काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने हुनुभएको छ । दमक बिजनेस भवनको उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ झापा जान लाग्नुभएको हो । झापाको दमकमा बहुपयोगी १८ तले भवन निर्माण भएको छ ।
दमक नगरपालिका(३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले आज उद्घाटन गर्ने कार्यक्रम छ । ‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।
सरकारले विकास समितिमार्फत भवन सञ्चालनको तयारी गरेको सहरी विकास तथा भवन निर्माण आयोजनाका इन्जिनियर भूपेन्द्र यादवले बताउनु भएको हो । व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले पाँच वर्षअघि नै भवन निर्माणको शिलान्यास गर्नुभएको थियो ।
यसैबीच, प्रधानमन्त्री ओलीले मेचीनगर(४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको आज नै उद्घाटन गर्ने कार्यक्रम छ । उहाँका साथ प्रथम महिला राधिका शाक्य पनि भवन उद्घाटन कार्यक्रममा सहभागी हुने नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो । प्रधानमन्त्री जाने भएपछि झापाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
