जिन्दगीमा न खुशी जोड्न सकियो
न दुःख घटाउन सकियो
चार कोठाको मुटु भित्र
न अट्न सकियो
न अटाउन सकियो
दोबाटो मै छोडि जाने बैगुनीलाई
न दिल खोलेर पठाउन सकियो
खै के खै के, सम्झनाको तरेलीमा व्यथै केवल मन डढाउन सिकियो ॥
प्रेमको त्यो बलिबेदीमा
न तन चढाउन सकियो
न मन बढाउन सकियो
लत्रेको त्यो प्रेम कहानी
दुनियाँका अगाडि न शिर ठढाउन सकियो
तिता मिठा वितेका पल
न काँडा भै मुटुबाट झिकेर हटाउन सकियो
बुझ्दै जाँदा नियत उनको
विस्तारै खुशीहरु केवल मन भित्रै सडाउन सिकियो ॥
बाटो अन्तै मोडे पछि
न बादल फटाउन सकियो
न झरि खटाउन सकियो
हार या जितको उस्को त्यो खेलमा.
न जितेर लडाउन सकियो
झल्को उसकै
याद उसकै
न विष पिएर निदाउन सकियो
न नशा पिएर बर्बराउन सकियो
चिरा चिरा चिरिएको छाती
घाइते मुटु लिएर केबल जीवन भर लर्खराउन सिकियो ॥
लोक राज डाँगी
