वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष मोहनलाल पौडेलसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष पौडेलसँग तेस्रो आँखाकी सहसम्पादक अञ्जना चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
तुलसीपुर उपमहानगरपालिकाको विकट वडाको रुपमा रहेको १३ नं. वडालाई फुलवारी जस्तै बनाउनु पर्छ भनेर हामी चुनावी मैदानमा होमिएका थियौं । अहिले हामीले चुनावका समयमा जनताहरुसँग गरेका बाचाअनुसार काम गरिरहेका छौं । हामी चुनावमा जहाँ समस्या त्यहाँ समाधान भन्ने नाराका साथ अगाडि बढेका थियौं, त्यही अनुसार तुलसीपुरदेखि १३ नं. वडासम्म जोड्ने सडकहरुमा यहाँको समुदायलाई सहजरुपमा तुलसीपुर पुग्ने वातावरण गराउनु पर्छ भन्ने उदेश्यका साथ योजना लिएका थियौं, त्यो काम अहिले अन्तिम चरणमा पुगेको छ । हामीले सानो लेखदेखि पनालीबोटसम्म तुलसीपुरदेखि ३५ किलोमिटरको दुरीमा वडाको सिमाना पर्छ, त्यस्तै घोराही ५ सम्म जोड्ने सडकलाई व्यवस्थित तरिकाले अगाडि बढाउनुपर्छ भन्ने उदेश्यका साथ पश्चिमबाट कालोपत्रे गर्दै आएका छौं । त्यसैगरी पूर्वमा बराखुटीसम्म नाला व्यवस्थापन गरेका छौं । त्यही अनुसार सडकहरुमा ग्राभेलको काम भइरहेका छन् । हामीले चुनावका बेला वडाबासीलाई स्वास्थ्य शिक्षाको अभावमा बस्नु नपरोस भन्ने उदेश्यका साथ स्वास्थ्य क्षेत्रमा यहाँका नागरिकहरुलाई आवश्यक पर्ने ब्लड नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँग समन्वय गरेर यहाँका नागरिकहरुलाई निशुल्क रुपमा व्लडको व्यवस्थापन गरेका छौं । हाम्रो वडाका बिरामीहरुलाई चाहिने ब्लड बैंकले उपलब्ध गराउँने र त्यसको पैसा वडाले वार्षिक रुपमा ब्लड बैंकलाई दिँदै आएका छौं ।
अर्को कुरा हाम्रो वडा जंगलले घेरिएको र यहाँ धेरै सर्पहरु पाइने र यहाँका नागरिकलाई बर्सेनी सर्पले डसेर मृत्यु हुने भएकाले हामीले सर्पको टोकाईबाट यहाँका नागरिकहरुलाई अकालमै ज्यान गुमाउन नपरोस् भनेर वडाको तर्फबाट सर्पले टोकेमा बिरामीहरुलाई निशुल्क रुपमा एम्बुलेन्स र उपचारको व्यवस्था गरेका छौं । त्यसैगरी जस्ले जोखिमयुक्त काम गर्दै आउनु भएको छ, उहाँहरुका लागि म्यादी बिनाको कार्यक्रम ल्याएका छौं ।
२-वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन् भन्ने गुनासो पनि सुनिन्छ । तपाईको वडामा त्यस्तो छ कि छैन् ?
हाम्रो वडामा एउटै पार्टीबाट उम्मेदवार भएका जनप्रतिनिधिहरु निर्वाचित छौं । हाम्रो वडाबाट हुने हरेक योजनाहरु, वडामा हुने हरेक गतिविधिमा हामी सबै जनप्रतिनिधि र यहाँ हुनु भएका राजनीतिक दल, बुद्धिजिवीलगायत सम्पुर्णलाई राखेर बजेट व्यवस्थापन गर्दै आएका छौं । त्यसैले पनि मेरो वडामा त्यस्तो खालको गुनासोहरु छैन् ।
३-तपाईको वडामा सिंचाइको पनि समस्या छ । सिंचाइलाई सहज बनाउन वडाबाट के कस्तो पहल गर्नु भएको छ ? र मानव विकासका लागि कस्ता काम भएका छन् ?
