कास्की, २४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताउनु भएको छ । पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उहाँले स्वास्थ्य बिमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताउनु भयो ।
स्वास्थ्य बिमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उहाँले स्रोतको सुनिश्चितताका लागि आम्दानीका आधारमा बिमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताउनु भयो ।
स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बिमाको रकम रु पाँच लाख पुर्याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताउनु भयो । देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उहाँले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्याउनु आवश्यक भएको बताउनु भयो ।
आफू आम सर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभई त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उहाँले स्पष्ट पार्नुभयो । सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उहाँले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरहेको बताउनु भयो ।
पोखरामा वृद्धाश्रममा सञ्चालित जेरियाट्रिक स्वास्थ्य कक्षमा आवश्यक स्वास्थ्य उपकरण एवम् औषधीका लागि सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पोखरा वृद्धाश्रमका अध्यक्ष कुशुमकेशव पराजुलीले वृद्धाश्रम सञ्चालन भएयता निरन्तर रूपमा असहाय ज्येष्ठ नागरिकलाई सेवा प्रवाह गरिएको बताउनु भयो ।
ज्येष्ठ नागरिकहरूमा समस्याका रूपमा देखिने विस्मृतिजन्य रोगको उपचारका लागि जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । वृद्धाश्रमका उपाध्यक्ष एवम् जेष्ठ नागरिक महासङ्घका केन्द्रीय सदस्य केशव लम्सालले २०५३ सालमा स्याउलाले छाएको छाप्रोमा तीन जना ज्येष्ठ नागरिकलाई राखेर सुरु गरिएको वृद्धाश्रम हाल सुविधा सम्पन्न भवनमा सञ्चालन भएको जानकारी गराउनु भयो ।
उहाँका अनुसार वृद्धाश्रममा हाल ५३ जना असहाय ज्येष्ठ नागरिक आश्रय लिँदै आएका छन् । वृद्धाश्रमको व्यवस्थापनमा दुई जना स्वास्थ्यकर्मीका साथै नौ बिस्तारा, थेरापी मेसिन एवं औषधि उपलब्ध जेरियाट्रिक स्वास्थ्य कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । वृद्धाश्रममा १०६ वर्षीय नन्दु दाहाललगायत ज्येष्ठ नागरिक बस्दै आएका छन् ।
