मेरी आमालाई अहिले घाउ लागेको छ
बम र बन्दुकले क्षत विक्षत छाती भित्र सन्तानको माया जागेको छ
मान्छे मान्छ कै रुप देखेर भागेको छ
आन्दोलन, युद्ध र परिवर्तन भन्ने शब्दले सिमा नाघेको छ
तर पनि अन्याय, अत्याचार र आतंकमा मोज र भोज गर्नेहरुलाई के थाहा
माटोले रगत होईन
निलो आकाशले एक जोडी सेता परेवा मागेको छ ॥
मेरी आमालाई अहिले घाउ लागेको छ
फोहोरी ति झिंगाहरुलाई औंसा पार्ने दाउ लागेको छ
कुपोषीत स्याल र फ्याउराहरुलाई त्यहि पनि खाउँ खाउँ लागेको
बेला कुबेला भुक्ने भुस्याहा कुकुरहरु कै महंगो भाउ लागेको छ
तर पनि अर्काको रगत र पसिनामा रजाँई र राजनिती गर्नेलाई के थाहा
नेपाली जनताले हत्या हिंसा होईन
शान्ती र स्वतन्त्रताको स्वच्छ, सास फेर्न चाहेको छ ॥
मेरी आमालाई अहिले घाउ लागेको छ
लासै लासको खात देख्दा भित्रैबाट जिउने आशा भागेको छ
मुर्छित न्याय नेतृत्वको विषाक्त अनुहार टुलुटुलु हेरेर थाकेको छ
हातमा झण्डा र डण्डा हुनेहरुसंग प्राणको भिख मागेको छ
तर पनि सृजना सारा ध्वस्त पारेर बिध्वंसको सृजना गर्नेलाई के थाहा
यो धर्ती र आकाशले चित्कार होइन
बुद्धको सन्देशसंगै मंगल धुन खोजेको छ ॥
लोक राज डाँगी