हाम्रो वडाका नागरिकहरुले आकाशे पानीको भरमा खेति गर्नु पर्ने वाध्यता छ । हामी आएपछि नगरपालिका, प्रदेश सरकार, संघ सरकारसँग पहल गरेर यहाँका नागरिकहरुलाई सिंचाईको व्यवस्थापन गर्नका लागि अहिले ३,४ ठाउँमा हाइड्याम्पको निर्माण गरेका छौं । त्यही ड्यामबाट लिफ्टको माध्यमबाट खेतबारीमा सिंचाई गर्ने वातावरण मिलाएका छौं । कतिपय ठाउँहरुमा वडाको तर्फबाट बजेट व्यवस्थापन गरेर मोटर र पाइपको व्यवस्थापन गरेर बेमौसमी तरकारी खेति गर्ने किसानलाई दिएका छौं । तुलसीपुरमा रहेको बृहत सिंचाई आयोजनाको सहयोगमा गत वर्ष वडाका विभिन्न स्थानमा चारवटा ट्युवेल खन्न सफल भएका छौं । जसले गर्दा किसानलाई सिंचाई गर्न र बेमौसमी तरकारी खेति गर्न केही सहज भएको छ । उहाँहरुले अहिले बेमौसमी तरकारी खेति गरेर आयआर्जन गर्दै आउनु भएको छ ।
त्यसका साथै हामी आएसँगै वडामा भौतिक विकास सँगसंगै मानव विकास पनि हुनु पर्छ, मानव विकास नहुँदासम्म अन्य विकास सम्भव छैन् भन्ने अवधारणाका साथ यहाँका हरेक नागरिकहरु स्वस्थ हुनुपर्छ, यहाँका मान्छेहरु लागू औषध दुर्व्यसनीबाट मुक्त हुनुपर्छ भनेर प्रत्येक वर्ष बजेटको व्यवस्थापन गर्दै आएका छौं । सबैभन्दा पहिले वडामा रहेको अम्बिकेश्वरी माध्यमिक विद्यालय र जनज्योति माध्यमिक विद्यालय जहाँ कलिला बालबालिकाहरु लागूऔषध दुर्व्यसनीमा पर्ने भएकाले हामीले यी विद्यालयबाट सुरुवात गर्नुपर्छ भन्ने उदेश्यका साथ कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी र उहाँहरुका अभिभावकहरुलाईसँगै राखेर लागू औषध दुर्व्यसनी सम्बन्धि जनचेतना मुलक कार्यक्रम गरेका थियौं । त्यसैगरी वडाका महिला दिदीबहिनीहरुलाई आयआर्जनमा जोड्नका निमित्त कटाई, सिलाईको सीप सिकाउनुका साथै दमारगाउँ दुना टपरी उद्योग सञ्चालनमा ल्याएका छौं । त्यहाँ महिला दिदीबहिनीहरुले काम गरेर आर्यआर्जन गर्दै आउनु भएको छ ।
४-वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजना के छन् ?
दाङमा सबैभन्दा पहिले मानव बस्ती बसेकै हाम्रै वडा तुइदाङमा हो । यहाँ पहिलेदेखि नै मानव बस्ती बसेको ठाउँ भएकाले हामीले १३ नं. वडालाई विकास निर्माणका सवालमा होस् या पर्यटकीय सवालमा होस् यो वडालाई अगाडि बढाउनु पर्छ भन्ने उदेश्यका साथ यहाँ अवस्थित प्राचीनकालमा दुलही लिन जाँदा सयौं जन्तीहरु ओलप्पियको ठाउँ छ । जसलाई जन्ती ढुंगा भनिन्छ । जन्ती ढुंगाको समग्र विकासका निमित्त वडा, संघ र प्रदेशबाट बजेटको ब्यवस्थापन गरेर जन्ती ढुंगा संरक्षण गर्ने भनेर हामीले काम गर्दै आएका छौं । जन्ती ढुंगालाई साँच्चिकै पर्यटकीय स्थलको रुपमा विकास गर्नुपर्छ भन्ने मुख्य उदेश्यका साथ काम गरिरहेका छौं ।
५-जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले वडाबासीको जनगुनासो कत्तिको सुन्नुहुन्छ ?
जनता जहाँ समस्यामा पर्नु हुन्छ हामी त्यहाँ पुग्ने गरेका छौं । हाम्रो वडाबासी कहि कतै समस्यामा हुनुहुन्छ भन्ने थाहा हुनासाथ हामी कुनै न कुनै जनप्रतिनिधि त्यहाँ पुगेका हुन्छौं, र उहाँहरुको समस्या सम्बोधन हुनेगरि तत्काल कामको सुरुआत गर्ने गरेका छौं । विकास निर्माणतर्फ पनि वडाको तर्फबाट गर्न सक्ने पहल गर्दै आएका छौं । सामान्य मानिसका ब्यक्तिगत स्वार्थका कुरा त पुरा गर्न सकिदैन् तर सामुहिक रुपमा जनताले जिताएका जनप्रतिनिधिका हिसावले पनि जनताकै काम गर्नुपर्छ भन्ने उदेश्यका साथ हामी लागि परेका छौं । हाम्रो कार्यकालमा जनताहरुले हामीले जिताएका जनप्रतिनिधिले राम्रो काम गर्नुभयो भन्ने बनाउने खालको कामहरु गर्दै आएका छौं ।
