तिमी यति सुन्दर देखिन्छौ, जति सुन्दर छन् गगन
जति सुन्दर प्रकृति, ती भन्दा पनि सुन्दर तारागण
तनका गहना भन्दा सुन्दर, मनका सुन्दरलाई के गनौं
स्वच्छ जसको जीवन छ, उनको सुन्दरतालाई के भनौं
तिमी यति सुन्दर देखिन्छौ, जति सुन्दर ऋषि चिन्तन
जति सुन्दर भागवत गीता, त्यति नै सुन्दर छ रामायण
सुन्दरता त्यो जसले गर्छ उद्दार, सुन्दर त्यो सबैलाई गरोस् प्यार
सांसारिक सुन्दरताका लागि, जितेर पनि स्विकार्छ हार
तिमी जति सुन्दर देखिन्छौ, त्यति नै सुन्दर तिम्रो आकर्षण
जति नै सुन्दर श्रीकृष्ण, त्यति नै सुन्दर छ नन्दन वन
कसैले देख्छन् यी आँखाले, संसार सारा सुन्दर
बोध सबैलाई हुँदैन, भित्री दृष्टि नखुल्दा अन्धकार
तिमी सुन्दर जति देखिन्छौ,त्यति नै सुन्दर मातृपितृ चरण
जति सुन्दर देवालय छन् ,जहाँ हुन्छ पुजा सधैं हवन
तिमी जति सुन्दर देखिन्छौ, त्यति नै सुन्दर तिम्रो अनुसाशन
सद्भाव प्रेम अरुप्रति जति सुन्दर, त्यति नै सुन्दर आफ्नोपन
हृदयमा पिडा नहोस् तिम्रो, भाव सधैं रहने छ सुन्दर
हाम्रो दृष्टि सधैं सकारात्मक रहोस् सारा सबै सुन्दर
श्रीराम दहित
