काठमाडौं, १५ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन्।
दसैँ र तिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा पुगेका हुन्। यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताउनु भयो ।
उहाँका अनुसार दसैँपछि अहिलेसम्म करिब तीन हजारले अन्नपूर्ण आधार शिविरको भ्रमण गरेका छन्। यो सिजनमा आन्तरिक सँगसँगै विदेशी पर्यटकसमेत उल्लेख्य मात्रामा आधार शिविरमा पुगेको गुरुङले जानकारी दिनुभयो ।
बुधबारदेखि शिविरमा आन्तरिक र विदेशी गरी करिब तीन सय पर्यटक रहेको उहाँले बताउनु भयो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको नर्थ आधार शिविरबाट यो हिमाल आरोहण गर्ने गरिएको छ।
