नवलपरासी, ९ मंसिर । स्थानीय प्रशासनले नवलपरासी पूर्वमा ‘विद्यार्थीसँग प्रशासन’ अभियान सञ्चालन गर्न थालेको छ । प्रशासनिक संयन्त्रप्रति नयाँ पुस्ताको विश्वास बढाउन र सरकारी कार्यालयको सेवाबारे जानकारी गराउने उद्देश्यले अभियान सुरु गरिएको नवलपरासी पूर्वका प्रमुख जिल्ल अधिकारि अरुण पोखरेलले बताउनुभयो।
जिल्ला प्रहरी प्रमुख कावासोतीस्थित मध्यविन्दु क्याम्पसका विद्यार्थीहरूसँग छलफल र प्रस्तुतीकरण गरेर अभियान सुरु गरिएको छ । शुक्रवार मध्यबिन्दु क्याम्पसका विद्यार्थीहरूसँग प्रमुख जिल्ला अधिकारी पोखरेल, नवलपरासी पूर्वका एसपी यादव ढकाल, ट्राफिक प्रहरीका इन्स्पेक्टर र राजस्व कार्यालयका प्रमुखले सरकारले प्रदान गर्ने सेवाबारे छलफल र अन्तरक्रिया गरेर अभियान सुरु गर्नुभएको हो ।
देशप्रतिको सम्मान बढाउन स्कुल र कलेजहरूमा नै गएर निरन्तर छलफल गरिने जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको योजना छ । आगामी ३ महिनामा सबै पालिकाका १२ वटा शिक्षण संस्थामा पुग्ने योजना रहेको प्रजिअ पोखरेलले जानकारी दिनुभयो ।
