• ट्रेण्डिङ्ग :
कानुन

कानुन


  • 4.2K
    SHARES
    • कार्तिक १७, २०८१ शनिबार
    • १ बर्ष अघि
    • 6.5K Views

    कानुन

    कानुन तँ मेरो साथी, सबै भन्दा माथि
    निर्धाको सहारा, निमुखाको टेक्ने लाठी
    त्यो त सब भन्ने कुरा न रहेछ किनकी
    तँ बदलिएको रहेछस, तँ फेरिएको रहेछस
    तेरो त्यो बसाई, त्यो लवाई र त्यो खवाई
    सबै सबै फेरिएको रहेछ किनकी
    म तलाई खोज्न अदालत गए
    एक पटक हैन म कैयौं पटक गए
    तर तँ भेटिएनस
    न यता न उता समाउने हाँगो चोइटिएको
    टेक्ने धर्ती भासिएको दलदलमा न्याय खोज्दै हिंड्दै थिए
    तारे होटलको कोलाहलले मलाई टक्क रोक्यो
    आवाज चिने जस्तै लाग्यो, सुने जस्तै लाग्यो
    न्याय कता कता चिच्याइ रहेको सुने
    गोलो टेवलको विचको थालीमा
    बलिष्ठ पाखुराहरुको लुछालुछको पिडाले चित्कार गरिरहेको
    न्याय म जस्तै दुःखेको भेटे, म जस्तै सुकेको भेटें
    त्यहि गोलो टेबलको मिठो वासना र रसिलो स्वादमा भेटें
    अझ गहिराइमा खोज्दै जाँदा तलाई
    शिर झुकाएर हेरें
    विटाका विटा पैसाका चाङ्गहरुले घेरिएका
    कालाकोटका दुर्गन्धीत गोजी भित्र भेटें
    शिर उठाएर हेरें
    राष्ट्रिय निशानी अंकित खैरो टोपीको भित्री पल्लामा देखे
    त्यसैले त म भन्छु तँ धेरै धेरै फेरिएको रहेछस
    त्यो बेला मैले कितावमा पढेको कानुन भन्दा
    तँ निकै सुकिलो र मुकिलो भएको रहेछस
    सिंहदरवारको छत्रछायाँमा हुर्के बढेको तँ
    निकै जाली र कपटी भएको रहेछस
    धिक्कार छ तँलाई
    तँ सत्य ओकल्न नसक्ने लाटो भएछस
    चित्कार सुन्न नसक्ने बहिरो भएछस
    अन्याय देख्न नसक्ने अन्धो भएछस
    सबै सबै फेरिएको तँ कस्तो कानुन
    तँलाइ पढिदिन मसंग अनगिन्ती पैसा हुनु पर्ने
    तँलाइ व्याख्या गरिदिन झण्डावाल र डण्डावाल मान्छे भैदिनु पर्ने
    तँलाइ बुझिदिन मिठो स्वाद भर्नु पर्ने
    तँलाइ कुर्दा कुर्दै नन्द प्रसाद मरिनु पर्ने
    निर्मला पन्त छटपटिदै सड्नु पर्ने
    अन्तिम सास रहुन्जेल सडकमा लड्नु पर्ने
    तैले चाहेमा केस्रा केस्रा केलाएर
    गघा गाइ बन्छ, गाइ गधा बन्छ,
    सुन सियो बन्छ, सियो मुसल बन्छ
    म त्यहि देसको मान्छे हुँ
    जहाँ बहादुर नेपाली अनागरिक बन्छ,
    हजार सपना सजाएर सासको झिनो त्यान्द्रो
    नचुडुन्जेल पर्खेको छु तँलाई
    सामन्ती दलालहरुको मुठिबाट स्वतन्त्र भएर
    निर्जिव कानुनले यी र यस्तै कथा कहिले भन्छ ।। 

    images


    लोक राज डाँगी
    लेखकबाट थप