटर उचाइमा अवस्थित कोरोला नाकाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ । अध्यागमन कार्यालय स्थापना भएपछि सबै नेपालीले भिसा लिएर कोरला सीमा वारपार गर्न पाउने भएका छन् । यसअघि मुस्ताङका जनप्रतिनिधिहरुले नेपाल सरकारसँग अध्यागमन कार्यालय स्थापनाको माग गर्दै आएका थिए ।
