वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष सोभिलाल बस्नेतसँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष बस्नेतसँग तेस्रो आँखाकी संवाददाता रुपा थापाले गरेको कुराकानीको सम्पादित अंंश ।
१-जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
हामीले चुनावको समयमा जनतालाई गरेको बाचाहरु अनुसार नै काम गरेका छौं । हामीले निर्वाचित भएर आएसँगै अहिलेसम्म जनताहरुलाई बाचा गरेका ६५ प्रतिशत काम गरिसकेका छौ । अब ३५ प्रतिशत काम गर्न बाँकी छ । हामीले खानेपानी, सडक विस्तार, विद्युत पुर्वाधार विकासका कामहरू धेरै टोल बस्तिहरुमा पुर्याइसकेका छौं । कुनै कुनै टोल बस्तिमा पुर्याउन बाँकी छ, हाम्रो कार्यकालमा वडाका सबै स्थानमा खानेपानी, सडक, विद्युत लगायतका काम पुरा गर्ने अभियानमा छौं । शिक्षामा पनि हामीले सोचे अनुसारको विकास भएको छ । हाम्रो वडाका टोलहरुमा ६ वटा बिद्यालय छन, तीमध्ये ५ वटा बिद्यालयका पक्की भवन बनी सकेका छन भने एउटा विद्यालयमा पक्की भवन पक्की बनाउँन बाँकी छ । आउँदो वर्षमा उक्त विद्यालयमा पक्की भवन बनाउने योजना छ । सिंचाईतर्फ पनि जलवायु परिवर्तनका कार्यक्रम मध्ये ५० लाखभन्दा तलका ३ वटा योजनाहरुको काम सम्पन्न गरिसकेका छौं । एउटा (सुचुवा) संस्थासँग आवद्ध भएर हामीले “एक घर एक धारा“ भन्ने अभियानसँगै प्रत्येक टोलमा धारा पुर्याएका छौ । अब बाँकी रहेको टोलमा अर्को बर्षसम्म खानेपानीको धारा पुर्याउने योजनासहित अगाडि बढेका छौं ।
२-वडाको समग्र गतिविधि सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराईदैन भन्ने गुनासो सुनिन्छ । तपाईंको वडामा त्यस्तो छ कि छैन ?
हाम्रो वडामा यस्तो गुनासो छैन । वडाको कुनै पनि काम गर्दा हामी सबै जनप्रतिनिधिहरुको सल्लाहा र निर्णय बमोजिम अगाडि बढ्छौं । विकास निर्माणका कामहरुमा टोल टोलमा वडाका जनप्रतिनिधिहरु मिलेर अनुगमनको काम गर्दै आएका छौं । सबै सदस्यहरुले टोलटोलबाट ल्याएका विकास निर्माण सम्बन्धि योजनाहरुलाई हेरेर बजेट विनियोजन गर्दै आएका छौं । हाम्रो वडामा वडा सदस्यसहितको बैठक एक महिनामा २ पटक बस्ने गरेका छौैं र आवश्यकता परेको खण्डमा ४ पटकसम्म बैठक बस्ने गरेका छौं ।
३-वडाको समग्र समृद्धिका लागि तपाईका भावि योजनाहरु के के छन ?
हाम्रो वडाको समृद्धिका लागि हामीले अहिलेको शिक्षालाई परिवर्तन गरि गुणस्तरीय शिक्षा दिने अभियानमा छौं । वडामा रहेका विकट टोलहरु जहाँ खानेपानी, विद्युत, पुगेको छैनन्, त्यस्तो ठाउँहरुमा “एक घर एक धारा“ योजना सम्पन्न गरेर खानेपानी र विद्युत पुर्याउने रणनीति छ । शिक्षा क्षेत्रमा हामीले विद्यालय गुणस्तरीय शिक्षा दिने कार्यमा पनि लागि परेका छौं । साथै स्वास्थ्य क्षेत्रमा पनि नागरिकहरुलाई गाउँगाउँमा गएर स्वास्थ्य सेवा विस्तार गर्ने अभियानमा छौं ।
४-जनताको प्रतिनिधि र वडाध्यक्षको हैसियतले वडावासीहरुको जनगुनासो कत्तिको सुन्नुहुन्छ ?
राजनीतिक बिहावले सबैले राम्रो गरेका छन् त भन्दैनन् होला । तर जनताहरुबाट अहिलेसम्म त्यस्तो गुनासो प्रत्यक्ष रुपमा आएको छैन । अन्य राजनीतिक दलका जनताहरुले टोलटोलमा योजना मेरो पक्षमा परेन अरुको पक्षमा पर्यो भन्ने जस्ता गुनासो आएका छन । हाम्रो वडा रुकुम जिल्लाको चौरजहारी नगरपालिकासँग सिमा जोडिएको हुनाले अन्य वडा भन्दा हाम्रो वडामा विकास भएको छ । तर जनताहरुबाट ठुला गुनासोहरु आएका छैनन्, उहाँहरुले गर्ने ससाना गुनासोहरु हामीले सुन्ने र गुनासो सम्बोधन हुने खालको काम गर्दै आएका छौं ।
५-सन २०३० सम्म दिगो विकासका लक्ष्यहरु प्राप्त गरि सक्नुपर्ने समय सीमा छ । त्यसको निमित्त तपाईंहरुको तयारी कस्तो छ ?
सन २०३० सम्म सम्पूर्ण योजनाहरु कार्यान्वयन गर्ने अभियानमा छौं । गरिबीको रेखामुनि रहेका बिपन्न वर्गहरुलाई लक्षित गर्दै गरिब उन्मुख वडा बनाउने हाम्रो लक्ष्य हो । यो अभियानमा पनि हामी लागि परेको छौं । हाम्रो वडामा ११ सय घरधुरी छन । उक्त घर धुरिहरुलाई खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य र गरिबी न्युनिकरण जस्ता क्षेत्रमा सहभागी गराउने अभियानमा छौ । अझ बढि लक्षित शिक्षा र खानेपानीलाई दिएका छौं ।
