• ट्रेण्डिङ्ग :
वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष थलराज पुरी)

वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष थलराज पुरी)


  • 4.0K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 6.2K Views

    वडाध्यक्षसँग पाँच प्रश्न (तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष थलराज पुरी)

    वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नं। १७ का वडाध्यक्ष थलराज पुरीसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष पुरीसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।  

    images

    १- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

    हामीले चुनावको समयमा जनताहरुसँग गरेका बाचा अनुसार काम गर्दै आएका छौं र केही काम सम्पन्न भईसकेका छन् भने केही काम हुन बाँकी नै छ । हामी निर्वाचित भएर आएको दुईवर्षमा जनताहरुलाई गरेको बाचाकै आधारमा काम भएको छ । तर बजेट अभावले सबै काम भनेको समयमा सम्पन्न गर्न समस्या भएको छ । तर पनि बाटो कटिंगको काम, कृषी क्षेत्र र लक्षित वर्षकोलागि सिप मूलक तालिम सञ्चालन गरिरहेका छौं । यो दुई वर्षको अवधिमा काम सन्तोस जनक नभए पनि ठिकै भएको छ । यो वर्ष वडामा डेढ करोड बजेट आएकाले जनताहरुमा देखिने खालको सबै टोलमा टिकाउ हुने खालको काम गर्नेछौं भन्ने लागेको छ ।

    मैले चुनावको समयमा आफुले गर्न नसक्ने कामको आस्वासन दिँदैन, यो मेरो स्वभाव हो । तर नबोल्ने काम चाहि गर्नु पर्छ भन्ने मेरो मान्यता छ । म जनप्रतिनिधि भएपछि चौवाँ खोलामा पुल बनाउने योजना थियो । अहिले ३ करोड १८ लाख लागतमा त्यहाँ पुल बनेको छ । पुलको छेउमा वाल लगाउने काम मात्रै बाँकी छ, यो वर्ष पुलको सबै काम सम्पन्न हुन्छ । त्यसैगरी जमेरास्थित संग्राम खोलामा बक्स कल्भट बनाउने योजना छ । म मेरो कार्यकालमा त्यो काम पनि पुरा गर्छु । त्यसैगरी शिक्षा तर्फ हामीले मावि विद्यालयमा प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएका छौं । दिपेन्द्र मावि मानपुरमा तुलसीपुर उपमहानगरपालिका, पर्यावरणको सहयोगमा भवन बनेको थियो । हामीले त्यही भवनमा रेलिंग बनाउने, झ्याल ढोकामा ग्रिल राख्ने, पल्ला राख्ने काम गरेका छौं । यो वर्ष पनि करिब ३ लाख बजेट शिक्षा क्षेत्रकोलागि छुट्याएका छौं । त्यसैगरी स्वास्थ्य तर्फ हाम्रो वडामा रहेको मानपुर हेल्थपोष्टकोलागि बजेट छुट्याएर मर्मत गरेका छौं । अहिले हामी पुर्ण स्वास्थ्य वडा घोषणा गर्नकोलागि अगाडी बढेका छौं । जनताहरुले बजेट माग गर्दा बाटो, कल्भट र पुलहरु आदि माग्नु हुन्छ । तर शिक्षा र स्वास्थ्यकोलागि बजेट मागेको पाइदैन् । तर हामीले आफ्नो तर्फबाट प्रत्येक वर्ष शिक्षा स्वास्थ्य क्षेत्र सुधारकोलागि बजेट छुट्याउँदै आएका छौं । वडामा रहेको हेल्थपोष्टको भवन जिर्ण भएकाले त्यसलाई अर्को ठाउँमा सार्नकोलागि जग्गा व्यवस्थापन गरि तारबार गरेका छौं । हेल्थपोष्टलाई तारबार गरेको स्थानमा सार्नका लागि तयारीमा छौं । 

    २- तुलसीपुर १७ मा रहेको मानपुर बजारलाई पुरानै लयमा फर्काउनकालागि वडा कार्यालयले केही पहल गरेको छ ?

