• ट्रेण्डिङ्ग :
रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर


  • 2.5K
    SHARES
    • कार्तिक २५, २०८१ आइतबार
    • १ बर्ष अघि
    • 3.9K Views

    रित्तिँदै ‘तिब्बतीयन क्याम’, जीर्ण बन्दै घर

    बागलुङ, २५ कात्तिक । ढोरपाटन उपत्यका नजिकै एउटा सानो बस्ती छ । बस्तीमा पुग्दा केही चिटिक्क सजिएका, केही जीर्ण बनेका घर देखिन्छन् । काठैकाठ र माटोढुङ्गाले बनेका बार्दलीसहितका अधिकांश घरमा ताला लगाइएको छ ।

    images


    एक दशक अघिसम्म ती घरमा मानिसको बसोबास थियो । अहिले भने यहाँका अधिकांश घर सुनसान छन् । दशकौँदेखि बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्दै गएपछि बस्ती रित्तो बन्दै गएको हो । वि।सं २०१८ मा तिब्बतबाट आएका शरणार्थी पोखरा, काठमाडौँलगायत ठूला सहरमा जान थालेपछि बस्ती रित्तिन थालेको हो ।

    ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नं ९ को स्यालपाखेमा बस्दै आएका तिब्बतीयन शरणार्थीले ढोरपाटन छोड्न थालेपछि यहाँ बनेका घर जीर्ण बन्दै गएका स्थानीय बताउँछन् ।

    खेतीपाती र पशुपालन गरेर जीविकोपार्जन गर्दै आएका शरणार्थीले अवसर खोज्दै सहर पस्न थालेपछि बस्ती रित्तो बन्दै गएको ढोरपाटन होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले बताउनुभयो । पहिले स्यालपाखे र छेन्तुङ गाउँमा ठूलो सङ्ख्यामा शरणार्थी बस्ने गरेमा अहिले बसोबास गर्ने घट्दै गएका उहाँको भनाइ छ ।

    ‘ढोरपाटनमा पहिले धेरै शरणार्थीको बसोबास थियो, अहिले विस्तारै बस्ती खाली हुन थालेको छ । अवसर खोज्दै बजारतिर बसाइँसराइ गरि गएपछि अहिले गाउँमा बुढापाका मात्र छन्’, पुनले भन्नुभयो, ‘विकासका हिसाबले ढोरपाटन पछाडि रहेकाले पनि युवा अवसर खोज्न सहर तथा विदेश फस्न थालेका हुन् ।’

    नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले अहिले ढोरपाटनमा करिब ४० जनाको मात्र बसोबास रहेको जानकारी दिए । आफ्नो बाउ र बाजे करिब ५३ वर्ष अघि यहाँ आएका भन्दै अहिले क्याम्पमा बुढापाका मात्र रहेका उनले उल्लेख गर्नुभयो ।

    राज्यबाट बागलुङका शरणार्थीलाई आधारभूत सेवा उपलब्ध हुनुपर्नेमा भुदलिे जोड दिनुभयो । क्याम्पमा बस्दै आएका हुनेखानेहरू सहर झरेपछि अहिले सामान्य परिवारका शरणार्थी मात्रै यहाँ बस्ने गरेका उहाँले बताउनु भएको हो। ‘पहिला यहाँ धेरै शरणार्थी बस्ने गरेका बुबा र हजुरबुबाले भन्नुहुन्थ्यो । अहिले घटेर ४० जना भएका छौँ’, भुदीले भने, ‘मानिस बसाइँ सरी जान थालेपद्धि अधिकांश घर जीर्ण बन्दै गएका छन् ।’

    जिल्ला प्रशासन कार्यालय बागलुङका अनुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम हुँदै गएको छ । आर्थिक वर्ष २०७८र७९ मा ५६, आव २०७९र८० मा ५३ र गत आवमा ५० जनाले परिचयपत्र नवीकरण गरेका छन् ।


    तेस्रो आँखा