तुलसीपुर २३ मंसिर । तुलसीपुरमा मोटरसाइकल अनियन्त्रत भई पल्टिदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खमारी निवासी १६ वर्षीय दिपेन्द्र वली रहनुभएको छ । उहाँको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ३ः१० बजे मृत्यु भएको हो ।
आइतबार दिउँसो सवा २ बजेको समयमा खाद्रे बनहरीबाट तुलसीपुरतर्फ आउँदै गरेको लुप्र ०२-००१ प १७१७ नं. को मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । उक्त मोटरसाइकलमा तीन जना सवार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो । मोटरसाइकल सडकदेखि ५ मिटर तल खसेको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर ४ कल्लेखोला निवासी १७ वर्षीय गणेश खड्का र पछाडी सवार घोरनेटी निवासी १८ वर्षीय सन्दीप वली घाइते हुनुभएको छ । सन्दीपको अवस्था गम्भीर छ । घाइते वलीको राप्ती लाईफ केयर हस्पिटल मोतीपुरमा उपचार भईरहेको प्रहरी निरीक्षक थापाले तेस्रो आँखालाई जानकारी दिनुभयो ।