    एक त हाम्रो वडा कार्यालय नै पायक पर्ने ठाउँमा छैन । त्यसकारण वडालाई पनि व्यवस्थापन गर्नु पर्ने अवस्था छ । अहिले केही बजेट नगरपालिका र केही बजेट समानिकरणबाट आएको छ । सबैले एकमतका साथ यो वडा कार्यालयलाई बनकट्टीमा सार्ने सर्वसम्मत तयारी भएको छ । त्यसका साथै यो मानपुर बजारलाई पहिलेको अवस्थामा ल्याउन त मुस्किल छ । तर त्यसलाई चलायमान गराउनु पर्छ भन्ने उद्देश्यका साथ लागेका छौं । अहिले मानपुरदेखि एअरपोर्टसम्मको बाटो स्तर उन्नतिकालागि दुई करोड बजेट परेको छ । त्यसका साथै मानपुरमै रहेको पुरानो शिवालय मन्दीरलाई मर्मत गर्नुपर्छ भनेर लागेका छौं । आफुले सक्ने काम वडाले गर्दै आएको अवस्था छ । मानपुरदेखि साइपुरहुँदै तुलसीपुरसम्म जाने बाटो मर्मतकालागि बजेट परेको छ । टेण्डर प्रक्रियामा गएर यो वर्ष तुलसीपुरसम्म नालासहित बाटो पीच हुन्छ । 

    ३- पहिलो कार्यकाल सिकाई मै बित्यो भनिन्छ, तपाईको यो दोस्रो कार्यकाल हो । तर पनि जनअपेक्षा अनुसार काम भएन भन्ने गुनासो सुनिन्छ नी ? 

    सबैको चाहाना अनुसार सबैको आवश्यकता पुरा गर्न सकिँदैन । सबै जनताहरुलाई समेटेर सबैको सबै काम पुरा गर्न सम्भव पनि छैन । जनताहरुको इच्छा आकाँक्षा धेरै हुन्छ, वडामा बजेट कम आउँछ, बजेटलाई परिचालित गर्दै गर्दा सबैको मागअनुसार काम नभएको पक्कै हो । हाम्रो पहिलो कार्यकाल भोगाइ, सिकाई मै बित्यो, केही कमिकमजोरी हामीबाट पनि भए होलान । तर हामीले गलत काम गरेनौं । सबैको चित्त बुझाउन सकिएन होला, तर बजेट बाँडफाडको क्रममा वडामा रहेका सबै टोललाई समेटेका छौं । सबै टोललाई बजेट बाँडफाड गर्दा कम त पर्छ नै तर आम जनता र आम टोलको गुनासो सम्बोधन हुन्छ जस्तो लाग्छ । लक्षित वर्गको कार्यक्रम, ह्युमपाइव, पोल र तारकोलागि बजेट छुट्टै राखेर अरु बजेट सबै टोलमा बाँडेका हुन्छौ । 

    ४- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?

    यो कुरा त मलाई सोध्नु भन्दा वडा सदस्यहरुलाई सोध्दा प्रष्ट हुने थियो । मैले त सबै वडासदस्यहरुलाई समेटेर लगेको छु भनौला, तर यो कुरा वडासदस्यहरुले भन्दा अझ राम्रो होला । हामी पाँचै जना जनप्रतिनिधिहरुमा कहिल्यै विमती भएको छैन् । हामी फरक राजनीतिक परिवेशबाट आएका छौं  । तर यो कुराको आभास मैले कहिले महसुस गरेको छैन् । र अन्य वडा सदस्यहरुलाई पनि यो आभास भएको छैन होला जस्तो लाग्छ । अहिलेसम्म हाम्रो वडामा वडाध्यक्ष र सदस्यहरुबीच तिक्तता भएको छैन् । हामी पाँचै जना जनप्रतिनिधि बसेर वडामा हुने हरेक काम मिलेर गर्दै आएको अवस्था छ । त्यस कारण यस्तो खालको गुनासो छैन जस्तो लाग्छ । 

    ५- वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के छन् ?

    हामीले हाम्रो वडालाई अन्य वडा भन्दा फरक, सफल, सक्षम र सम्बृद्ध बनाउनु पर्छ भनेर लागि रहेका छौं । तर वडालाई सबै कुरामा सम्बृद्ध बनाउनका भावी योजना त धेरै नै छन् । तर सबै कुरा राम्रो बनाउनकालागि बजेट नै चाहिन्छ । बजेट कम भएकै कारण हामीले वडामा योजना बनाएअनुसारको काम गर्न सकेका छैनौं । त्यसका बाबजुट पनि हामीहरु शिक्षा, स्वास्थ्य, बाटो लगायतको काम वडालाई हरेक कुरामा सम्बृद्ध बनाउनकालागि लागि रहेका छौं ।


    तेस्रो आँखा