काठमाडौं, २८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनद्वारा समानुपातिक र समावेशी प्रणालीलाई थप सुरक्षित र व्यवस्थित बनाउन लागिएको बताउनु भएको छ ।
आदिवासी जनजाति आयोगद्वारा आज आयोजित ‘आदिवासी जनजाति ज्ञान सम्मेलन’ मा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संविधान संशोधनको विषय उठ्दा धेरै सीमान्तकृत समुदायको मनमा समावेशी र समानुपातिकमा आँच आउँछ कि भन्ने डर उब्जिएको हुँदा यस विषयमा प्रष्ट हुनजरूरी रहेको स्पष्ट पार्नुभयो ।
‘संविधान संशोधन हुनु भनेको समावेशी र समानुपातिक प्रणाली हटिहाल्छ भन्ने होइन’, उहाँले भन्नुभयो , ‘यसलाई अझै व्यवस्थित र विधिवत् बनाउँदै जाने हो, ढुक्क हुनुहोस्, समावेशी प्रणाली रहिरहन्छ ।’
